यसरी सम्झियो किसान नेता ज्ञानबहादुर न्याइच्याईलाई (को हुन् न्याइच्याईसहित)


चैत १२, २०८०, सोमबार | विहान ०६:१८ बजे | 40


यसरी सम्झियो किसान नेता ज्ञानबहादुर न्याइच्याईलाई (को हुन् न्याइच्याईसहित)

ज्ञानबहादुर न्याइच्याईको जन्म सामान्य गरिब किसान परिवारमा विसं १९९२ वैशाख १५ गते भक्तपुरको भार्वाचो टोलमा भएको थियो । पिता पूर्णबहादुर र माता कृष्णमायाको जेठो सन्तानका रूपमा जन्मनुभएका न्याइच्याई जनताको सुख दुःखसँगै हुर्किनुभयो ।
गरिब किसान परिवार भएकोले उहाँले विद्यालयको औपचारिक शिक्षा पाउनुभएन । उहाँसँग गुरुको घरमा गई अध्ययन गरेको अनुभवमात्र थियो । २००२ सालमा बाजे कृष्णवीर न्याइच्याईको अकस्मात् निधनले परिवारमा समस्या उत्पन्न भयो । लगत्तै २००४ सालमा पिता पूर्णबहादुर न्याइच्याईको निधनले परिवारको अवस्था झनै दयनीय भयो ।
विधवा कृष्णमाया न्याइच्याईंको निम्ति जेठो छोरा ज्ञानबहादुर न्याइच्याई, माइलो काजीबहादुर न्याइच्याई, कान्छो गणेशबहादुर न्याइच्याई र १८ महिनाको छोरीको लालनपालन गर्न ठूलो चुनौती बन्यो । एकपछि अर्को पारिवारिक पीडा तथा दयनीय आर्थिक अवस्थाका कारण दूधे छोरीलाई घरमा छोडी खेती वा पराइ घरको मजदुरी गर्नु माता कृष्णमायाको बाध्यता बन्यो । कामको सिलसिलामा घर बाहिर रहँदा १८ महिनाको छोरीको निधन भयो । यसले आमा कृष्णमाया न्याइच्याईको मानसिक सन्तुलन गुम्न पुग्यो । त्यही अवस्थामा २०२२ सालमा आमा कृष्णमाया न्याइच्याईको निधन भयो ।
ज्ञानबहादुर न्याइच्याईको विवाह २०१२ सालमा भनपा वडा नं ६ बस्ने बिकुमाया दुवालसँग भएको थियो । २०१३ सालमा जन्मेको पहिलो सन्तान ज्ञानकाजीको कुकुरको टोकाइको कारण समयमा उपचार नपाएर २०२४ सालमा ९ वर्षको उमेरमा मृत्यु भएको थियो ।
ज्ञानबहादुर न्याइच्याई सबै समस्याहरूको समाधान आफैले गर्न गा¥हो हुने कुराबाट सचेत हुनुहुन्थ्यो । गरिब किसानहरूको सेवा गर्नुपर्दछ भन्ने भावनाको विकासले उहाँ वि.सं २००९ सालदेखि नै जनताको सेवामा सक्रिय हुनुभयो । उहाँको लगनशीलताले छिट्टै नै एक किसान कार्यकर्ताको रूपमा चिनिनुभयो । उहाँको कार्य र मेहनतको कारण नेपाल कम्युनिस्ट पार्टीले उहाँलाई २०१३ सालमा अखिल नेपाल किसान सङ्घको सदस्यता प्रदान ग¥यो । २०१३–१४ सालमा उहाँले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाउनुभयो ।
सङ्घको निर्देशनमा किसानहरूको हकहितका लागि उहाँ विभिन्न क्रियाकलापमा लाग्नुभयो । सोही सिलसिलामा गरिब किसानहरूको हकहितको विषयमा सांस्कृतिक गतिविधिमा सक्रिय हुनुभयो । एकदिन नाटक मञ्चनमा भाग लिँदा कमजोर भई उहाँ बेहोस हुनुभयो र एक महिनासम्म बिरामी हुनुभयो । उहाँको स्वास्थ्य सुधारका लागि मित्रहरू नारायणदास फाजु, आसबहादुर दुवाल र हरि शिल्पकारले आत्मीय सहयोग गर्नुभएको थियो ।
