योगमाया : अन्धकार चिर्न उठेको सत्यको स्वर
असार २२, २०८३, सोमबार | साँझ ०५:४८ बजे | 60
जीवनाथ अधिकारी
जन्म, जीवनसङ्घर्ष र विद्रोही चेतनाको उदय
१.भूमिका
नेपालको इतिहासमा यस्ता अनेक व्यक्तित्व छन्, जसले आफ्नो समयभन्दा धेरै अगाडि उभिएर समाजलाई नयाँ बाटो देखाए। उनीहरूको योगदान तत्कालीन सत्ताले दबायो, इतिहासले बिर्सियो र पुस्तौँसम्म उनीहरूको नाम सार्वजनिक स्मृतिबाट हरायो। तर सत्यको एउटा विशेषता हुन्छ के हुन्छ भने त्यो जति दबाइए पनि कुनै न कुनै दिन पुनः उजागर हुन्छ। योगमाया त्यस्तै व्यक्तित्व हुन्।
आज योगमायालाई नेपाली समाजले धार्मिक साधिका, कवयित्री, समाजसुधारक, नारी चेतनाकी अग्रदूत र राणा शासनविरुद्ध सत्यको आवाज उठाउने साहसी विद्रोही नारीका रूपमा सम्झन्छ। तर उनको जीवन एउटा धार्मिक महिलाको कथा मात्र होइन, यो अन्याय, अन्धविश्वास, सामाजिक विभेद र निरङ्कुश शासनविरुद्ध सत्यको पक्षमा उभिएकी एक असाधारण नेपाली महिलाको जीवनगाथा हो। उनले आफ्ना वाणीमार्फत धर्मको नाममा फैलाइएका विकृति, जातीय विभेद, भ्रष्टाचार, शोषण र सत्ताको अन्यायमाथि निर्भीक प्रहार गरिन्। त्यसैले उनको जीवनलाई केवल धार्मिक आन्दोलनका रूपमा होइन, सामाजिक न्याय र मानवीय स्वतन्त्रताको आन्दोलनका रूपमा पनि बुझ्न आवश्यक छ।
आज योगमायाको चर्चा गर्दा एउटा महत्त्वपूर्ण कुरा सम्झनुपर्छ। उनका जीवनसँग सम्बन्धित केही तथ्य, जस्तै जन्मवर्ष, वैवाहिक जीवनका केही घटनाहरू, जलसमाधिमा सहभागीको सङ्ख्या आदि विभिन्न स्रोतमा फरक फरक रूपमा उल्लेख भएका पाइन्छन्। यसको मुख्य कारण राणा शासनले उनको आन्दोलन र त्यससँग सम्बन्धित अभिलेखहरू लामो समयसम्म दबाएर राख्नु हो। त्यसैले अनुसन्धानकर्ताहरूले मौखिक परम्परा, उपलब्ध अभिलेख र उनका अनुयायीहरूले सुरक्षित राखेका सामग्रीका आधारमा उनको जीवन पुनर्निर्माण गरेका छन्।
१.१ पूर्वी नेपालको एउटा सामान्य गाउँबाट सुरु भएको असामान्य यात्रा
योगमायाको जन्म पूर्वी नेपालको भोजपुर जिल्लाको नेपालेडाँडा (मझुवाबेँसी) क्षेत्रमा ब्राह्मण परिवारमा भएको मानिन्छ। अधिकांश आधुनिक अनुसन्धानले उनको जन्म सन् १८६७ अप्रिल १ (विसं २०२४) मा भएको स्वीकार गर्छ, यद्यपि केही विद्वान्ले केही वर्षको अन्तरसहित फरक मत पनि दिएका छन्।पिता श्रीलाल उपाध्याय र माता चन्द्रकला न्यौपानेका तीन सन्तानमध्ये एक र एक मात्र छोरीका रूपमा जन्मिएकी थिइन् ।
त्यो समयको नेपाली समाज अहिलेको भन्दा पूर्णतः भिन्न थियो। महिलालाई शिक्षाको अधिकार थिएन। बालविवाह सामान्य सामाजिक प्रचलन थियो। विधवा महिलाको जीवन अत्यन्त कष्टकर मानिन्थ्यो। जातीय विभेद, छुवाछूसत, बहुविवाह, अन्धविश्वास र धार्मिक आडम्बरले समाजलाई गाँजेको थियो। देशमा राणा शासनको कठोर नियन्त्रण थियो, जहाँ जनताले शासनको आलोचना गर्ने स्वतन्त्रता पाउँदैनथे। यिनै सामाजिक र राजनीतिक परिस्थितिका बिच योगमायाले आँखा खोलिन्।
