सुकुलढोका क्षेत्रका पसल व्यवसायीहरुको भेला
जेठ ९, २०८१, बुधबार | विहान ०६:१९ बजे | 45
भक्तपुर, ९ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा सुकुलढोका क्षेत्रका पसल व्यवसायीहरुको भेला भनपा सभाकक्षमा बिहिबार सम्पन्न भयो । भेलाका अतिथि ७ नं वडाका वडाध्यक्ष उकेश कवाँले भक्तपुरका जनता नागरिक भावना विना बजार व्यवस्थित नहुने बताउनुभयो । उहाँले देशमा आर्थिक चलायमान नहुँदा अथवा एक प्रकारको आर्थिक मन्दिको दिशा तर्फ गुज्रिरहेकोले देशका असी लाख युवाहरु विदेशी रहेको अवस्थामा बजार कसरी चल्छ भन्नुभयो । उहाँले नेपालमा उत्पादन छैन् जसले गर्दा रोजगारी श्रृजना नहुँदा बेरोजगारी बढेकोले देश परनिर्भरता तर्फ ढकेलिरहेको छ भन्नुभयो । उहाँले नो अब्जेक्सन लेटर(एनओसी) लिई दैनिक २४०० जना कक्षा १२ सकेका विद्यार्थी बाहिरिँदा यस बर्षमात्र डेढ लाख विदेशीयको बताउनु भयो । उहाँले बजारमा आर्कषण नबढाई प्रतिस्पर्धामा व्यापार बढाउन गा¥हो हुने भएकोले दृष्य प्रदुषण हटाउन छट छजा हटाउन पर्ने भएकोले व्यवसायीहरुको सहयोगले नै उक्त कार्य सम्भव हुने बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षामा मात्र पचास हजार विद्यार्थी र ७८ हजार जनसंख्याको चहल पहल बढाउने गरी कलेज र अस्पताल खोलेको बताउनुभयो । उहाँले युवाहरुलाई विदेशीनबाट रोक्न सीपमूलक तालिम दिई व्यवसाय ऋण र नेपाल मै शिक्षा लिनेलाई शैक्षिक ऋणको व्यवस्था गरेको साथै भुगोल, इतिहास, कला सँस्कृति पढ्ने विद्यार्थीहरुलाई पिएचडिसम्म निःशुल्क व्यवस्था गरेको बताउनुभयो । उहाँले नगरपालिकाले बहुमत जनताको सेवा हुने सोचले काम गर्नु पर्ने बताउँदै जीवनमा आउने हरेक कठिनाईमा निराश नभई सामान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेले नगरपालिका स्थानीय सरकार भएकोले बलियोले जे गरेपनि हुने मत्स्य न्यायबाट छुटकारा पाउन राज्य वा सरकारको व्यवस्था भएको बताउँदै नगरपालिकाको ऐन नियममा बसेर काम कावार्ही गुर्नपर्ने बताउनुभयो । उहाँले बलियोले निर्बलियालाई थिचोमिचो गर्ने, नक्सा पास विना छरछिमेकिलाई समस्या हुने गरी जथाभावी घर बनाउनेलाई स्थानीय सरकारले नियन्त्रण र व्यवस्थित गर्ने बताउनुभयो । उहाँले मानव अधिकार वा स्वतन्त्रताको नाममा अरुलाई हस्तक्षेप गर्न नपाउने भने जस्तै व्यवसाय गर्नेले पनि पर्यटकहरुलाई दृष्य प्रदुषण हुने गरी जथाभावी छटछजा राख्न नहुने र व्यवसायीहरुले व्यवसायको मर्यादा र अनुशासनमा बसी व्यापार व्यवसाय गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिका सार्वजनिक संस्था बलियो भए मात्र जनताको सेवा गर्न नसक्ने बताउँदै फोहरको पर्याय बनेको नगरलाई एसियाको सफा शहर बनाउन सफल भएको बताउनुभयो ।
कार्यक्रमका सभापति राजकृष्ण गोराले नगरपालिका साझा संस्था भएकोले आलोचना र आत्मलोचनाबाट नगरबासीहरुलाई सचेत गरी रहेको बताउनुभयो । उहाँले नगरबासीहरुको अमुल्य भोटबाट निर्वाचित गरेकोले यहाँहरुको सेवा र सहयोगमा समर्पित भएको बताउँदै सानो नगरमा ठूलो उद्योगधन्दाको सम्भावना नभएकोले पर्यटन व्यवसायबाट नगरबासीहरुको सेवा र आय स्त्रोत बृद्धि गर्ने तर्फ नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले आर्थिक बर्षको संघारमा भएकोले नयाँ आवको लागि विभिन्न योजनाहरु तर्जुमा गर्न सुझाबहरु पाउने र सुझाब अनुसार नयाँ नयाँ योजनाले नगरबासीहरुलाई सेवा पुग्न आशा व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारमा भक्तपुर नगरपालिकाले प्रकाशस्तम्भको रुपमा काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं ५ का वडासदस्य नारायण प्रसाद त्वानाबासूले नगरपालिका र नगरबासीहरु बीच समन्वय गरी नगरपालिकाको गतिविधि जानकारी दिने व्यापार व्यवसाय राम्रो बनाउन वातावरण तयार गर्न भेला राखेको बताउनुभयो ।
कार्यक्रममा वडानिरिक्षक रामकृष्ण प्रजापतिले भक्तपुर नगरपालिकाले बजारमा छटछजा निकालेपछि विभिन्न स्थानबाट सकारात्मक प्रतिक्रिया आई रहेको बताउँदै बाह्य र आन्तरिक पर्यटकलाई आकर्षण बढाई प्रत्येक पर्यटकले किनमेल गर्ने वातावरण बनि रहेको बताउनुभयो । उहाँले भक्तपुर धुम्न आउनेहरुले भक्तपुरको पसलहरुबाट लताकपडा, लुगाफाटा, जुत्ता, खाद्य पसल लगायत हरेक सामानहरु खरिद गरेर लाने गरी पसलको आकर्षण बढाए पेटी र बाटोमा सामान प्रदर्शन गर्नु आवश्यकता नहुने बताउनुभयो ।
कार्यक्रममा संजय जोन्छे, श्री चरण अमात्य, राजेश बहादुर श्रेष्ठ, मुक्ति सुन्द र श्रेष्ठले पनि छटछजा निकाल्ने बारे विभिन्न जिज्ञासा राख्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...