देशमा राणा शासनको अन्त र प्रजातन्त्र स्थापना भएको सात वर्ष भइसक्दा पनि जनताले वास्तविक प्रजातन्त्रको अनुभूति प्राप्त गर्नसकेनन् । त्यसकारण, प्रजातन्त्रको लागि आम निर्वाचनको माग गरी २०१४ सालमा भएको भद्र अवज्ञा आन्दोलनबाट उहाँ सक्रिय राजनीतिमा लाग्नुभयो । २०१५ सालमा भएको भूमि नापीमा पनि उहाँ किसानहरूको हितमा सक्रिय रहनुभयो । सङ्गठनको निर्देशनअनुसार २०१५ सालको आम निर्वाचनमा कम्युनिस्ट उम्मेदवार गणेशप्रसाद मानन्धरलाई जिताउन प्रचारप्रसारमा सक्रिय हुनुभयो । २०१६ सालमा भक्तपुरमा झाडाबान्ताको प्रकोप भएको थियो । त्यसबेला अखिल नेपाल किसान सङ्घको तर्फबाट स्वयम्सेवकको रूपमा खटिनुभयो र नथाकिकन बिरामीहरूको सेवा गर्नुभयो । २०१७ सालमा निर्वाचित सरकारको विघटन भयो र प्रजातन्त्र कुण्ठित भयो । उहाँले जनतामाझ प्रजातन्त्रको हत्याको विरोधमा भूमिगतरूपमा आफ्नो सक्रियतालाई कायम राख्नुभयो ।
तत्कालीन राजनैतिक अवस्थाबारे त्यसबेला कम्युनिस्ट नेताहरूमा फरक–फरक दृष्टिकोण आइसकेको थियो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँका साथ उहाँ प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थाभित्र पसेर जनताको सेवा गर्ने पक्षमा उभिनुभयो । २०१९ सालको चुनावमा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र प्रवेश गरी जनताको सेवा गर्ने पार्टी नीतिअनुसार उहाँ वडा सदस्यमा उम्मेदवार बन्नुभयो । प्रतिक्रियावादीहरूको जालझेल तथा गैरराजनैतिक क्रियाकलापबारे बुझ्न नसक्दा उहाँ निर्वाचनमा पराजित हुनुभयो । जनताको सेवा गर्न निर्वाचनमा पराजित भएर केही फरक पर्दैन । उहाँ अखिल नेपाल किसान सङ्घलाई जनताको घरदैलोमा पु¥याई जनताको सेवा गर्न समर्पित हुनुभयो ।
अखिल नेपाल किसान सङ्घको माध्यमद्वारा किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन ज्ञानबहादुर न्याइच्याई प्रयासरत हुनुहुन्थ्यो । २०२५ सालको भूमिसुधारलाई विभिन्न पार्टीका नेताहरू शाही भूमिसुधार भन्दै विरोध एवं बहिष्कारका नारा दिइरहेका थिए । अध्यक्ष नारायणमान बिजुक्छेँले बहुसङ्ख्यक किसानहरूको हित हुने भएको हुँदा २०२१ सालको भूमिसुधारलाई सही सदुपयोग गर्न निर्देशन दिनुभयो । खेत–खेतमा गएर खेत जोत्नेको नाम राखी मोहियानी हक कायम गर्न प्रचारप्रसारमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । निर्देशनअनुसार ज्ञानबहादुर न्याइच्याई कटुन्जे, गुण्डु, सिरुटार, बालकोट क्षेत्रमा किसानहरूको मोहियानी हक कायम गर्न महिनौँ खट्नुभयो । २०२१ सालको भूमिसुधारलाई सही सदुपयोग नगरेको भए आज भक्तपुरका अधिकांश किसानहरूको अवस्था तराईका हलिया र कमैयाहरूको जस्तै हुने थियो ।
