दुईदिने सञ्चालक क्षमता अभिवृद्धि तालिम सम्पन्न
जेठ १२, २०८१, शनिबार | दिउँसो ०२:२१ बजे | 20
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको दुईदिने सञ्चालक क्षमता अभिवृद्धि तालिम शनिबार सम्पन्न भएको छ ।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका पूर्व अध्यक्ष रत्न प्रसाद प्रजापतिले विगतका वर्षहरुमा पनि संस्थालाई संस्थागत रुपमा विकास गर्न विभिन्न तालिमहरु सञ्चालन गरेको स्मरण गर्दै यस तालिमले संस्थामा आएका चुनौतीहरुको सामना गर्न सिकाएको बताउनुभयो । उहाँले सहकारीलाई स्थानीयबाटै सञ्चालन गर्नुपर्नेमा अन्यथा भएकाले विभिन्न संस्थामा समस्या आएको बताउनुभयो ।
प्रशिक्षक एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका विभागीय प्रमुख दुर्गा प्रसाद ढकालले सानो गल्तीले गर्दा नै सहकारीहरुमा समस्या आउने बताउँदै उहाँले संस्था चलाउँदा ऋणीहरुको राम्ररी वर्गीकरण गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले हरेक महिना पल्र्सको विश्लेषण गर्नुपर्ने औल्याउनुभयो । नेफ्स्कूनको सञ्जालिकृत रणनीति अनुसार हिड्नुपर्ने उहाँको जोड छ । उहाँले सहकारीको नाउँमा अरु काम गर्नेले गर्दा नै कालो बादल लागेको स्पष्ट पार्दै उहाँले विभिन्न संयन्त्रको विकास गरी यिनीहरुलाई हटाउनुपर्ने बताउनुभयो ।
सभापति एवं संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले हिजो लिएका नीति, नियम र कार्ययोजना तालिम अपुग भएकै कारण यो तालिमको खाँचो भएको बताउनुभयो । उहाँले यस तालिमले संस्थाको विकासका लागि नयाँ ऊर्जा थपेको बताउनुभयो । साथै उहाँले प्रशिक्षकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
संस्थाका सचिव जगनाथ प्रजापतिले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिबाट प्रशिक्षार्थी प्रमाणपत्र वितरण भएको थियो ।
शनिवार भएको तालिममा प्रशिक्षक प्रेम वाग्ले, सिए विदुर लुइटेल र दुर्गाप्रसाद ढकालले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।