नेपाली नाटकमा विचारधारात्मक पक्षको चर्चा
चैत २६, २०८०, सोमबार | दिउँसो ०३:१५ बजे | 60
काठमाडौं, चैत २५ गते
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाटक विभागद्वारा ‘नेपाली नाटकमा विचारधारात्मक पक्ष’ विषयक समीक्षात्मक गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्व तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीको प्रमुख आतिथ्यतमा प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबार समीक्षात्मक गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा डा. अशोक थापाले ‘नेपाली नाटकको विचारधारात्मक प्रश्न’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले नेपाली नाटकको पृष्ठभूमिको संक्षिप्त चर्चा गर्दै आध्यात्मिकता, प्रगतिशीलता, माक्र्सवादी विचार, मनोवैज्ञानिकता, नारीवाद, अस्तित्व–विसङ्गतिवाद, उत्तरआधुनिक लगायत विचारधाराहरु कसरी नाटकमा प्रवेशमा आए भन्नेबारे चर्चा गर्नुभयो । उहाँले यो कार्यपत्र शुरुवाती चरण मात्र भएकोले यसैमा आधारित रहेर ग्रन्थ पुस्तक निकाल्ने जमर्को गरिएको बताउनुभयो ।
उनको कार्यपत्रमाथि नाटक विषयकै अध्ययन तथा अनुसन्धान गरिरहेका भारती न्यौपाने र केशव अधिकारीले टिप्पणी गर्नुभयो । टिप्पणी गर्ने क्रममा दुवैले समग्र विचारधाराभन्दा पनि विशिष्टकृत विषयमा साघुँरो बनाएर अनुसन्धान लेखन कार्य अगाडि बढाउन सुझाव दिनुभयो ।
ललितकला प्रतिष्ठानका कुलपति हार्तम्छालीले पनि नेपाली समाज र युग अनुसार विचार धाराहरु निर्माण र अध्ययन हुनुपर्ने धारणा राख्नुभयो । कुलपति शर्माले नेपाली समाजको परिपक्ष अनुसार नेपाली नाटकहरुको विचारधाराहरु जन्मेको सुनाउँदै सबै कुरा समयको मागअनुसार आउने बताउनुहुँदै आगामी दिनमा यस्ता बहस तथा छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित रंगकर्मीहरु राजेन्द्र रिमाल, आशान्त शर्मा, केदार श्रेष्ठ, प्रभाकर न्यौपाने, गोविन्द सुनार लगायतले आप्mना भनाई राख्दै नाट्य क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
फाेटाेमा हेर्नुहाेस्...