२०२५ सालमा भारतले नेपालको सुस्ता क्षेत्रमा अतिक्रमण गरी कब्जा जमायो । भारतको त्यस विस्तारवादी नीतिको विरोधमा भक्तपुरका जनताले जुलुस निकाले । ज्ञानबहादुर त्यस सङ्घर्षमा सक्रिय रहनुभयो । २०२५ साल र २०२६ सालमा नवदुर्गा सहकारी संस्थाका पदाधिकारीविरुद्ध भ्रष्टाचारविरोधी आन्दोलन हुँदा पनि उहाँले सक्रिय भाग लिनुभएको थियो ।
बहुसङ्ख्यक किसानहरूको हित नचाहने सामन्ती सोचबाट अभिप्रेरित पञ्चायतले भूमिसुधार घोषणा गरेको थियो । प्रतिक्रियावादी शोषकहरूले विभिन्न बहाना बनाई मोहियानी हक खोस्ने अभियान चलाए । सङ्गठनको निर्देशनमा मोहियानी हक जोगाउन साँढे धपाउने आन्दोलन, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, मोही आन्दोलनलगायत कानुनी र गैरकानुनी आन्दोलनको नेतृत्व ज्ञानबहादुर न्याइच्याईलगायतले गर्नुभएको थियो । २०२७ सालमा भक्तपुरमा सामन्त वर्गको विरोधमा बाली काट्ने आन्दोलनमा भाग लिएको कारण उहाँलाई पञ्चायती सरकारले पक्राउ ग¥यो । सुरुमा चोरीको अभियोग लगाइयो । अदालतले बाली मुद्दामा चोरी नठहरिने फैसला दिएपछि सार्वजनिक सुरक्षा कानुनअन्तर्गत नख्खु जेलमा थुन्यो । चोरी अभियोगमा जिल्ला प्रहरी कार्यालयमा १४–१५ दिन र सार्वजनिक सुरक्षा कानुनअन्तर्गत नख्खु जेलमा उहाँ ३ महिना थुनामा पर्नुभयो । तर जेल, नेल र हतकडीले सङ्घर्षशील न्याइच्याईको सिद्धान्त र विचारलाई बाँध्न सकेन ।
नेपाल कम्युनिस्ट आन्दोलनमा देखिएको खोटा चिन्तनहरूको कारण अखिल नेपाल किसान सङ्घको नाउँबाट भइरहेको राजनैतिक गतिविधि २०२५ सालबाट नेपाल क्रान्तिकारी किसान सङ्घ र २०३१ सालबाट नेपाल मजदुर किसान सङ्गठनको नामबाट खुलेर राजनैतिक गतिविधिको सुरुआत भयो । सङ्गठनका अध्यक्ष नारायणमान बिजुक्छेँको भूमिगत भएका कारण उहाँकै निर्देशनमा सङ्गठनको गतिविधि गर्न ज्ञानबहादुर न्याइच्याईलगायतले सक्रिय भूमिका निभाउनुभएको थियो । त्यसै सिलसिलामा भएको सुस्ता आन्दोलन, अमेरिकाद्वारा गरिएको भियतनाममा गरिएको आक्रमणको विरोधमा पाकिस्तानी राष्ट्रपति जुल्फीकर अलि भुट्टोलाई फाँसी दिएको विरोधमा, निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधमा भएको आन्दोलनमा उहाँले सक्रिय भूमिका निभाउनुभएको थियो ।
जनआन्दोलनबाट जनमतसङ्ग्रहको घोषणापछि उहाँ बहुदलको पक्षमा सक्रिय हुनुभयो । २०३७ सालको जनमतसङ्ग्रहमा बहुदललाई जिताउन जनताको घरदैलोमा पुगी प्रचारप्रसारमा लाग्नुभयो । उहाँको रोचक र सरल भाषण शैलीले भक्तपुरका मतदाताहरूलाई बहुदलको पक्षमा मतदान गर्न निकै सघाएको थियो । तर, त्यसबेला अरू राजनैतिक दलका केही नेताहरूले कहिले बहिष्कार र कहिले विरोधका कारण झिनो मतले बहुदलको हार भएको थियो ।
