सामाजिक सद्भावना बिथोल्ने, जातीय भेदभावलाई प्रोत्साहित गर्ने र असान्दर्भिक समाचारलाई यथाशीघ्र सच्याओस्


जेठ १७, २०८१, बिहीबार | विहान ०६:४३ बजे | 5


सामाजिक सद्भावना बिथोल्ने, जातीय भेदभावलाई प्रोत्साहित गर्ने र असान्दर्भिक समाचारलाई यथाशीघ्र सच्याओस्

जसरी एउटा परिवार सफल हुनका लागि बुवा, आमा, छोरा, छोरी, नाति, नातिनीले आ आफ्नो पारिवारिक, सामाजिक, धार्मिक, आर्थिक जिम्मेवारी बोकेको हुन्छ , त्यसैगरि समाज तथा राष्ट्रका धार्मिक, राजनैतिक, आर्थिक, सामाजिक जिम्मेवारी वहनका लागि काम बिभाजन गरिएको हुन्छ र यो नेपालमा मात्र होइन बिश्वभर नै हुन्छ। नेपालको सम्बन्धमा कुरा गर्दा प्रकृतीपुजक नेवाःहरु बिस्तारै शैव, बैष्णव र बुद्धमार्गी बनेको इतिहासले बताउछ। मल्लकालमा दोलाजी राजा जयस्थिती मल्ल मैथली ब्राह्मणहरुको सल्लाह बमोजिम देशलाई जातिय रुपमा बिभाजित गरि दिए जस्ले गर्दा ईतिहासको कुनै कालखण्डका शासकहरु गोपाली(गोपाल वंश), नायः (महिशपाल वंश), ज्यापू( किंरात वंश), द्योपाला(लिच्छवि वंश) लाई समेत जातिय बिभाजन अनुसारको काम सुम्पियो। यसअघि पनि पराजित शासकवर्ग राज्य सत्तामा फेरि फर्केर आउन नसकोस भनी सामाजिक मर्यादाक्रममा तल राख्ने र आर्थिक हैसियत कमजोर बनाउने काम पटक पटक भएकै हो। जंगबहादुरको पालाको मुलुकी ऐन १९१० ले छुवाछूतलाई लागु गराउने र नमानेमा सजायको व्यवस्था गरेको थियो भने प्रजातन्त्रको स्थापना पश्चात् विश्व राजनीति र बिधि व्यबहार संग परिचित भए संगै मुलुकि ऐन २०२० ले मानव कलंकको रुपमा रहेको जातीय बिभेदलाई अमान्य घोषित गरेको थियो भने त्यसपछि बनेका संबिधान, कानुनहरुले जातीय भेदभावलाई दण्ड्नीय बनाएको पनि ३५ बर्ष भइ सकेको छ। अन्तरराष्ट्रिय कानुनले छुवाछूतलाई दण्डनीय अपराधको रुपमा घोषणा गरेको ५० औ बर्ष भई सकेको छ। २१ को शताब्दीको समयको माग संगै अहिले समाज मिलेर अघि बढेको अवस्था हो कुनै किसिमको भेदभावलाई अहिलेको कानुन र समाजले स्वीकार नगरेको अवस्थामा एउटा जातिय समुहको अधिबेशन सम्पन्न भएको सूचना संप्रेषणको क्रममा यो ठूलो जात र यो सानो जात भनेर टिप्पणी गर्नु सुहाउँदो पक्कै होइन । श्रमजीवी र शारीरिक श्रम गर्ने वर्गको हैसियत हिजो पनि तल बनाईयो आजपनि फरक हुन नसकेको यथार्थ हामी सामु छर्लङ्ग छ तर तल्लो जात र माथिल्लो जातको कुरा कानुन, समाजले मान्दैन र यो समाचार संग सान्दर्भिक पनि होइन। बरु त्यो जात इतिहासको कालखण्डमा “पानी नचल्ने छोईछिटो हाल्नु पर्ने“ बाट, “पानी नचल्ने छोइछिटो हाल्न नपर्ने“ बाट क्रमश “पानी चल्ने जात“ कसरी भयो भन्ने कुरा सुहाउँदो हुन्छ र खोजमुलक, जानकारीमुलक पक्कै हुने थियो। अन्तमा समाचार बनाउनेले नेपालको कानुन बिपरित, सामाजिक सद्भावना बिथोल्ने, जातीय भेदभावलाई प्रोत्साहित गर्ने र असान्दर्भिक समाचारलाई यथाशीघ्र सच्याओस र भबिष्यमा हुने सक्ने संभावित दुर्घटनाबारे सचेत हुन आग्रह गर्दछु ।
प्रविण शाही

Comments