बाल्यकालदेखि नै उनी असाधारण जिज्ञासु, संवेदनशील र आध्यात्मिक स्वभावकी थिइन् भन्ने विवरण विभिन्न अनुसन्धानमा पाइन्छ। औपचारिक शिक्षा प्राप्त गर्ने अवसर नपाए पनि उनी श्रवण, मनन र अनुभवका माध्यमबाट जीवन बुझ्ने प्रयत्न गर्थिन्। पछि उनका वाणीहरू शिष्यहरूले सङ्कलन गरेका कारण उनी स्वयम् निरक्षर भए पनि गहिरो दार्शनिक चेतनायुक्त स्रष्टाका रूपमा स्थापित भइन्।
१.२ बालविवाह, विधवापन र सामाजिक बन्धन
योगमायाको बाल्यकालमै अर्थात् उनी सात वर्षकी हुँदा नै मनोरथ कोइरालासित विवाह गरियो। त्यसबेला बालविवाह सामाजिक कर्तव्यजस्तै मानिन्थ्यो। तर विवाहको केही समयपछि नै उनका पति बितेको उल्लेख धेरै स्रोतमा पाइन्छ। यससँगै उनको जीवनमा अर्को कठोर अध्याय सुरु भयो।
त्यतिबेला विधवा महिलाले रङ्गीन लुगा लगाउन, गहना लगाउन, स्वतन्त्र रूपमा हिँडडुल गर्न वा पुनर्विवाह गर्न पाउँदैनथ्यो। उनीहरूको जीवन सामाजिक अपमान र कठोर नियन्त्रणभित्र सीमित हुन्थ्यो। यस्तो अमानवीय व्यवस्थालाई योगमायाले आफ्नै जीवनमा भोगिन्।
तर उनी सामान्य महिलाजस्तै नियतिलाई स्वीकार गरेर बसिनन्। अन्यायलाई भाग्य ठान्नुको सट्टा उनले त्यसलाई प्रश्न गर्न थालिन्। यही प्रश्न गर्ने स्वभाव नै पछि उनको सम्पूर्ण आन्दोलनको आधार बन्यो।
१.३ परम्परासँग पहिलो विद्रोह
योगमायाको जीवनमा अर्को महत्त्वपूर्ण मोड तब आयो, जब उनले समाजले निषेध गरेको बाटो रोजिन्। विभिन्न अनुसन्धानअनुसार उनी पछि घर छोडेर भारत (त्यतिबेला ब्रिटिस भारत) पुगिन्। त्यहाँ उनले नयाँ जीवन सुरु गरिन्, पुनर्विवाह पनि गरिन् भन्ने विवरण धेरै स्रोतमा भेटिन्छ, यद्यपि वैवाहिक घटनाक्रमका सूक्ष्म विवरणमा विद्वान्हरूबिच केही मतभेद छन्।
यस घटनाको ऐतिहासिक महत्त्व अत्यन्त ठुलो छ। त्यो युगमा एउटी विधवा महिलाले सामाजिक निषेध तोडेर आफ्नै निर्णय लिनु आफैँमा एउटा मौन विद्रोह थियो। उनले भाषण गरेर होइन, आफ्नै जीवनमार्फत परम्परालाई चुनौती दिइन्।
यही कारण धेरै आधुनिक अनुसन्धानकर्ताले योगमायालाई केवल धार्मिक व्यक्तित्व नभई आत्मनिर्णयको अधिकारको पक्षमा उभिएकी प्रारम्भिक नेपाली महिलाका रूपमा पनि व्याख्या गरेका छन्।
१.४ आध्यात्मिक यात्राबाट सामाजिक चेतनातर्फ
भारत बसाइका क्रममा योगमायाले विभिन्न साधुसन्त, आध्यात्मिक परम्परा र भक्तिमार्गसँग निकट सम्पर्क राखेको देखिन्छ। यस अवधिमा उनको धार्मिक चेतना अझ गहिरियो। तर उनको अध्यात्म संसारबाट भाग्ने अध्यात्म थिएन; त्यो समाजलाई नैतिक बनाउने अध्यात्म थियो।