२०३५ सालअगाडि भएका अमेरिकी साम्राज्यवादविरोधी र २०३५ सालपछाडि भएका रुसी सामाजिक साम्राज्यवादविरोधी गतिविधिहरूमा पनि उहाँ सक्रिय रहनुभयो । यसबाट उहाँ अन्तर्राष्ट्रिय भावनाले ओतप्रोत देशभक्त हुनुहुन्थ्यो भन्ने थाहा हुन्छ ।
२०२६ सालमा हैजा र झाडाबान्ताजस्ता रोग जिल्लाभरि फैलिएको थियो । बिरामी उपचार गर्न अस्पतालमा ठाउँको अभाव भएको थियो । हनुमन्ते खोला किनारमा रहेका पाटीहरूमा बिरामीहरूको उपचार भइरहेको थियो । रोगको महामारीकै कारण त्यसबेला घाटमा मुर्दा जलाउनेसम्म ठाउँको अभाव भयो । त्यस्तो अवस्थामा बिरामी उपचारका लागि ज्ञानबहादुर न्याइच्याई सक्रियरूपमा स्वास्थ्य स्वयम्सेवकको रूपमा खटिनुभयो । सोही घटनाका कारण भक्तपुर नगर पञ्चायतमा जनप्रतिनिधिको रूपमा प्रवेश गर्दा उहाँ सडक गल्लीमा आफै च्वाफी लिई सरसफाइमा लाग्नुभयो ।
यसरी भक्तपुरका गरिब किसानहरूको हकहितमा निरन्तर लागिपरेका कारण २०३९ सालको स्थानीय निर्वाचनमा पार्टीको तर्फबाट प्रधानपञ्चको उम्मेदवार बन्नुभयो । जनताको विश्वासले अत्यधिक मत पाई उहाँ विजयी हुनुभयो । प्रधानपञ्च भएदेखि नै भक्तपुरलाई सरसफाइमा दिएको विशेष जोडका कारण भक्तपुर नगर हालको अवस्थामा पुगेको हो । नगर पञ्चायतको निर्णय र गतिविधि जनतासमक्ष पारदर्शी गर्न भनपाले ‘पञ्चायत’ पत्रिका प्रकाशन ग¥यो । उहाँकै कार्यावधिमा नगरपञ्चायतले कक्षा ६ र ७ निःशुल्क गर्ने निर्णय गरेको थियो ।
आफ्नो क्षमताले भ्याएसम्म नगर पञ्चायतमा प्रधानपञ्च भई सेवा गर्नुभयो । भक्तपुर नगर पञ्चायतमा प्रधानपञ्च हुँदा उहाँले जर्मनीको १४ दिनको भ्रमण पनि गर्नुभएको थियो । नेपालभरका नगरहरूमा पहिलोपल्ट २०४३ सालमा नगर खेलकुद समिति गठन भयो, त्यो पनि उहाँकै अध्यक्षतामा ।
२०४४ सालकै स्थानीय निर्वाचनमा पार्टीको निर्देशनमा १७ वडाबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभयो र अत्यधिक मतले विजयी हुनुभयो । प्रधानपञ्च भइसकेको व्यक्ति वडाध्यक्ष हुनुपर्दा उहाँमा कुनै हिनताबोध भएन । उहाँ भन्नुहुन्थ्यो, “पार्टीले जो जहाँ उपयुक्त हुन्छ त्यहाँ त्यसैले काम गर्नुपर्छ, व्यक्तिगत महत्वाकाङ्क्षा राख्नुहुन्न ।”
२०४५ साल भदौ ९ गते राज्यस्तरबाट गरिएको भक्तपुर काण्डको सिलसिला राति १२ बजे पक्राउ पर्नुभयो र २० महिना जेल जीवन बिताउनुभयो । राष्ट्रिय जनआन्दोलनको सफलतापछि उक्त जाली मुद्दा खारेज भयो र अरू साथीहरूसहित उहाँ पनि मुक्त हुनुभयो ।
