यस्तो गर्नुपर्छ स्वदेशमै केही गर्न (तथ्यांकसहित)
जेठ ६, २०८१, आइतबार | दिउँसो ०३:४४ बजे | 50
भक्तपुर । स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरुको लागि एकजना उदाहरणीय व्यक्तित्व हुन्, भक्तपुरका युवा इन्जिनियर कृष्णभक्त दुवाल । भक्तपुर नगरपालिका वडा नं १० महालक्ष्मीस्थान निवासी इन्जिनियर दुवालले पछिल्लो नौ वर्षको छोटो अवधिमा पाँंच वटा ठूलाठूला उद्योगहरु सञ्चालन गर्न सफल भएका छन् । ती उद्योगहरुमा उनले सयौं नवयुवाहरुलाई रोजगारी उपलव्ध गराइरहेका छन् ।
‘केही काम गर्नका लागि सवैभन्दा पहिलो प्यासन (लगाव) हुनुपर्छ, उनको अनुभब छ, ‘लगाव नै नभएपछि चाहिं केही पनि गर्न सकिन्न । त्यस्ता युवा विदेश गएर विदेशीको नोकर नै हुन जाने हो ।’ त्यसकारण निराशा पालेर होइन, गरे के हुन्न भन्ने उत्साहकासाथ मेहनेत गर्नुपर्ने खाँंचो उनी औंल्याउँंछन् । उदाहरण दिंदै उनी थप्छन्, ‘पानी खानका लागि सवैभन्दा वढी आफू तिर्खाएको महशुश गनुरपरयो, जव तिर्खाको महशुश नै गर्दैनन्, उसको अगाडि कसैले पानी अगाडि राखे पनि उसले खानेवाला छैन । यही कारण युवाहरुमा केही गर्ने हुतहुती पहिलो आवश्यकता रहेको उनको बुझाई छ ।
ख्वप कलेज देकोचा भक्तपुर, नेपाल इन्जिनियरिंग कलेज नेक दुवाकोट चाँंगुनारायण भक्तपुरमा प्राध्यापनरत उनी नयाँं सोधखोज अर्थात् इनोभेसनमा जोड दिन्छन् । यही स्वभावका कारण परम्परागत इटाभटा व्यवसायमा संलग्न उनले परम्परागत पेशाबाटै माथि उठेर केही नयाँं उत्पादन थाले । इटाको विल्कपमा उनले लामो अनुसन्धान, देशविदेश भ्रमणपछि इको प्यानकाले उत्पादन थाले सन् २०१४ मा । भौतिक निर्माणमा इटाको विकल्पमा प्रयोग गर्न सकिने इको प्यानल उनकै नेतृत्वमा नेपालमै पहिलो पटक उत्पादन थालेको थियो सन् २०१४ बाट । अहिले यही उत्पादन उनले देशैभरि दिइरहेका छन् । विदेशबाट आउने यस्तो निर्माण सामाग्रीसँंग पैठाजोरी खेल्दै उनी संघर्षरत पनि छन् । इको प्यानल भनेको स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो ।
इको प्यानलबाट थालिएको उनको व्यापार व्यवसाय निर्माण सामाग्रीमै केन्द्रित छन् । पछिल्लो वर्ष सन् २०२३ मा उनको नेतृत्वमा पोखरामा पोखरा इको रेड ब्रिक्सको उत्पादन थालिएको छ । उनले यससँंगै प्रिफ्याव एण्ड विण्डोरलगायतका निर्माणसँंग सम्वन्धित उत्पादन उद्योगहरु सञ्चालन गरेका छन् । यी उद्योगहरुबाट उनले मनग्य कमाइ पनि गरिरहेका छन् ।