उनले धर्मलाई कर्मकाण्डमा होइन, सत्य, न्याय र समानतामा खोजिन्। उनका विचारमा धर्मको अर्थ केवल पूजा, व्रत वा बाह्य आडम्बर थिएन; धर्म भनेको सत्य बोल्नु, अन्यायको विरोध गर्नु, लोभलालच त्याग्नु र सबै मानिसलाई समान दृष्टिले हेर्नु हो। यही विचार पछि उनका वाणीहरूको मूल स्वर बन्यो।
१.५ नेपाल फर्किएपछि देखिएको यथार्थ
आध्यात्मिक साधनापछि योगमाया पुनः आफ्नै जन्मभूमि फर्किइन्। तर उनले देखेको समाज पहिलेभन्दा अझ बढी पीडादायी थियो। शासनमा भ्रष्टाचार थियो। न्याय किनबेच हुन्थ्यो। धर्मका नाममा ढोँग मौलाएको थियो। जातीय विभेदले मानिसलाई विभाजित गरेको थियो। महिलाको अवस्था झन् दयनीय थियो।
योगमायाले के अनुभव गरिन् भने यदि धर्मले अन्यायलाई संरक्षण गर्छ भने त्यो धर्म होइन; यदि राज्यले सत्यलाई दण्ड दिन्छ भने त्यो राज्य धर्मराज्य हुन सक्तैन।
यही निष्कर्षले उनको जीवनलाई नयाँ दिशातर्फ मोड्यो।१.६ योगवाणीको प्रारम्भ योगमायाले आफ्ना अनुभूति, चिन्तन र सामाजिक दृष्टिलाई पद्यमय वाणीका रूपमा व्यक्त गर्न थालिन्। पछि उनका शिष्यहरूले ती वाणी सङ्कलन गरेर ‘सर्वार्थ योगवाणी’ नामक कृतिमा सुरक्षित गरे। यो नेपाली साहित्यको एउटा विशिष्ट कृति मानिन्छ। यसमा आध्यात्मिक अनुभूति मात्र होइन, तत्कालीन समाजमाथिको तीक्ष्ण आलोचना पनि समेटिएको छ।
उनका वाणीहरूमा बारम्बार केही मूल विषय दोहोरिन्छन्—
- सत्यको खोज,
- अन्यायको प्रतिरोध,
- भ्रष्टाचारको विरोध,
- जातीय विभेदको अस्वीकरण,
- धर्मको शुद्ध स्वरूप,
- शासकको नैतिक दायित्व,
- र मानव समानताको आग्रह।
यसैले धेरै साहित्यकारले योगवाणीलाई केवल भक्तिकाव्य नभई सामाजिक प्रतिरोधको काव्य पनि मानेका छन्।
१.७ योगमायाको व्यक्तित्व किन असाधारण थियो ?
योगमायालाई बुझ्न उनको समय बुझ्न आवश्यक छ। त्यो युगमा महिलाले सार्वजनिक रूपमा शासनको आलोचना गर्नु त परको कुरा, आफ्ना विचार खुला रूपमा व्यक्त गर्न पनि कठिन थियो। तर योगमायाले निर्भीक भएर सत्य बोलिन्।
उनको आन्दोलन कुनै राजनीतिक दलले सञ्चालन गरेको आन्दोलन थिएन। उनीसँग सेना थिएन, धन थिएन, सरकारी शक्ति थिएन। उनीसँग थियो– नैतिक साहस, आध्यात्मिक विश्वास र सत्यप्रतिको अटल निष्ठा।
त्यसैले आधुनिक अनुसन्धानले उनलाई केवल धार्मिक साध्वीका रूपमा सीमित नगरी आवाजहीन (सबाल्टर्न–Subaltern) वर्गको प्रतिरोध, प्रारम्भिक नारीवादी चेतना र सामाजिक न्यायका स्वदेशी चिन्तकका रूपमा पुनर्पाठ गर्न थालेको छ।
२.आन्दोलनको विस्तार, धर्मराज्यको माग र राणा शासनसँगको प्रत्यक्ष टकराव
२.१ साधनाबाट आन्दोलनतर्फको यात्रा
