नेपालमा मोहन वैद्य र नारायणमान बिजुक्छे बाहेक वामपन्थी छँदै छैनन्
बैशाख ३, २०८१, सोमबार | दिउँसो ०१:५६ बजे | 5
नेपालमा ४ जना (जीवितमा मोहन वैद्य र नारायणमान बिजुक्छे) बाहेक वामपन्थी छँदै छैनन्। वामपन्थी दर्शन र व्यवहार विपरीत आचरण भए पनि अधिकांश नेपालीलाई यो शब्द भने रुचिकर छ। अगाडि पछाडि कम्यूनिष्ट थेगो लगाएका मात्रै होइन नेपाली काँग्रेस पनि वामपन्थी नै हो। काँग्रेस व्यक्तिगत स्वतन्त्रता सहितको वामपन्थी मान्यता राख्ने दल हो। बीपी नै अन्ताराष्ट्रिय समाजवादी मञ्चका नेता थिए। जयप्रकाश नारायणहरूसँग त उनको मोर्चा नै थियो।
आफूलाई वामपन्थी भनेर चिनाउने र राष्ट्रवादी भनेर प्रस्तुत गर्ने सबै नेपालीमा यो समस्या छ। अधिकांश नेपालीमा यो शब्दको धङधङी छ। शिक्षक, अध्यापक, पत्रकार, लेखक, विश्लेषक, बुद्धिजीवी, साहित्यकार सबैमा यो रोग छ। त्यति मात्रै होइन नेपालमा आईए पढ्दा नेविसंघ वा अखिलमा लागेका पछि बेलायती महारानीका सुरक्षा सम्हालेका गोर्खा सैनिकमा पनि त्यस्तो धारणा भेटिन्छ।
अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता पुँजीवादी देशमा बसोवास गर्ने नेपालीमा पनि यो मनोभावना देखिन्छ। नेपाल त्यागेरै पुँजीवादी देशको सुविधालाई सहज मान्ने तर नेपालमा आफ्नै नेता (काँग्रेस र कम्यूनिष्ट) ले बदमासी गर्दा चुपचाप बस्ने पनि छौँ।
यसो हुनुमा छिमेकी देश भारतको राजनीतिक प्रभाव छ। भारतमा जवाहरलाल नेहरू वामपन्थी हुन्। लामो समय कँग्रेसको एकछत्र प्रभाव भारतीय राजनीतिमा रह्यो। नेपाली पढ्न जाने ठाउँ कोलकाता, दार्जीलिङ, वाराणसी हुन् वा काम गर्न जाने सीमावर्ती राज्य हुन्, सबैमा कँग्रेसकै शासन थियो। नभए कँग्रेसबाट फुटेका दलहरूको सत्ता थियो।
भारतीय नेताहरूलाई गणेशमान सिंहका घर चाक्सीबारीमै बोलाएर नेपालमा नाकाबन्द गर्न आग्रह पनि गरेकै हौँ। चन्द्रशेखरलाई अघि लगाएर पुतलीसडकमा पनि जुलुस लगाएकै हौँ। त्यही मित्रशक्ति भएकैले त्यो वेलामा भाकपा महासचिव सुरजित सिंहदेखि कंग्रेसका नेताहरूलाई कडा नाकाबन्दी लगाउन अनुरोध गरेकै हौँ।
हाम्रा सीमावर्ती राज्य उत्तर प्रदेश (२०५८ सालसम्म उत्तराखण्ड समेत), पश्चिम बंगाल र विहार राज्यमा उनीहरूकै सरकार थियो।
उत्तर प्रदेशमा विसं १९९३ सालदेखि २०४८ सम्म कँग्रेसको सत्ता थियो। त्यसैबाट चोइटिएका सपा र बसपा जस्ता दल आए। त्यसपछि भाजपा आयो। हामीले सपा र बसपालाई जातिवादी भनेनौँ। भाजपालाई भने अतिवादी भन्यौँ। त्यस्तै प्रकृतिका जातिवादी सपा र बसपालाई जातिवादी भन्दैनौं। उनीहरू वामपन्थी धारका भएकाले हामीले जोगाउन खोज्यौँ।
विहारमा विसं १९९३ सालदेखि २०४६ सम्म कँग्रेसको सत्ता थियो। त्यसपछि त्यतैबाट उछिट्टिएका राजद र जदयूका लालु र नीतीशको सत्ता छ। अर्को छिमेकी पश्चिम बंगालमा विसं २००४ सालदेखि २०३४ साल असारसम्म कँग्रेसको सत्ता थियो। त्यसपछि २०३४ असारदेखि २०६८ वैशाखसम्म भारतीय कम्यूनिष्ट पार्टीको राज रह्यो। त्यसलगत्तै २०६८ जेठदेखि हालसम्म तृणमूल कँग्रेसको सत्ता छ। तृणमूल पनि कँग्रेसबाट फुटेर बनेको हो।
भारतका ती तीनवटै राज्यका मीडिया, विश्लेषण, विचार, साहित्य, दृष्टिकोणको धङधङी हामीमा छ। नेपालमा २००७ होस् वा २०४६ वा २०६३ का परिवर्तन हुन्। त्यो प्रभावभन्दा हामी बाहिर निस्कन सकेनौँ। छिमेकमा मक्किइसकेका मान्यता र दृष्टिकोण बोकेर बसेका छौँ।
किसानले एक दशकसम्म उखुको मूल्य पाउँदैननन्, काठमाडौँमा पटक पटक महिनौँ धर्ना कस्छन्। समाजवादी मान्यता राख्ने दलका सरकार हुन्छन्। हामी बोल्दैनौँ। सरकारले गोपालहरूलाई दूध बेचेको पैसा ६ महिनासम्म नदिँदा बोल्दैनौँ। समाजवादी विचारका अनुयायी आफ्नै समाजवादी सरकारलाई सम्झाउन सक्दैनौँ। अझै 'अंकल हो' भन्ने गीतको मजा लिन्छौँ। तिनको बारेमा बोल्दैनौँ।
त्यस्तो मानसिकताका पत्रकार, नेता, साहित्यकार, विश्लेषक, शिक्षक, अध्यापक, बुद्धिजीवी त ९० प्रतिशत छौँ। त्यस्ता मक्किएका यिनका मान्यतालाई जनस्तरबाटै प्रतिवाद गरौँ।