अघि बढ्यो एभरेस्ट इन्जिनियरिङ कलेजमा IEEE विद्यार्थी शाखा स्थापना
असार २३, २०८३, मङ्गलबार | विहान ०९:०३ बजे | 130
एभरेस्ट इन्जिनियरिङ कलेज (EEC) मा आधिकारिक रूपमा IEEE EEC Student Branch को उद्घाटन गरिएको छ। विद्यार्थीमा प्रविधि, अनुसन्धान, नवप्रवर्तन, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय प्राविधिक सञ्जालसँग आबद्ध गराउने उद्देश्यले विद्यार्थी शाखा स्थापना गरिएको कलेजले जनाएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा IEEE नेपाल सेक्शनका अध्यक्ष प्रा. डा. अरुणकुमार तिमल्सिना सहभागी भएका थिए। उनले IEEE विद्यार्थी शाखाले विद्यार्थीलाई कक्षाकोठाको अध्ययनसँगै अनुसन्धान, नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य तथा व्यावसायिक नेतृत्व विकासका अवसर प्रदान गर्ने बताए। उनले सक्रिय सहभागितामार्फत विद्यार्थीहरूले विश्वव्यापी प्राविधिक समुदायसँग जोडिने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे।
विशेष अतिथि IEEE Women in Engineering (WIE) नेपाल सेक्शनकी अध्यक्ष डा. प्रतिमा प्रधानले विज्ञान तथा प्रविधिको क्षेत्रमा महिला विद्यार्थीको सहभागिता र नेतृत्वलाई अझ सशक्त बनाउन IEEE WIE को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ शाखाले समावेशी र सिर्जनात्मक वातावरण निर्माण गर्ने अपेक्षा व्यक्त गरिन्।
कार्यक्रममा विभिन्न IEEE विद्यार्थी शाखाका प्रतिनिधि, कलेजका प्राध्यापक, कर्मचारी, स्वयंसेवक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नयाँ विद्यार्थी शाखाको स्थापनाले विभिन्न प्राविधिक कार्यक्रम, कार्यशाला, अनुसन्धान, नवप्रवर्तन परियोजना तथा नेतृत्व विकासका गतिविधि सञ्चालन गर्न महत्वपूर्ण आधार तयार भएको बताएका थिए।
कलेज प्रशासनले IEEE EEC Student Branch को स्थापना एभरेस्ट इन्जिनियरिङ कलेजका लागि नयाँ अध्यायको सुरुआत भएको उल्लेख गर्दै यसमार्फत विद्यार्थीलाई विश्वस्तरीय प्राविधिक ज्ञान, सहकार्य र व्यावसायिक विकासका अवसर उपलब्ध गराउने लक्ष्य रहेको जनाएको छ।
कलेजले आगामी दिनमा IEEE को अन्तर्राष्ट्रिय सञ्जालसँग सहकार्य गर्दै विद्यार्थीको क्षमता अभिवृद्धि, नवप्रवर्तन प्रवर्द्धन तथा दक्ष इन्जिनियर उत्पादनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
फाेटाेमा हेर्नुहाेस्...
