किन लुकाइन्छ समाचार ?
जेठ २८, २०८१, सोमबार | विहान ०२:२६ बजे | 0
ई. कृष्णभक्त दुवाल
सन् २०१७ मा नेपालबाट हवाइजहाजबाट चीनको चेन्दू जाँंदाको यात्रा मेरो मानसपटलमा फेरि एकचोटी छचल्किएको छ । कारण हो, नेपालकै चर्चित बरिष्ठ पत्रकार नारायण वाग्लेसँंगको भेटघाट र वार्तालाप । त्यो बेला मैले उनीसँंग नेपालको पत्रकारिता र नैतिकताको विषयमा वार्तालाप गरेको थिएँं । यही प्रश्न हिजोआज मिडियामा आएको देखेर मलाई त्यो वार्तालापले फेरि एकचोटी सम्झना दिलाएको हो ।
मैले खासमा पत्रकार नारायण वाग्लेलाई चिनेको थिएन । पत्रकारितामा विशेष रुचि राख्ने नाताले म उनको नामसँंग भने पहिलादेखि परिचित नै थिएँं । एउटै हवाइजहाजमा मेरो छेउमा सिट परेका थिए उनी त्यो बेला । कुरैकुरामा हाम्रो परिचय भयो । अनि बल्ल मैले नाम चिनेको तर मान्छे नचिनेको उनलाई नजिकबाट चिन्ने अवसर प्राप्त भयो । हाम्रो परिचय लेनदेन भयो ।
कान्तिपुर, नागरिक हुँंदै उनी त्यो बेला सेतोपाटी अनलाइनको सम्पादक थिए । मैले नाम चिनेको पत्रकार भएरै, वरिष्ठ पत्रकार भएकैले मेरो मानसपटलमा रहेको के नेपालको पत्रकारिता नैतिकता अनुसार चलेको छ ? भनेर प्रश्न गरेको थिएँं । उतरमा उनी हाँंसे मात्रै । उनले त्यो बेलाको हाम्रो वार्तालापलाई लिएर सेतोपाटीमै लामो संस्मरण लेखेका थिए । तर आज म त्यतातिर विषयान्तर हुन चाहन्न ।
समाचारको हत्या
पेशाले म इन्जिनियर । अझ पेशाले प्राध्यापन पनि गर्छु इन्जिनियरिङमै । हाल भने भवन निर्माण सामग्री उत्पादन गर्ने व्यवसायी पनि हुँं म एकजना । पुल्चोक इन्जिनियरिङ कलेजमा पढेका र नेपाल इन्जिनियरिङ कलेज दुवाकोट भक्तपुरमा दस वर्ष भन्दा वढी समय पढाएको मेरो धेरै साथीहरुमध्ये एकजना अनन्य साथी जो झण्डै साढे दुई दसकदेखि पत्रकारितामा अध्ययन, अध्यापन र अभ्यासमा छन्, पनि छन् । उनी भन्छन्, पत्रकारितामा समाचारको हत्या (न्युज किल्ड) भन्ने टर्मियोलोजी (शव्दकोष) पढ्नुपर्छ, पढाउनुपर्छ र अभ्यासमा पनि देखेको छु ।
उनका अनुसार पत्रकारितामा समाचारको हत्या भइरहन्छ । एकजना समाचारदाताले ल्याएको समाचार भोलिका अंकमा छापिन ठिक पर्ने तर पछि मोलमोलाइ मिलेपछि भोलि उच्च प्राथमिकताका साथ छापिने भनेर राखेको समाचार प्रकाशित हुँंदैन र त्यो अन्तत छापिंदैन नै र समाचारको हत्या हुन्छ ।
समाचार लेखेर नाम ः लुकाएर दाम ?
