जिरी महोत्सवको धुमधाम तयारी


चैत १८, २०८०, आइतबार | विहान ०८:४५ बजे | 35


जिरी महोत्सवको धुमधाम तयारी

जिरी(दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीमा हुने जिरी महोत्सवको धुमधाम तयारी भइरहेको छ ।

दोस्रो जिरी महोत्सव २०८० को मिति नजिएसँगै जिरीमा महोत्सवलाई लक्षित गरी तीब्र तयारी भइरहेको हो । अहिले जिरी बजारलाई क्रिलीमिली बनाइएको छ भने एयरपोर्ट क्षेत्र नजिकै मिनी ताल सञ्चालनमा ल्याइएको छ । तल्लो एयरपोर्ट क्षेत्रमा पोखरीमा पानीलाई जम्मा गरेर करिब ६ फिट गहिराइको ताल बनाइएको हो । जिरीको लिंकनबजार क्षेत्रको सडक, पुल र बजार क्षेत्रमा झिलीमिली बत्ती सजाइएको छ भने युवा सञ्जाल जिरीले बजार क्षेत्रको सडक आसपास राष्ट्रिय झण्डा राखेपछि झनै बजारको श्रृङ्गार बढेको छ । आगामी सोमबार नगरपालिकाको आव्ह्वानमा बजार क्षेत्र र पर्यटकीयस्थलहरु, पार्कहरु सरसफाई गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवको उद्घाटन मिति नजिकिँदै गर्दा भव्य तयारी भइरहेको आयोजक जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो । जिरीमा आउने प्रमुख अतिथि, विशेष अतिथि लगायतका पाहुनाहरु र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको अन्तिम टुङ्गो लागिसकेको आयोजकले जनाएको छ । जिरी महोत्सवमा २९ जना कलाकारहरु आउनेछन् । आयोकले गत महिनादेखिनै महोत्सवको तयारी थालेको थियो । महोत्सवको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नुहुनेछ ।

महोत्सव चैत २३ गतेदेखि वैशाख २ गतेसम्म १० दिन चल्नेछ । नेपालको स्वीजरल्याड, सगरमाथाको प्रवेशद्धार समृद्ध जिरी निर्माणमा अर्गानिक कृषि, पर्यटन र उद्योग छन् आधार भन्ने नाराका साथ सुरु हुन लागेको महोत्सवको मुख्य उदेश्य जिरीमा बढी भन्दा बढी पर्यटक भित्र्याउनु रहेको छ । महोत्सवमा करिब एक करोड आम्दानी हुने र ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको जिरी महोत्सवले केहीवर्ष यता सुनसान जस्तै बनेको जिरी पुनःचलायमान हुने अपेक्षा गरिएको छ ।

जिरी उद्योग वाणिज्य संघ दोलखाको मुख्य आयोजना र जिरी नगरपालिकाको आयोजना तथा युवा सञ्जाल जिरीको सहआयोजना र स्थानीय छिमेकी पालिकाहरुको साझेदारमा हुन लागेको महोत्सवमा कृषि उपजहरुको प्रदर्शन र विक्री, हस्तकला, चित्रकला, वस्तुकलाको प्रदर्शन र विक्री, रमाइलो खेल तथा मनोरञ्जन, कलाकारहरुको बेजोड प्रस्तुती, सांस्कृतिक झाँकी प्रर्दशन, मौलिक खानाका परिकार, गुराँस, चिमाल, सुनाखरी, चौरी, वन्यजन्तु, हिमशृखला, चिया, लोक्ता, याकचिज, छुर्पी जस्ता उत्पादनको प्रत्यक्ष अनुभव गर्न पाइने छ । साथै पदयात्रा, प्याराग्लाइडिङ, वृत्तचित्र, वयस्क भलिबल प्रतियोगिता, किवी, रेन्वो ट्राउट र कालिज, साहित्य, साहित्यकार र विकास संवाद महोत्सवको प्रमुख आकर्षण रहनेछ ।

यसअघि जिरीमा १२ वर्षअघि २०६८ सालमा पहिलो जिरी महोत्सव भएको थियो । २०६८ साल चैत १७ देखि १९ गतेसम्म तीन दिन चलेको महोत्सव भव्यताको साथ सम्पन्न भएको थियो ।


Comments