भक्तपुरमा जामैजामले यात्रु र स्थानीयबासी हैरान
चैत ४, २०८०, आइतबार | विहान १०:४७ बजे | 65
योगिना श्रेष्ठ
भक्तपुर, चैत ४
नेपाल विद्युत प्राधीकरणले तार भूमिगत गर्ने र सडक निर्माणको कार्य भइरहेको हुँदा नगरकोट सडक जामैजामले अस्तव्यस्त वनेको छ । एकछिन पुग्ने गन्तव्यमा पुग्न धेरै लागेर भक्तपुरको कमलविनायकदेखि सल्लाघारीसम्मको नगरकोट सडक यात्रा गर्ने यात्रुहरु हैरान छन् ।
स्थानीय सवारी चालक टीकाराम सिमाछ्वा विशेष गरेर विहान र बेलुकको कार्यालय समयमा वढी जाम हुने गरेको अनुभब सुनाउँंछन् । दिनको अरु समयमा भन्दा बिहान १० बजेदेखि ११ बजेसम्म र साँझको ४ बजेदेखि ५ बजेसम्म अत्याधिक जाम हुने गरेको उनी सुनाउँंछन् ।
स्थानीय राकेश दुवाल जामले यात्रु मात्रै नभई स्थानीय पनि हैरान भएको बताउँंछन् । जामको अस्तव्यस्ताले सडक दुवैछेउबासीहरु वाक्कदिक्क भएको उनी बताउँंछन् ।
चोकमा फलफुल पसल राखेर बसेकी फेकनी चौधरी सडकमा खनेर माटो पसल अगाडि थुपारेका कारण ग्राहकहरुलाई आवतजावतमा समस्या देखिनुका साथै धुलोले गर्दा सबै पसलका सामान फोहोर हुने गरेको बताउँंछिन् ।
कमलविनायकदेखि व्यासीसम्म करिब १ किलोमिटरको दुरी रहेको छ । त्यो बाटो दुई लेनको छ । तर अहिले काम भइरहेका कारण एकतर्फी भएकाले साँघुरो छ । अरु वैकल्पिक बाटो नरहेको हुँदा विद्यार्थीहरूलाई विद्यालय पुग्नमा ढिलाई र बाटो काट्न समस्या भइरहेको छ ।
यता मात्रै नभई भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको अरनिको राजमार्ग खण्ड पनि विस्तार कार्य भइरहेको हुँदा त्यता पनि सडक निकै नै अस्तव्यस्त छ । धुलो र धुवाका कारण बालबालिकाहरूलाई विद्यालय आउन जान गाह्रो भइरहेको छ । विभिन्न श्वासप्रश्वास सम्बन्धी रोग लाग्ने त्रास फैलिएको छ । बिरामीलाई अस्पताल पु¥याउने उद्देश्यले हिँडेका एम्बुलेन्सहरू पनि समयमा अस्पताल पुग्न सकिरहेका छैनन् ।
फाेटाेमा हेर्नुहाेस्...