पञ्चायती सरकारले भक्तपुर काण्ड गरी तत्कालीन नेपाल मजदुर किसान सङ्गठन समाप्त पार्ने कुचेष्टा गरेको थियो । भक्तपुर काण्डको कारण नारायणमान बिजुक्छेँलगायत ६७ जनालाई ज्यान मुद्दामा फसाइएको थियो । सम्पूर्ण बन्दीहरूले जतिसुकै यातना दिँदा पनि सिद्धान्तमा विचलित नभइकन सहेका थिए । बन्दीहरूले पञ्चायत व्यवस्थाको अन्तका लागि भएको जनआन्दोलनलाई भित्रभित्रै सहयोग गरिरहेका थिए । अन्तमा, पञ्चायती व्यवस्था अन्त भयो र बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो ।
२०४६ चैत २६ गते बहुदलीय व्यवस्थाको घोषणापछि नेपाल मजदुर किसान पार्टीको नीति निर्देशनमा सङ्गठन विकास र विस्तार गर्न ज्ञानबहादुर न्याइच्याई निरन्तर खट्नुभयो । बहुदल पुनःस्थापनापछि भएको नेपाल मजदुर किसान पार्टी भक्तपुरको प्रथम जिल्ला सम्मेलनले उहाँलाई निर्विरोध जिल्ला अध्यक्ष निर्वाचित गरेको थियो ।
२०४९ सालको स्थानीय निर्वाचनमा पुनः भक्तपुर नगरपालिकाको मेयर हुनुभयो । मेयर भएदेखि उहाँले भक्तपुरलाई सफा, सभ्य र सांस्कृतिक नगरको रूपमा विकास गर्नमा निरन्तरता दिनुभयो । २०५० सालमा उहाँको कार्यकालमा भक्तपुर प्रवेश गर्ने पर्यटकसँग सेवा शुल्क लिन थालिएको थियो । नगर प्रमुख रहेको बेला २०५३ सालमा उहाँले बेलायतको बाथ नगरपालिकाको भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणबाट प्राप्त अनुभव उहाँले भक्तपुर नगरपालिकाको विकास निर्माण कार्यमा लगाउनुभयो ।
२०५४ सालको निर्वाचनमा उहाँ १७ वडाको वडाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँहरूको लगनशीलताले सभ्य सांस्कृतिक नगर बनाउन भक्तपुरका जनता उत्साहित छन् ।
उहाँले कुनै औपचारिक स्कूल र कलेजबाट डिग्री प्राप्त गर्नुभएको थिएन । तर, जनताका कार्यकर्ताका लागि जनता नै सबैभन्दा ठूलो विश्वविद्यालय हो र जनहितको सङ्घर्ष नै प्रयोगशाला हो भन्ने तथ्य जनताबाट उहाँले पाउनुभएको माया, स्नेह र आदरबाट पुष्टि हुन्छ । आफू औपचारिक शिक्षाबाट वञ्चित हुनुपरे पनि नयाँ युगलाई शिक्षित पार्न उहाँ विद्यालय र पुस्तकालय निर्माण गर्न टोल–टोलमा शिक्षालय खोली शिक्षा प्रचार गर्न सक्रिय हुनुभयो ।
पञ्चायतकालमा प्रधानपञ्चमा निर्वाचित भई नगरवासीहरूको हितमा भएको कार्य, नगर पञ्चायतको स्वायत्तता रक्षा गर्न गरेको प्रयास नगरवासीहरूप्रतिको निश्चल व्यवहार, भ्रष्टाचार र ढिलासुस्तीविरुद्धको कदम नागरिक भावना विकास गर्न र सरसफाइ निम्ति चलाइएको अभियानमा प्रधानपञ्च भएर पनि जनताको जुलुसमा सहभागी भएबाट उहाँ जनताप्रति प्रतिबद्ध जनसेवक हुनुभएको प्रमाणित हुन्छ ।
