भक्तपुर सांस्कृतिक सम्पदाले भरिपूर्ण ऐतिहासिक नगर
असार २२, २०८३, सोमबार | साँझ ०४:५६ बजे | 30
इशानेश्वर महादेव मन्दिर उद्घाटन तथा महादेव मूर्ति प्रतिष्ठापन कार्यक्रम सम्पन्न
भक्तपुर, असार २२ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका–१ स्थित ऐतिहासिक इशानेश्वर महादेव मन्दिरको उद्घाटन र महादेवको मूर्ति प्रतिष्ठापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका–१ को समग्र विकासका लागि स्वास्थ्य चौकी, सम्पदा संरक्षण, सडक तथा विद्यालय स्तरोन्नतिलगायतका पूर्वाधार निर्माणमा निरन्तर काम गर्दै आएको बताउनुभयो ।
उहाँले मन्दिर पुनर्निर्माणको कार्यमा सुरुमा संघ सरकारको २० लाख रुपैयाँ सहयोगबाट प्रारम्भ भएको र अपुग रकम भक्तपुर नगरपालिकाले व्यवस्थापन गरी सम्पन्न गरिएको जानकारी दिँदै केन्द्र सरकार, नगरपालिका र स्थानीय बासिन्दाको सहकार्यबाट निर्माण सम्पन्न भएको मन्दिर पुनःनिर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर सांस्कृतिक सम्पदाले भरिपूर्ण ऐतिहासिक नगर भएकाले यस्ता सम्पदाले नगरलाई जीवन्त बनाइराख्ने बताउनुभयो । उहाँले सम्पदा संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै अब यस्ता संरचनाको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले २०८० सालमा शिलान्यास गरिएको मन्दिर आज पुनर्निर्माण सम्पन्न भई उद्घाटन गर्न पाउँदा गौरव अनुभूति भएको बताउँदै इशानेश्वर महादेव मन्दिर ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण रहेको बताउनुभयो । नवदुर्गा देवगण मध्यपुर थिमीमा ङालाकेगु जात्रामा जाँदा यस स्थानमा विश्राम गर्ने परम्परा रहेको जानकारी दिँदै नयाँ पुस्तालाई यस्ता सम्पदाबारे जानकारी गराउन सके सम्पदा संरक्षणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै निर्माणमा सहयोग गर्ने सबैप्रति कृतज्ञता प्रकट गर्नुभयो ।
वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले नेपाली शैलीमा पुनर्निर्माण गरिएको मन्दिर र पाटीले यस क्षेत्रको स्वरूप अझ आकर्षक बनेको बताउँदै नयाँ बस्तीको बीचमा रहेको यो सम्पदा स्थानीय धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद कोइरालाले मन्दिर स्थापना तथा पुनर्निर्माण प्रक्रियाबारे जानकारी गराउँदै आय–व्यय विवरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार उपभोक्ता समितिमार्फत सम्पन्न पुनर्निर्माण कार्यको अनुमानित लागत ८९ लाख रुपैयाँ रहेकोमा ७५ लाख ६९ हजार रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो । कार्यक्रममा उपभोक्ता समितिका सदस्य सम्झना प्रेमीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा मन्दिर पुनर्निर्माणमा आर्थिक तथा भौतिक सहयोग पु¥याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान समेत गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