योगमायाको जीवनमा एउटा समय यस्तो आयो, जहाँ उनको आध्यात्मिक साधना व्यक्तिगत मुक्तिको साधनामा मात्र सीमित रहेन। उनले अनुभव गरिन्– जब समाज अन्याय, अत्याचार, भ्रष्टाचार र अन्धविश्वासले ग्रस्त हुन्छ, तब मौन साधना मात्र पर्याप्त हुँदैन, सत्यलाई समाजका बिचमा उच्चारण गर्नुपर्छ। यही विन्दुदेखि उनको जीवनले नयाँ मोड लियो। उनी एकान्तकी योगिनीबाट समाजलाई जागृत गराउने अगुवाका रूपमा रूपान्तरित भइन्।
उनले आफ्ना अनुयायीहरूलाई केवल भजनकीर्तन वा तपस्यामा सीमित राखिनन्। उनीहरूलाई सत्य बोल्न, अन्यायको विरोध गर्न, लोभ–मोह त्याग्न र धर्मलाई कर्मकाण्डभन्दा माथि उठाएर नैतिक जीवनका रूपमा ग्रहण गर्न प्रेरित गरिन्। उनका वाणीहरूमा बारम्बार दोहोरिइरहने आग्रह थियो– मानिसको उद्धार बाह्य कर्मकाण्डले होइन, सत्य आचरणले हुन्छ। यही कारण उनका प्रवचन र पदहरू क्रमशः सामाजिक जागरणका दस्ताबेज बन्दै गए।
२.२ मझुवाबेँसीको आश्रम : वैकल्पिक समाजको अभ्यास
भोजपुरको मझुवाबेँसी क्षेत्रमा योगमायाले आफ्ना अनुयायीहरूसँग मिलेर एउटा आध्यात्मिक केन्द्र स्थापना गरिन्। यो केवल ध्यानसाधनाको स्थान थिएन; यहाँ समानता, अनुशासन, श्रम, नैतिकता र सामूहिक जीवनको अभ्यास गरिन्थ्यो।
आश्रममा जातका आधारमा मानिसको मूल्याङ्कन गरिँदैनथ्यो। सबैलाई श्रम गर्नुपर्ने, सादगीपूर्ण जीवन बिताउनुपर्ने र नैतिक आचरण पालना गर्नुपर्ने नियम थियो। योगमायामा समाज परिवर्तनको सुरुआत व्यक्तिको आचरणबाट हुन्छ भन्ने विश्वास थियो । त्यसैले उनले सुधारको पहिलो प्रयोग आफ्नै समुदायभित्र गरिन्।
यस आश्रममा महिलाहरूको सक्रिय सहभागिता विशेष उल्लेखनीय थियो। तत्कालीन नेपाली समाजमा महिलालाई धार्मिक नेतृत्व गर्ने अवसर प्रायः थिएन। तर योगमायाले महिलालाई केवल अनुयायी होइन, आन्दोलनका सक्रिय सहभागीका रूपमा उभ्याइन्। यही कारण कतिपय अनुसन्धानकर्ताले उनको आन्दोलनलाई नेपालको प्रारम्भिक महिला–नेतृत्वको सामाजिक आन्दोलनका रूपमा व्याख्या गरेका छन्।
२.३ योगवाणी : कविताभित्रको सामाजिक विद्रोह
योगमायाका वाणीहरू पढ्दा के स्पष्ट हुन्छ भने ती मात्र आध्यात्मिक अनुभूतिको अभिव्यक्ति होइनन्। तिनमा तत्कालीन शासन, धार्मिक विकृति, सामाजिक असमानता र नैतिक पतनप्रति गहिरो असन्तोष व्यक्त भएको छ।
उनले धर्मका नाममा हुने शोषणलाई धर्मको अपमान मानेकी थिइन्। उनका अनुसार साँचो धर्म भनेको सत्य, न्याय, करुणा र समानताको मार्ग हो। यदि राज्य अन्यायमा आधारित छ भने त्यो धर्मराज्य हुन सक्तैन।
उनका पदहरूमा प्रतीकात्मक भाषा, लोकलय, आध्यात्मिक रूपक र सामाजिक आलोचना एकैसाथ पाइन्छ। यही विशेषताले सर्वार्थ योगवाणीलाई नेपाली साहित्यमा अद्वितीय बनाएको छ। धेरै साहित्यिक समीक्षकले यसलाई भक्तिकाव्य र प्रतिरोध साहित्यको सङ्गमका रूपमा मूल्याङ्कन गरेका छन्।
२.४ धर्मराज्य : योगमायाको केन्द्रीय अवधारणा