आफ्नो धार्मिक सहिष्णुताको परिचय उहाँले धर्मोदय सभा भक्तपुर जिल्ला समितिको उपाध्यक्ष भएर काम गरेबाट पुष्टि हुन्छ । उहाँ बाराही पीठ विकास समिति र बौद्ध दर्शन अध्ययन समाजका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै भाषा र साहित्यप्रेमी ज्ञानबहादुर न्याइच्याई भनपा–१७ स्थित गणेश निमाविको संस्थापक तथा ज्ञान विजय निमावि सञ्चालक समितिका सदस्य हुनुहुन्थ्यो । २०६६ सालमा सम्पन्न नेपाल क्रान्तिकारी किसान सङ्घको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित उहाँ २०६६ सालदेखि नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सल्लाहकारको रूपमा जीवनको अन्तिम दिनसम्म रहनुभएको थियो ।
नेमकिपा भक्तपुर नगर समितिमा अध्यक्षलगायत विभिन्न पदहरूमा रही जीवनभर उहाँले गरिब र काम गरिखाने वर्गका जनताको सेवा गर्नुभयो ।
एक किसान भए तापनि उहाँले मजदुर र अन्य काम गरी खाने वर्गको समस्या लिएर आवाज राख्दै आउनुभएको थियो । सामन्तवादको विरोधमा सम्पूर्ण थिचिएका किसान, मजदुर, निम्न तथा मध्यम वर्ग एकजुट हुनुपर्छ भन्ने उहाँको धारणा थियो । विदेशी पुँजीलाई प्राथमिकता दिने नीतिविरुद्ध राष्ट्रिय पुँजीपति वर्गलाई उठाउनुपर्छ भन्नुहुने ज्ञानबहादुर न्याइच्याई शोषणरहित समाज र राज्यविहीन विश्वको सिद्धान्तमा आस्था र विश्वास राख्नुहुन्थ्यो ।
नेपाल मजदुर किसान पार्टी गरिब कामदार जनताको उत्थानका लागि निरन्तर लागिपरेको छ । उहाँ परिवारबीच बरोबर भन्नुहुन्थ्यो, “सके पार्टी विकास र विस्तारमा हिँड, नभए समर्थन गर, विरोधमा कहिल्यै नजाऊ, बरु आ–आफ्नो पेसा गरेर खाऊ, अरूको कहिल्यै कुभलो नचिताऊ ।” उहाँको सरलता र सोझोपनका कारण विभिन्न व्यक्तिले फाइदा उठाउने प्रयास गरेका थिए । तर, साथीहरूको सतर्कताका कारण सफल हुन दिएन ।
उहाँ चिनी रोगले पीडित हुनुहुन्थ्यो । प्रेसरको पनि रोग थियो । खाना नरुच्ने, टाउको दुख्ने रोगका कारण लामो समयसम्म उहाँमा शारीरिक अस्थिरता देखाप¥यो । पछि ब्रेन ट्युमर भएको पुष्टि भयो । २०६७ फागुन १५ गते उहाँलाई ओम अस्पतालमा भर्ना गरियो । चिकित्सकहरूको सल्लाहअनुसार फागुन १९ गते अप्रेसन गरिएको थियो । चैत ९ गतेसम्ममा राम्रो प्रगति देखिएको थियो । २८ दिनको लामो उपचारपछि उहाँको स्वास्थ्यमा अचानक समस्या देखाप¥यो र २०६७ चैत १२ गते उहाँको दुःखद निधन भयो । ७५ वर्षको जीवनमा उहाँले देश र जनताको लागि गर्नुभएको योगदान सदा सम्झिरहनेछ ।

फाेटाेमा हेर्नुहाेस्...

यसरी सम्झियो किसान नेता ज्ञानबहादुर न्याइच्याईलाई (को हुन् न्याइच्याईसहित)
यसरी सम्झियो किसान नेता ज्ञानबहादुर न्याइच्याईलाई (को हुन् न्याइच्याईसहित)
यसरी सम्झियो किसान नेता ज्ञानबहादुर न्याइच्याईलाई (को हुन् न्याइच्याईसहित)
यसरी सम्झियो किसान नेता ज्ञानबहादुर न्याइच्याईलाई (को हुन् न्याइच्याईसहित)

Comments