५५ जना आमाहरु सम्मानित


बैशाख २७, २०८१, बिहीबार | विहान ११:४९ बजे | 60


५५ जना आमाहरु सम्मानित

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा ५५ जना जेष्ठ महिला सदस्यहरुलाई सम्मान गरिएको छ । मातातिर्थ औंसी(आमाको मुख हेर्न दिन) को अवसरमा भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ६० वर्ष माथिका जेष्ठ महिला सदस्यहरुलाई सगुन तथा पोषण वितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो । कार्यक्रमकी प्रमुख अतिथि प्रजिअ श्रेष्ठले जीवित देवी आमालाई सबै सन्तान अनि परिवारले सधैं खुशी राख्नसके भगवान स्वतः प्रसन्न हुने धारणा व्यक्त गर्नुभयो । आर्थिक कारोबार गर्ने सिद्धार्थ सहकारीले शेयर सदस्यका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत काम विशेषले घरबाहिर अनि विदेशमा रहेका सन्तानका आमाहरुलाई पनि सम्मान एवं पोषण वितरण गरेकोमा प्रसन्नता व्यक्त गर्दै आफू प्रजिअ भएर भक्तपुर आएको ८ महिना भएको र पहिलो पटक सहकारीको कार्यक्रममा प्रमख अतिथिको भूमिकामा उपस्थिति जनाएको जानकारी दिनुभयो । संस्थाका अध्यक्ष राजेश श्रेष्ठले संस्थाको सामाजिक दायित्व अन्तर्गत ६० वर्ष माथिका जेष्ठ महिला सदस्यहरुलाई सगुन सहित पोषण वितरण गरिएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले आमाको महिमा अपरम्पार रहेको भन्दै जीवित देवीको सम्मान सबै सन्तान र परिवारले सधैं गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले सिद्धार्थ साकोसको हालसम्मको आर्थिक, सामाजिक प्रगतिको संक्षिप्त चर्चा गर्दै वि.सं.२०८० चैत्र मसान्त सम्ममा शेयर पुँजी ३ करोड ३७ लाख रुपैंया पुगेको पनि जानकारी दिनुभयो । संस्थाका सचिव सोहन कायस्थले नियमित बचत, अनिवार्य बचत, लखपति बचतबारे जानकारी दिदैं सञ्चालन गर्नु भएको कार्यक्रममा उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा मध्यपुर सञ्चार समाजका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष सागर गुरागाई लगायतका अतिथिवक्ताहरुले सिद्धार्थ साकोसको सामािजक कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सिद्धार्थ भवनमा भएको उक्त सम्मान कार्यक्रममा ९१ वर्षिया जेष्ठ महिला सदस्य चन्द्रलक्ष्मी श्रेष्ठ सहित ५५ जना महिलाहरुलाई सगुन सहित पोषण वितरण गरिएको संस्थाका सचिव सोहन कायस्थले जानकारी दिनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

५५ जना आमाहरु सम्मानित

Comments