सबैले अनुभव पाउने गरी काम गर्ने मन्त्री बज्राचार्यको प्रतिवद्धता
चैत २०, २०८०, मङ्गलबार | विहान ०२:२० बजे | 75
काठमाडौं । वागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यले प्राथमिकताका आधारमा अब युद्धस्तरमा कार्यक्षेत्रमा लाग्ने बताएका छन् । बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएसँगै मन्त्री बज्राचार्यले यस्तो भनेका हुन् । ‘गर्नुपर्ने कामहरु धेरै छन् । सबै काम र योजनालाई प्राथमिकताका आधारमा अगाडी बढाउँदै सबैले अनुभव पाउने गरी नतिजासम्म पु¥याउनेछु’ मन्त्री बज्राचार्यको भनाई हो ।
सर्वप्रथम भाषा विधेयकलाई कार्यान्वयनमा लैजान आफ्नो भूमिका रहने बज्राचार्यले भने । गत असोज २२ गतेको बागमति प्रदेश सभाको वैठकबाट प्रदेशमा सरकारी कामकाजको भाषा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको थियो । जुन विधेयकले बागमति प्रदेशको सरकारी कामकाजमा नेपालभाषा र तामाङ भाषा पनि प्रयोग गर्न बाटो खोलेको छ । ‘भाषा विधेयक पारित भइसकेको अवस्थामा अब यसलाई कार्यान्वयनमा लग्ने जिम्मेवारी मेरो काँधमा आएको छ । प्रभावकारी रुपमा भाषा विधेयक कार्यान्वयनमा लग्न मेरो भूमिका रहनेछ’ मन्त्री बज्राचार्यले योजना सुनाउँदै भने ।
अहिले आम नागरिकले सहकारी सम्वन्धमा ठुलै समस्या भोगिरहेको अवस्थामा सबैले अनुभव पाउने गरी यस समस्याको समाधान दिने प्रतिवद्धता पनि बज्राचार्यले व्यक्त गरे । यहाँको जात्रापर्व, मूर्त अमूर्त संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा अब बागमति प्रदेश सरकारको अहम् भूमिकाको साथमा सशक्त उपस्थिती रहने बज्राचार्यले भने । ‘हाम्रो पहिचान भनेकै स्थानीय संस्कृति जात्रापर्व हो र यसको संरक्षणको दायित्व प्रदेश सरकारको पनि हो । अब स्थानीय जात्रापर्व, संस्कृतिको संरक्षण प्रवद्र्धनमा बागमति प्रदेश सरकारको प्रत्यक्ष र सशक्त उपस्थिती रहनेछ’ बज्राचार्यले क्रमशः आफ्नो योजना सुनाउँदै लगे ।
देशको अर्थतन्त्र मजबुद बनाउन एउटा मुख्य आधार पर्यटन भएको हुँदा यस क्षेत्रमा ठोस योजनासहित अघि बढ्ने उनले भनेका छन् । यहाँका १३ जिल्लाका पर्यटकिय गन्तव्यको पहिचान र प्रवद्र्धन गर्दै पर्यटक भित्य्राउन ठोस योजना ल्याउने पनि उनले भनेका छन् ।
आफुलाई बधाई, शुभकामना व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै बज्राचार्यले अहिल्यै बधाई खाइहाल्ने समय आइनसकेको र नतिजा दिएरै मात्र बधाई खाने भनेका छन् ।