मेरो सूर्य
कार्तिक २१, २०७७, शुक्रबार | विहान १०:२९ बजे | 65
पदम दाहाल
लोकन्थली, भक्तपुर
क्षितिजमा पुग्दा वयोवृद्धझैँ लाग्ने
कलिलो साँझ कोरलेर
अर्को दिन जुराउन हतारिंदो छ सूर्य
मान्छेमा जस्तो नियास्रो
नपलाउँदो रहेछ उसमा
जवानी ओरालो लागेको नमान्दो रहेछ ऊ
बुढो बनिन कहिल्यै नपाउँदो रहेछ ऊ ।
कर्तव्यविमूढ रहेन उसमा
उदार कर्मयोग कहिल्यै हराएन उसमा
कहिल्यै थाकेन जति दौडेझैँ लागे पनि
कहिल्यै विरक्तिएन जति पौडेझैँ गरे पनि
कदापि बस्तै बसेन टुसुक्क
न त खोज्यो विश्रान्ति उसले
ब्रह्माण्डमा देखियो सधैं प्रखर ज्वलन
लीन सधैँ तल्लीन
सृष्टिको निरन्तरतामा
बृष्टिको तारन्तारतामा
दृष्टिको दिगम्बरतामा
कसेर नियामक अन्तरिक्ष र सगरसितको आत्मीय गाँठो
नछोडेर कर्तव्यपालनाको नितान्त बाटो
नसम्झेर खग्रासमय कुनै कष्टकर व्यवधान र पाटो ।
एकोहोरो हुलाकीझैँ समाचारका पुलिन्दा बोकेर
सायद उदीप्त ज्योति बालिरहेछ एकाग्रतामा
अनगिन्ती ग्रह नक्षत्रमा घोलेर आफ्नो रङ
नअल्मलाएर आफूलाई निष्पट्ट रातसितको आलिङ्गनमा
महिना, ऋतु र सालको सीमारेखा
लगाइरहेको छैन ऊ
कौमार्यझैँ लाग्छ सधैँ
एकैनासको वयस्क जिन्दगी
बेपरबाह शक्तिपुञ्ज मेरो सूर्य
बलिरहेछ एकैनास तप्त र तापित
परिक्रमण परिभ्रमण नियालेर आफू वरिपरि
उघार्छ अन्धता अज्ञानता
हरेक आँखामा पठाएर झुल्को दिनभरि ।