म पूर्णकालिन पत्रकार नभए पनि पत्रकारितामा विशेष रुचि राख्ने व्यक्ति भएकाले मेरा धेरै पत्रकार साथीहरु छन् । उनीहरुसँंग पनि म नेपाली पत्रकारिता र नैतिकताबारे छलफल गर्न अधिक रुचाउँंछु । यही कारण साथीहरुसँंग औपचारिक अनौपचारिक रुपमा यस विषयमा म बारम्वार कुरा पनि गरिरहन्छु अनि साथीहरु ख्यालख्यालैमा ठटैठटामा भन्छन्, पत्रकारितामा लागेर पैसा धेरै कमाइदैंन । तर त्यस्तो पत्रकारले कमाउँंछ जसले समाचारलाई लुकाउँंछन् । उनीहरुको सारांश हुन्थ्यो, खासमा पत्रकारले समाचार लेखेर नाम कमाउँंछ, नलेखेर दाम अर्थात् पैसा ।
इतिहास हेरौ न
भारतमा छापिएको पहिलो समाचारपत्र हिक्की गजेट पनि अगस्टक हिक्की भन्ने एक जना अंग्रेज नागरिकले छापेर प्रकाशित गरेका थिए । नेपालमा पनि बेलायत भ्रमणमा गएका जंगबहादुरले गिद्धे प्रेस ल्याएपछि छाप्ने कार्यको प्रारम्भ भएको थियो । पछि विसं १९५८ मा गोरखापत्र दैनिकको प्रकाशन थालनी भयो । आमजनतालाई सही सूचना दिने उद्देश्यले भन्दा पनि राणाहरुको लहड, शौख तथा अंग्रेजहरुको जीवनशैलीलाई देखेर पत्रिकाको सुरूवात गरिएको थियो । त्यसअघि नै मोतीराम भट्टको सक्रियतामा केही साहित्यिक पत्रिकाहरु भने नेपालबाट प्रकाशित भएका थिए, जसमा ‘सुधासागर’ मुख्य थियो ।
धेरै पछि विसं २०२३ मा मात्र नेपाली पत्रकारिता कस्तो हुनुपर्छ भनेर पत्रकार आचारसंहिताको विकास भयो । नेपाल पत्रकार संघको प्रथम सम्मेलनले स्वच्छ र स्वस्थ जनमतको निर्माणका लागि भन्दै २२ सूत्रीय नेपाली पत्रकारिताको आचारसंहिता जारी गरेको थियो । त्यसपछि आजसम्म विभिन्न चरणमा प्रेस काउन्सिल र पत्रकार महासंघले परिमार्जन गरेर विभिन्न समयमा आचारसंहिता जारी गरिरहेका छन् ।
हिजोदेखि आजसम्मको नेपाली पत्रकार आचारसंहिताको इतिहास हेर्दा सत्यता, निष्पक्षता, सामाजिक जिम्मेवारीलगायतका विषयहरु नै मुख्य रुपमा उठाइएको छ । पछिल्लो समय अनलाइनको प्रयोग बढ्दै जाँदा पत्रकारिता आचारसंहिताले पछिल्ला मिडियालाई पनि सम्बोधन गर्नुपर्ने भएको छ । सूचनाको चोरी र गलत प्रयोग पछिल्लो समयमा निकै बढेको छ । विशेषतः कतिपय स्थानीय मिडियाहरु राष्ट्रिय समाचार पूरै अनलाइनको कपी गरेर प्रसारित गर्दछन् । कतिपय पत्रकारहरु भने फेसबुक तथा ट्वीटरमा अनुचित तथा असान्दर्भिक फोटाहरु राख्ने गर्दछन् । समाचार मात्र लेखेर आचारसंहिताको पालना हुन्छ भन्ने छैन । पत्रकारको व्यवहार, बानी तथा व्यक्तिगत मान्यताले पनि त्यसलाई निर्देशित गर्दछ । नेपालमा पत्रकारका व्यक्तिगत मान्यता, स्वार्थ तथा बानीव्यवहारले गर्दा नै समय–समयमा पत्रकारिताको नैतिक धरातल संकटमा पर्ने गर्दछ । महात्मा गान्धीले भनेजस्तै पत्रकारिताको मुख्य धर्म भनेको समाजसेवा नै हो र हुनुपर्छ पनि ।
सन्दर्भ आफनै
