मध्यपुर थिमि विष्णुकुण्ड परिसरको गरियो सफाई
बैशाख १७, २०८१, सोमबार | विहान ११:२८ बजे | 30
मध्यपुर थिमि । समृद्ध मध्यपुर समाजद्धारा मध्यपुर थिमि नपा ४ विष्णुकुण्ड परिसरमा सरसफाई गरिएको छ । समृद्ध मध्यपुर समाजका संयोजक कृष्णलाल साहुखलको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वमन्त्री एवं निवर्तमान सांसद महेश बस्नेतले समृद्ध मध्यपुरका लागि आफु सांसद हुँदा गरेका विकास निर्माणका कार्यहरुको चर्चा गर्दै राजनीतिमा प्रतिस्पर्धा तर विकास निर्माणमा एकता भन्ने आफ्नो नीतिलाई व्यवहारिक बनाउने प्रयास गरेको बताउनु भयो । पूर्वमन्त्री बस्नेतले मध्यपुर थिमि एवं समग्र भक्तपुरको भौतिक विकास निर्माणका लागि सकारात्मक सोच र चिन्तनका साथ अघि बढिरहेको भन्दै नयाँ वर्षको शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशकी सांसद शकुन्तला श्रेष्ठले समृद्ध मध्यपुरको लागि प्रत्येक वडाबाट योजना आएमा आगामी बजेटमा रकम विनियोजन गर्न सहज हुने भन्दै मथिनपाका सबै वडाबाट वैशाख मसान्त भित्रमा योजनाको माग गर्नुभयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले सम्पदा पुर्ननिर्माण, संरक्षण एवं सरसफाई कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै जापानिज् रिकिसि प्रविधिद्धारा कम्पोष्ट मल बनाउने स्थल बन्द गर्ने वर्तमान मथिनपाका जनप्रतिनिधिहरुको निर्णय विरुद्ध अदालतमा न्यायिक आन्दोलन सुरु भएको जानकारी दिनुभयो । निवर्तमान नगरप्रमुख श्रेष्ठले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ वर्तमान नगरपालिकाका जनप्रतिनिधिहरु अघि बढेको तर्क गर्दै विकास निर्माणमा सबै सँग सहकार्य, सहमति र समन्वय हुनुपर्नेमा जोड दिनुभयो । महिला नेतृ रती थापा श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त शुभकामना आदानप्रदान कार्यक्रम अघि कार्यक्रमका वक्ताहरु, समृद्ध मध्यपुर समाजका पदाधिकारी सदस्य एवं स्थानीय बासिन्दाले ऐतिहासिक विष्णुकण्ड परिसरमा सरसफाई गर्नु भएको थियो । दिनेश जयनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेशका निवर्तमान सांसद शशिजंग थापा, नेकपा एमाले भक्तपुरका जिल्ला सचिव मोहनविर श्रेष्ठ लगायतका वक्ताहरुले समृद्ध मध्यपुर समाजको कार्यको प्रशंसा गर्दै वर्तमान अवस्थामा सम्पदा संरक्षणलाई निरन्तरता दिँदै सम्पदा र संस्कृतिलाई पर्यटक मार्फत आयआर्जनसँग जोड्नुपर्ने बताउनु भयो । विष्णुकुण्डल परिसरमा भएको सरसफाई एवं शुभकामना आदानप्रदान कार्यक्रममा अनेमसंघ भक्तपुरकी अध्यक्ष उत्तरा नेपाल, राजनीतिज्ञ एवं समाजसेवी चन्दन कृष्ण श्रेष्ठ लगायतका स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो ।
फाेटाेमा हेर्नुहाेस्...