बालबालिकालाई यसकारण जरुरी छ सामाजिकीकरण
जेठ १, २०८१, मङ्गलबार | विहान ११:४६ बजे | 5
सागर गुरागाईं
बोलेर, सुनेर, पढेरभन्दा आँखाले प्रत्यक्ष देखेर अध्ययन गर्दा सजिलै बुझिने र लामो समयसम्म स्मरण रहिरहने हुन्छ । तपाईं सहरमा हुनुहुन्छ र गाउमा घर वा आफन्त छन् भने यो खाली समय केही दिनका लागि बालबालिकालाई पठाउदा धेरै राम्रो हुन्छ । यसो हुदा उनीहरु फरक, स्वच्छ, हरियाली वातावरणमा रमाउन पाउछन् ।
राजधानीलगायत ठूला सहर योजना बिना बसाइएका छन् । बालबालिकालाई घरबाहिर खेल्ने खाली ठाउ छैनन्, खुला चौरको अभाव छ । यसको परिणाम चल्ने, खेल्ने उमेरका बालबालिका शारीरिक व्यायामको अभावमा अल्छी हुन्छन् । बिदाका बेला बालबालिकालाई नयँ ठाउ डुलाउन लैजानुपर्छ । नया परिवेशमा उनीहरुले धेरै कुरा सिकिरहेका हुन्छन् । रुचि अनुसारका कथा, कविता, चित्रका किताब किनिदिने, उनीहरुले इच्छा गरेका इन्डोर तथा आउटडोर गेम खेलाइदिने गर्नुपर्छ ।
गीत–संगीत, डान्स, आर्ट्सजस्ता रचनात्मक सीप सिकाउने कक्षामा भर्ना गर्दा लुकेको प्रतिभा उजागर हुन्छ । बालबालिकालाई बुझ्ने, समय दिने, कुरा सुन्ने, तनाव कम गर्ने कोसिस प्रत्येक अभिभावकले गर्नुपर्छ । बालबालिकासगै बसेर उनीहरुलाई ज्ञान दिने खालका फिल्म हेर्ने, मन पर्ने खानेकुरा पकाउने, पकाउन सिकाउने, भरपूर माया दिने हो भने कुलतमा फस्ने, घर छोडेर हिँड्नेजस्ता नराम्रा कदम उठाउने कार्य आफै बन्द भएर जान्छन् । सन्तान जन्माउनु मात्रै आमाबुबाको काम होइन, राम्रो शिक्षादीक्षा दिएर हुर्काउने ठूलो कर्तव्य हो । बालबालिकालाई बजारमा प्याक गरिएका म्याद नाघेका खानेकुराभन्दा पनि घरमै पाकेका पोसिला खानेकुरा खुवाउनु अभिभावकको महत्वपूर्ण जिम्मेवारी हो। ग्याजेटहरुमा भुलेर एक ठाउँमा थुप्रेर जंकफुड खानाले भविष्यमा रोगी बनाउँछ भन्ने अभिभावकले विर्सनु हुँदैन ।
घरमा मात्रै होइन, स्कुलमा पनि क्यान्टिनमा मैदाबाट लामो समयसम्म डढेको तेलमा पकाएका चाउचाउ, चाउमिन, मःम, समोसाभन्दा टिफिनका रुपमा घरबाटै फलफूल, सागपात, आलु–पुरी चना–रोटी, खीर, अन्डा, माछा मासु, मकै भटमास, गहुँबाट बनेका हलुवा पठाउँदा बालबालिकामा पोषणको कमी हुँदैन । आमाबुबाको सानो प्रयासले बालबालिकाको भविष्य बन्छ भने त्यसलाई पूरा गर्न पछि हट्नु हुँदैन । जसरी वालबालिकाको पहिलो पाठशाला घर हो, उसैगरी पहिला गुरु आमाबुबा हुन् । घरबाट राम्रो संस्कार सिकेका बालबालिकाले कहीं गए पनि दुःख पाउँदैनन्, नराम्रो काम गर्दैनन् । यो वर्ष मात्रै नेपालमा ३७ हजार जोडीले सम्बन्ध विच्छेद गरेछन् । परिवारमा आमाबुबाबीच सानो झगडा हुँदा त दुःखी हुने, डराउने बालबालिका आमाबुवा नै छुट्टिए भने कस्तो अनुभव गर्छन् होला ? सन्तान जन्माएर बेवास्ता गर्ने अभिभावकहरुले बुझ्नैपर्छ । घर–समाजमा, स्कुलमा, छात्रावासमा देख्दै आएका छौं कि आमाबुबाभन्दा अरुसँग बस्ने बालबालिकाको आनीबानी अलि फरक हुन्छ । अरुलाई नटेर्ने, पढ्नमा कमजोर हुने, पढाइलाई महत्व नदिने, बदमासी गर्ने, कुलतमा फस्नेजस्ता क्रियाकलाप आमाबुन्नाभन्दा टाढा रहेका बालबालिकाले बढी गर्छन् । त्यसैले बालबालिकालाई राम्रो संस्कार, शिक्षादीक्षा दिएर हुर्काउने पहिलो जिम्मेवारी त आमाबुबाकै हो ।