योगमायाको आन्दोलनको सबैभन्दा चर्चित पक्ष हो– धर्मराज्यको माग।
आज "धर्मराज्य" भन्ने शब्द सुन्दा कतिपयले त्यसलाई धार्मिक शासन वा कुनै एक धर्मको राज्यका रूपमा बुझ्न सक्छन्। तर योगमायाको अवधारणामा धर्मराज्यको अर्थ फरक थियो। उनका लागि धर्मराज्य भनेको–
- न्यायमा आधारित शासन,
- शासकको नैतिक उत्तरदायित्व,
- भ्रष्टाचारमुक्त प्रशासन,
- सबै नागरिकप्रति समान व्यवहार,
- धर्मको नाममा हुने शोषणको अन्त्य,
- सत्य र न्यायको स्थापना।
यसरी हेर्दा उनको धर्मराज्य आधुनिक भाषामा नैतिक सुशासन (Ethical Governance) को अवधारणासँग धेरै नजिक देखिन्छ। त्यसैले समकालीन अनुसन्धानले योगमायाको आन्दोलनलाई केवल धार्मिक आन्दोलन नभई नैतिक–राजनीतिक आन्दोलनका रूपमा पनि व्याख्या गरेको छ।
२.५ नारी समितिको स्थापना र सामाजिक सुधारको अभियान
योगमायाको नेतृत्वमा महिलाहरूको सङ्गठित सहभागिता बढ्दै गयो। धेरै ऐतिहासिक अध्ययनमा सन् १९१८ तिर 'नारी समिति' गठन भएको उल्लेख पाइन्छ, जसलाई नेपालका प्रारम्भिक महिला–सङ्गठनहरूमध्ये एक मानिन्छ। यसको उद्देश्य महिलामाथि हुने सामाजिक अन्यायको विरोध गर्नु, बालविवाह, बहुविवाह र विधवामाथिका अमानवीय प्रथाविरुद्ध जनमत तयार गर्नु तथा समानताको पक्षमा आवाज उठाउनु थियो। यद्यपि यस संस्थाको संरचना र कार्यपद्धतिबारे उपलब्ध अभिलेख सीमित भएकाले केही विवरण अनुसन्धानकै विषय बनेका छन्।
त्यो समय कुनै महिलाले सार्वजनिक रूपमा समाजसुधारको नेतृत्व गर्नु आफैँमा ऐतिहासिक घटना थियो। योगमायाले महिलालाई घरभित्रको मौन अस्तित्वबाट सार्वजनिक जीवनतर्फ डोर्याउने साहसिक पहल गरिन्।
२.६ चौबीस बुँदे मागपत्र : सत्यको औपचारिक दस्ताबेज
योगमायाको आन्दोलनको अर्को महत्त्वपूर्ण उपलब्धि थियो–राणा प्रधानमन्त्री जुद्धशमशेरसमक्ष प्रस्तुत गरिएको २४ बुँदे मागपत्र।
यस मागपत्रमा समाज र राज्यमा विद्यमान अन्याय हटाउनुपर्ने, महिलामाथिको विभेद अन्त्य गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, धर्मका नाममा हुने शोषण रोक्नुपर्ने तथा न्यायपूर्ण शासन स्थापना गर्नुपर्नेजस्ता विषय समेटिएको उल्लेख विभिन्न अध्ययनमा पाइन्छ। यद्यपि मूल मागपत्रको पूर्ण आधिकारिक प्रतिलिपि आज सहज रूपमा उपलब्ध छैन, त्यसैले विभिन्न लेखकहरूले यसको सार फरक–फरक शैलीमा प्रस्तुत गरेका छन्।तर मूल रूपमा निम्नलिखित विषय समेटिएको कुरा बुझ्न सकिन्छ :
१.राज्यमा न्यायपूर्ण शासन स्थापना गरियोस्।
२.भ्रष्टाचार र घुसखोरी पूर्ण रूपमा अन्त्य गरियोस्।
३.गरिबमाथिको शोषण रोकियोस्।
४.जातीय छुवाछूत र भेदभाव समाप्त गरियोस्।
५.महिलामाथिको सामाजिक दमन अन्त्य गरियोस्।
६.बालविवाह प्रथा रोकियोस्।