युवा वैज्ञानिक एवं आविष्कारक डा सँंग नजिक रहेर अध्ययन अनुसन्धानमा लागिरहने उनी अहिले पनि निरन्तर अध्ययन अनुसन्धानमै लागिपरिरहेका छन् । ‘अवसर समात्नका लागि जहिले पनि उफ्रिरहने हो, उनको विश्लेषण छ, ‘अवसर आउँंला र त्यो बेला मात्रै उफ्रुला भनेर बस्यो भने त्यो जीवनभरमा पनि त्यो आउँंदैन ।’
जे होस् युवाहरुले केही न केही गर्नेपर्ने उनको अनुरोध छ । सुरुवात कम रिश्क र सानो पुँंजीबाट थाल्दै त्यसैलाई विस्तारै विस्तार गर्दै अगाडि वढ्न सकिने सुझाब उनको छ । युवाहरुको केही गर्न चाहने यो हुतहुतीलाई इन्टरनेटको यो जमानाले पनि धेरै सहज बनाइदिएको उनको बुझाई छ । इन्टरनेटबाट देशविदेशका कुराहरु थाहा पाउने भएकाले धेरै कुरा सिक्न सकिने उनको बुझाई छ ।
नेपालमा रोजगारी नपाएको भन्दै विदेश जाने युवाहरुको लर्काे केही वर्षयता थेगिनसक्नु छ । पैसा भएकाहरु अमेरिका अष्टेलिया त नभएकाहरु कतार, मलेशिया, युनाइटेड अरव इमिरेटस् युएई अनि साउदी अरेविया जस्ता खाडी मुलकहरुमा कामका लागि निस्कने युवाहरु ठूलो जमात छ ।
अध्यागमन विभागका अनुसार सन् २०८० मा मात्रै ८ लाख ७ हजार ६ सय ९३ नेपाली रोजगारीका लागि विभिन्न देश गएका छन् । यसरी विदेश जानेमा ७ लाख १८ हजार ९ सय ३० पुरुष र ८८ हजार ७ सय ६३ महिला छन् । अहिले पनि एयरपोर्टबाट दैनिक सयौं नागरिकहरु विदेशिने क्रम जारी छ । उनीहरुले स्वदेशमा रोजगारी नपाएपछि बाध्य भएर विदेश जानुपरेको गुनासो पोख्ने गरेका छन् ।
विभागका अनुसार गत एक वर्षमा रोजगारीलगायत विभिन्न उद्देश्यले विदेश जाने नेपालीको संख्या भने १६ लाख २१ हजार ५ सय ६६ रहेको थियो । त्यसरी एक वर्षमा विदेश जाने नेपालीमध्ये स्थायी बसोबासका लागि जानेको संख्या ६८ हजार ३ सय ९३ रहेको छ ।
यसैगरी अध्ययनका लागि जाने पनि ठूलो संख्यामा रहेका छन् । गत एक वर्षमा मात्रै विभिन्न देशमा अध्ययनका लागि जानेको संख्या १ लाख ११ हजार २ सय ८९ छ । गत वर्ष विदेशमा घुमघाम तथा तीर्थयात्रा गर्न जानेको संख्या २ लाख १२ हजार ३ सय ६० जना रहेको छ । यसैगरी सो अवधिमा स्वास्थ्य परीक्षण गर्न जानेको संख्या २० हजार ५ सय ३ रहेको छ । यस्तै सो अवधिमा व्यापारको सिलसिलामा विदेश जानेको संख्या २० हजार ४९ रहेको छ । यस्तै विगत एक वर्षमा विदेशमा बसेका आफ्ना परिवारका सदस्यहरुलाई भेटघाट गर्न जानेको संख्या १ लाख ६३ हजार ३ सय ८४ रहेको छ ।
बक्स
केका लागि कति विदेशिए ?
रोजगारी ः ८ लाख ७ हजार ६ सय ९३
अध्ययन ः १ लाख ११ हजार २ सय ८९
घुमघाम एवं तीर्थयात्रा ः २ लाख १२ हजार ३ सय ६०
स्वास्थ्य परीक्षण ः २० हजार ५ सय ३
स्थायी बसोबास ः ६८ हजार ३ सय ९३
परिवारका सदस्यलाई भेट्न ः १ लाख ६३ हजार ३ सय ८४
श्रोत ः अध्यागमन विभाग
फाेटाेमा हेर्नुहाेस्...