स्वदेशमै केही गर्न खोज्दै भक्तपुरे युवाहरु
जेठ २४, २०८१, बिहीबार | विहान ०५:०२ बजे | 40
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका सलिम लागे २१ वर्षका भए । तर उनमा अरु सामान्य युवाहरुमा जस्तै जसरी पनि विदेश जाने योजना छैन । बरु स्वदेशमै केही गर्ने विचार छ । यही कारण उनी अहिले भक्तपुरको सूर्यविनायकमा सञ्चालन भइरहेको ५० दिने कुक तालिममा सहभागी भइरहेका छन् ।
अहिलेसम्म स्वेदशमै केही गर्छु भन्ने मनमा छ, उनले भने, मेरो परिवारको अहिले सामान्य होटल पनि छ, त्यसैमा केही गर्ने योजना छ । घरभन्दा झण्डै १५ मिनेटको हिडाई अर्थात् एक किलोमिटरको दुरीमा आफनै वडामा सामान्य चिया पसल रहेको उनले बताए । त्यहाँं आफना आमाबुबा दुवै खटिंदै आएको र आफूले पनि त्यही त्यही पसलबाटै केही गर्ने योजनासाथ कुक तालिममा सहभागी हुन आएको उनले सुनाए ।
सोही वडाकै जगातीमा रहेको डिएनआर खाजाघरका व्यवस्थापक राजन नापित पनि आफनै खाजाघरलाई समृद्ध बनाउने योजनासाथ तालिममा सहभागी भएको बताए । वुढाबुढी दुवैजना मिलेर आफनै गाउँंठाउँंमा सामान्य खाजाघर चलाएर जिविकोपार्जन गरिरहेका छौं, तालिम लिन आउनुको कारण खुलाउँंदै नापितले थपे, त्यही पसलमै राम्रो कुक बनेर पसललाई नै समृद्ध बनाउने योजना छ ।
उद्योग तथा वाणिज्य मन्त्रालय शाखा कार्यालय भक्तपुरले स्थानीय युथ सोसाइटी फर सोसियल वेलफेयर सूर्यविनायकको सहकार्यमा त्यहाँं कुक तालिम चलिहरको छ । तालिम प्रत्येक दिन विहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुन्छ । उनीहरुलाई दुई जना प्रशिक्षकहरुले तालिम दिंदै आएका छन् ।
उद्योग तथा वाणिज्य मन्त्रालय शाखा कार्यालय भक्तपुरकी उद्यम विकास सहजकर्ता सरस्वती पौडेलले युवाहरुलाई शीप सिकाएर उद्यमशिल बनाउने योजना साथ विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको जनाइन् । उनले कुकका अतिरिक्त विभिन्न समयमा विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको जनाइन् । कुकको लागि पनि २० जनाको मात्रै कोटा रहे पनि युवाहरुको तीव्र इच्छा भएकोले २६ जनालाई तालिममा सहभागी गराएको उनले बताइन् ।
युथ सोसाइटी फर सोसियल वेलफेयर सूर्यविनायकका अध्यक्ष तुल्सी त्वायनाले युवाहरुलाई दक्ष बनाई स्वदेशमै केही गराउने महान उद्देश्यका साथ लिइएकाले आफूहरुले सहयोग गरेको सुनाए । तालिममा आफू पनि दैनिक सहभागी हुने गरेको भन्दै उनले युवाहरुमा देशमै केही गर्ने योजना पालेको देखेर खुशी व्यक्त गरे । तालिममा देशविदेशमा रहेर काम गरिसकेका, गरिरहेका तथा होटल म्यानेजमेन्ट विषय नै लिएर स्नातक तह पूरा गरिसकेका विद्यार्थीलगायतको सहभागिता रहेको उनले जनाए ।
प्रशिक्षक विष्णु श्रेष्ठले हातमा सिप भए भोकै बस्नु पर्दैन भन्ने मान्यताको स्मरण गर्दै तालिमपछि प्रमाणपत्र पनि प्रदान गरिने योजना रहेको सुनाए । यसले उनीहरुलाई देश विदेशमा काम गर्ने बाटो खुल्ने उनले जनाए ।
एकजना प्रशिक्षार्थी कृष्टिना दुवालले आफूले झण्डै ६ लाख खर्चेर होटल म्यानेजमेन्टमै स्नातक पूरा गरिसकेको र अव यसैमा केही गर्ने योजना रहेको सुनाइन् । तालिममा सात जना युवतीसहित कुल २६ युवा सहभागी छन् । उनीहरु १९ देखि ४० वर्षसम्मका रहेको जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...