स्थानीय तहलाई बलियो बनाउन निजी क्षेत्रको सहयोग आवश्यक ः नगर प्रमुख थापा
जेठ ३०, २०८१, बुधबार | दिउँसो १२:३१ बजे | 75
भक्तपुर ः जिल्लास्थित सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहलाई बलियो बनाउन निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) की अध्यक्ष रोशनीमैयाँ धौबन्जा नेतृत्वको पदाधिकारी एवं कार्यसमिति टोलीसँग बुधबार भएको भेटको क्रममा प्रमुख थापाले नगरपालिकाको आयस्रोत वृद्धिको लागि नगरभित्र बाँकी रहेका व्यवसाय दर्ता गराउन र व्यवसायीहरुबाट कर संकलनको लागि सहयोग गर्न आग्रह गरे । उनले उद्योगी व्यवसायीहरुबाट ढाड सेक्ने गरी कर संकलन गर्ने नगरपालिकाको उद्देश्य नरहेको भन्दै उद्योगी व्यवायीहरुलाई मर्का पर्ने गरी करको दर बढी भएमा त्यसलाई संशोधन गर्न सकिने बताए ।
नगर उपप्रमुख सरिता भट्टराईले विभिन्न क्षेत्रका उद्योगी, व्यवसायीहरुसँग बसेर वर्तमान अवस्थामा व्यवसायीहरुको समस्याको बारेमा छलफल भइरहेको र उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्या समाधानका लागि नगरपालिकाको तर्फबाट आवश्यक पहल गर्ने बताइन् । उनले नगरपालिका भित्र रहेका उद्योग, व्यवसाय नियम र मापदण्ड अनुसार सञ्चालन गराउनको भक्तपुर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीहरुलाई सुसूचित गराई सहयोग गर्न अनुरोध गरिन् ।
भेटको क्रममा बीसीसीआईका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले नगरपालिकाको व्यवसायिक कृषिको विकास तथा प्रवद्र्धन, निर्यातमुखी हस्तकलाको विकास तथा प्रवद्र्धन एवं दिगो पर्यटन विकासका लागि नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयमा सल्लाह र सुझावहरु दिएका थिए । उनीहरुले करको दर नभई दायरा वृद्धि गरिनुपर्ने, करको दरमा हेरफेर गर्न जिल्लाका उद्योगी व्यवसायीहरुसँग छलफल गरिनुपर्ने, हस्तकला ग्राम, हस्तकला उत्पादन केन्द्रको स्थापना गर्न सहयोग गरिनुपर्ने, बजारमुखी र हाइड्रोपोनिक लगायत आधुनिक प्रविधिबाट कृषि उत्पादन गर्न प्रोत्साहित हुने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने, पर्यटकहरुको बसाई लम्ब्याउन सुविधा सम्पन्न होटलहरु सञ्चालनको लागि प्रोत्साहित गरिनुपर्ने लगायतका सुझाव दिएका थिए ।
अध्यक्ष धौबन्जाले नगरपालिकाको कृषि, हस्तकला र पर्यटन क्षेत्रमा विकासका लागि आगामी दिनमा नगरपालिका र संघबीच सहकार्य गरी गर्न सकिन कार्यक्रमहरुको प्रस्तावना प्रमुख थापालाई पेश गरेकी थिइन् । प्रस्तावना बुझ्दै प्रमुख थापाले संघले दिएका सल्लाह सुझावलाई मनन गर्दै संघले पेश गरेको प्रस्तावसहितको कार्यक्रम सञ्चालनको लागि नगरपालिकाले सहयोग गर्ने बताए ।
फाेटाेमा हेर्नुहाेस्...