नवदुर्गा देवगण जात्रा र भलभल अष्टमी


असार २३, २०८३, मङ्गलबार | विहान ०६:३४ बजे | 35


नवदुर्गा देवगण जात्रा र भलभल अष्टमी

नारायणमान बनमाला

नवदुर्गा देवगण जात्रा (ङलाकेगु) नेपालकै सबैभन्दा लामो अवधिसम्म सञ्चालन हुने सांस्कृतिक तथा धार्मिक जात्रामध्ये एक हो। यो जात्रा तान्त्रिक परम्परा, धार्मिक आस्था, सांस्कृतिक अभ्यास र सामाजिक शिक्षाको अनुपम संगमका रूपमा परिचित छ। यसमा विभिन्न देवी–देवताका मुकुण्डो धारण गरी परम्परागत बाजागाजासहित नृत्य र जात्रा प्रदर्शन गरिन्छ।

आज मिति २०८३ साल असार २३ गते मनाइने भलभल अष्टमी नवदुर्गा देवगण जात्राको अत्यन्त महत्वपूर्ण दिन हो। हरेक वर्ष जुनसुकै परिस्थितिमा पनि यो जात्रा निरन्तर सञ्चालन हुँदै आएको छ। मानव समाजको विकाससँगै मातृशक्तिको इतिहास, परम्परा र जीवनदर्शनलाई पुस्तान्तरण गर्ने उद्देश्यले यो संस्कृतिको विकास भएको मानिन्छ।

यस जात्रामा मुकुण्डो लगाएर बाजाको ताल र नेवारी भाषाका परम्परागत गीतमार्फत परिवारको सहकार्य, नारीको सौन्दर्य, सरसफाइ, नारीको क्रोध, ‘मतिना’ नाच, दाम्पत्य जीवन, शाकाहारी तथा मांसाहारी संस्कार, बाल्यकाल, चञ्चल स्वभाव, खानाका परिकार तथा मानव जीवनका विविध पक्षलाई कलात्मक रूपमा प्रस्तुत गरिन्छ। यसले मनोरञ्जन मात्र नभई सामाजिक शिक्षा र सांस्कृतिक चेतना पनि प्रवाह गर्दछ।

भक्तपुरमा नवदुर्गा देवगण जात्रा २१ स्थानमा (ङलाकेगु) सञ्चालन हुने परम्परा छ। भक्तपुर बाहिर काठमाडौं, पशुपति, टोखा, चपली, तुषाल, गोकर्ण, साँखु, मध्यपुर थिमि, चाँगुनारायण तथा काभ्रेका साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट, बनेपा र पनौतीलगायत स्थानमा समेत नवदुर्गा जात्रा सम्पन्न हुने गरेको छ।

नवदुर्गा जात्राले मानव जीवनको जन्मदेखि मृत्युसम्मको चक्रलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दछ। श्रावण महिनाको दोस्रो सातादेखि विभिन्न धार्मिक विधि प्रारम्भ भई वर्षभरि आठ महिना मुकुण्डोसहित र चार महिना मुकुण्डोबिनाको जात्रा तिथि अनुसार सञ्चालन गरिन्छ।

भलभल अष्टमीको विशेष महत्व

भलभल अष्टमीको बिहानदेखि नै यस वर्षको देवगण जात्राको समापन प्रक्रिया प्रारम्भ हुन्छ। धार्मिक किंवदन्तीअनुसार ब्रह्मायणी, माहेश्वरी र भद्रकालीले मानव समाजमा मृत्यु हुँदा मसानघाटमा दाउरा लैजाने परम्पराको प्रतीकस्वरूप ब्रह्मायणी पीठमा विधिपूर्वक दाउरा अर्पण गरिन्छ। यही स्थानबाट विजया दशमीका दिन नवदुर्गा देवगणको आविर्भाव हुने विश्वास रहिआएको छ।

त्यसपछि सम्पूर्ण देवगणले औपचारिक पोशाक धारण गरी मन्दिर परिसरमा सबै मुकुण्डो विराजमान गराइन्छ। मंगलसिद्धि नाच, अन्तिम गहिँ नाच तथा अन्य परम्परागत नृत्य सम्पन्न गरिन्छ। यसै अवसरमा त्यस वर्षका पुजारी (नंकी) ले अन्तिम पूजा सम्पन्न गर्छन्। पूजाका क्रममा सम्पूर्ण देवगणलाई मूलपात्र चढाइन्छ, ठूला–ठूला बारा, अण्डा बारा तथा अन्य परम्परागत परिकार अर्पण गरी देवगणलाई अन्तिम भोजन गराउने चलन रहेको छ।

यसपछि ब्रह्मायणी देवगणबाट सम्पूर्ण देवपरिवारलाई पञ्चरङ्गी धागो (पासुका) वितरण गरिन्छ भने गणेश देवगणबाट मोहनी टीका लगाइन्छ।

अन्तिम चरणमा देवगण मन्दिरबाट बाहिर निस्कने क्रममा क्रमशः भैरव, काली र बाराहीले विलाप नाच प्रदर्शन गर्छन्। त्यसपछि सम्पूर्ण देवगणले नगर परिक्रमा गरी मन्दिरमा फर्किन्छन्। भक्तजनलाई अन्तिम प्रसादका रूपमा पञ्चरङ्गी धागो (पासुका) वितरण गरिन्छ। त्यसपछि मन्दिरको ढोका बन्द गरी सर्वसाधारणका लागि प्रवेश स्थगित गरिन्छ।

यसपश्चात् देवगणले गँछे, चोफल, टोचा लगायतका परम्परागत विधि पूरा गर्दै सूर्यमढी दबलीमा जम्मा हुन्छन्। त्यहाँबाट नांखी र बाजागाजासहित मलामी जाने शैलीमा मध्यराति ब्रह्मायणी पीठ पुगिन्छ। विधिपूर्वक पूजा सम्पन्न गरी बलिस्वरूप थुमा चढाइन्छ। त्यसपछि देवगणका मुकुण्डोलाई दागबत्ती दिई अग्निसंस्कार गरिन्छ र बाँकी अवशेष (अस्थी) खोलामा विसर्जन गरी यस वर्षको नवदुर्गा देवगण जात्राको औपचारिक समापन गरिन्छ।

नवदुर्गा देवगण जात्रा भक्तपुरको मात्र नभई नेपालको अमूल्य सांस्कृतिक सम्पदा हो। यसको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि सम्बन्धित निकाय, स्थानीय समुदाय तथा राज्यका सबै तहबाट आवश्यक सहयोग र संरक्षण हुनु आजको आवश्यकता हो।

लेखक:
नारायणमान बनमाला
प्रमुख सल्लाहकार
श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्था

Comments