७.बहुविवाह प्रथा अन्त्य गरियोस्।
८.विधवामाथि गरिने अमानवीय व्यवहार हटाइयोस्।
९.धार्मिक आडम्बर र ढोँग अन्त्य गरियोस्।
१०.धर्मका नाममा हुने शोषण रोकियोस्।
११.सत्य बोल्नेहरूलाई दण्ड होइन, सम्मान दिइयोस्।
१२.झुट र अन्यायलाई राज्यले संरक्षण नगरोस्।
१३.न्याय प्रणाली निष्पक्ष बनाइयोस्।
१४.धनी–गरिब सबैलाई समान कानुनी व्यवहार होस्।
१५.जागिर र पदमा घुस प्रणाली अन्त्य गरियोस्।
१६.राज्यका कर्मचारीहरू इमानदार बनाइयोस्।
१७.जनताको करको दुरुपयोग बन्द गरियोस्।
१८.धर्मराज्यको स्थापना गरियोस् (नैतिक शासन आधारित राज्य)।
१९.सत्य र धर्मअनुसार शासन सञ्चालन गरियोस्।
२०.महिलालाई शिक्षा र सम्मानको अधिकार दिइयोस्।
२१.सामाजिक अन्धविश्वास हटाइयोस्।
२२.जनतालाई बोल्ने स्वतन्त्रता दिइयोस्।
२३.राज्यले जनताको पीडा सुन्ने व्यवस्था बनाओस्।
२४.यदि सुधार सम्भव छैन भने सत्यको अन्तिम निर्णय स्वीकार गरियोस् (नैतिक चेतावनी/अन्तिम आग्रह)।Top of Form
यस मागपत्रको विशेषता के थियो भने यसले व्यक्तिगत लाभको माग गरेको थिएन। न पदको माग थियो न सम्पत्तिको। यसको केन्द्रमा सम्पूर्ण समाजको नैतिक रूपान्तरण थियो।
२.७ राणा शासनसँग पहिलो प्रत्यक्ष संवाद
योगमायाको आन्दोलनको प्रभाव बढ्दै गएपछि राणा शासन पनि यसप्रति सजग हुन बाध्य भयो। ऐतिहासिक विवरणअनुसार योगमाया र उनका प्रतिनिधिहरूले शासनसँग संवाद गर्ने प्रयास गरे। एक समय प्रधानमन्त्रीबाट सुधारको आश्वासनसमेत प्राप्त भएको उल्लेख पाइन्छ। तर व्यवहारमा अपेक्षित परिवर्तन भएन।
कथन र कर्मबिचको यही अन्तरले योगमायालाई निकै निराश बनायो। उनले महसुस गरिन्– शासन परिवर्तनको भाषा बोल्छ, तर व्यवहारमा अन्यायलाई नै निरन्तरता दिन्छ।
२.८ आन्दोलन किन शक्तिशाली बन्दै गयो ?
योगमायाको आन्दोलनसँग धेरै मानिस किन जोडिए ? यसका केही स्पष्ट कारण देखिन्छन्। पहिलो, उनले जनताको वास्तविक पीडालाई आवाज दिइन्। दोस्रो, उनले कुनै हिंसात्मक विद्रोहको बाटो अपनाइनन्; नैतिक प्रतिरोधलाई आन्दोलनको आधार बनाइन्। तेस्रो, उनका आफ्नै जीवनले उनका विचारलाई विश्वसनीय बनाएको थियो। उनले जुन आदर्शको प्रचार गरिन्, त्यही आदर्शलाई आफ्नो जीवनमा पनि लागू गरिन्।
यिनै कारण उनका अनुयायीहरू क्रमशः बढ्दै गए। पूर्वी नेपालका विभिन्न गाउँमा उनका वाणी मौखिक रूपमा फैलिन थाले। यसले शासनलाई पनि चिन्तित बनायो किनकि नैतिक आधारमा उभिएको आन्दोलनलाई बल प्रयोगले सजिलै रोक्न सकिँदैनथ्यो।
३. सत्यको आन्दोलन र सत्ताको असहजता
योगमायाको आन्दोलन क्रमशः एउटा सामान्य धार्मिक समूहको सीमाभन्दा धेरै माथि उठिसकेको थियो। भोजपुरका गाउँहरूमा सुरु भएको सत्य, न्याय र धर्मराज्यको अभियान पूर्वी नेपालको विभिन्न क्षेत्रमा फैलिन थाले