सन् २०१४ तिर म नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा प्राध्यापनरत थिएँं । त्यसबेला सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यका साथ सञ्चालित यो कलेजलाई तत्कालिन कलेज सञ्चालक समितिका अध्यक्ष लम्वोदर न्यौपाने ( जो हाल यही मुद्धामा कारागारमा छन्) ले निजी बनाउने षडयन्त्र गरेका थिए । कलेजलाई जोगाउन हामी त्यो बेला फ्रन्टलाइनमै थियौ । कलेजलाई बचाउन भनी द राइजिग नेपाल अंग्रेजी राष्टिय दैनिकका एकजना पत्रकार साथीको सहायताले म र विरोध रिजाल ( जो त्यो बेला नेपाल इन्जिनियरिग कलेजमै पढाउने तर हाल एभरेस्ट इन्जिनियरिग कलेज काठमाडौंका प्रिन्सिपल) दुईजना एउटा नाम चलेकै राष्टिय दैनिकका पत्रकारलाई सहयोग माग्न पुगेका थियौं । त्यस क्रममा हाम्रा सवै कुरा बुझेर उनले समाचार लेखिदिए पनि । तर विडम्वना समाचारले उल्टो रुप लियो अर्थात् हाम्रो विरोधमा विपक्षीको पक्षमा समाचार छापियो भोलिपल्ट ।
कलेजलाई बचाउन समाचार लेखिदिएका साथीले राति नै हामीलाई माफी माग्दै फोन गरेर भने, यहाँंहरुको पक्षमा मैले समाचार त लेखें तर समाचार कक्षबाट यसको ठिक उल्टोमा समाचार छाप्ने निर्णयका साथ समाचार छापिंदैछ । नभन्दै भोलिपल्ट उल्टो हामीलाई नै दोषि देखाएर कलेजलाई निजी बनाउन चाहनेको पक्षमा समाचार प्रकाशित भयो । हामी अच्चमित परयौं ।
अन्तमा
प्रविधिको विकाससँगै व्यक्तिगत रूपमा सिर्जनशीलता र प्रतिभाको विकास गर्ने अवसरबाट मानव समुदाय बिस्तारै पलायन हुन थालेको छ । यसले सञ्चारमाध्यमको पेसागत मर्यादामा क्षति पु–याउँछ । प्रयोगकर्ताहरूको व्यक्तिगत चाहना, पूर्वाग्रह, संलग्नता, विश्वास, आस्थानुसारका सामग्रीहरू उत्पादन हुने गर्छ । फेसबुकले भ्रामक र गलत सामग्रीहरू बेला बखत पस्किने गरेको देखिएको छ । यस प्रकारका गलत कार्यका लागि यी प्रविधिहरू मैत्रीपूर्ण देखिन्छन् । विकसित मुलुकहरूमा यस प्रकारका समस्याहरू देखिएका छन् । गलत, निहित स्वार्थका लागि बनावटी सूचना र समाचारहरू फेसबुकमार्फत प्रसारण हुने र यसले समग्र सञ्चारमाध्यममाथि नै विश्वासमा ह्रास आउने अवस्था बन्छ । विभिन्न प्रकारका प्लेटफर्मबाट जस्तै सामाजिक सञ्चारमाध्यम, मोबाइल र वेबसाइटमार्फत सूचना र समाचार सम्प्रेषित हुने गर्छ । समाचारमा अत्यधिक पहुँच कायम गर्न सफल हुन्छ । विश्वसनीयतामा कमी आउँछ ।
प्रयोगकर्ताहरूको संलग्नताको स्तर र उनीहरूले प्रदान गरेको पृष्ठपोषणलाई आधार बनाएर जब सूचना सम्प्रेषण हुन थाल्छ, त्यही बिन्दुबाट विश्वसनीयतामा कमी आउन थाल्छ । गलत सूचनाहरूलाई कसरी नियन्त्रण गर्ने, सम्पादकीय विश्लेषण र पूर्वाग्रह प्रेरित सामग्रीहरूको परीक्षण के कस्ता तरिकाबाट हुनसक्ने हो ? यसमा मानवीय संलग्नता कसरी गराउन सकिन्छ ? भन्ने सन्दर्भलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । यसका लागि सम्बन्धित क्षेत्रका विज्ञहरूको योगदान अत्यावश्यक छ । अध्ययन अनुसन्धान र विश्लेषणपश्चात् उपयुक्त ढंगले मार्गदर्शन, निर्देशिका, आधार तयार पारी स्पष्ट ढंगले स्वीकार्य नीतिहरू निर्धारण गर्न सक्नुपर्छ । यसका साथै यस प्रविधिको प्रयोगबाट पारदर्शिता, जवाफदेहिता र नैतिकताको सुनिश्चितता र प्रवद्र्धन हुनुपर्छ ।
सन् १८४० को दशकमा टेलिग्राफबाट प्रारम्भ भएको पत्रकारिता पेसा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग हुँदै च्याट जीपीटी, जे, बार्ड डाल–ईजस्ता प्रविधिको प्रयोगमार्फत् विकसित हुँदै आएको छ । तर पनि समाचारले अहिलेसम्म भ्रमपूर्ण समाचार आएकै छ । गलत समाचारका कारण भ्रम सिर्जना भएकै छ । यसले राजनीतिक, लैंगिक, जातिगत जस्ता संवेदनशील विषयमा पूर्वाग्रह राखेर सामाजिक विशृंखलता फैलाउन पनि सफल भएको अवस्था छ ।