भक्तपुर कप फुटबलमा पाण्डुबजार एफसी विजयी ः पायो एक लाख २५ हजार नगद पुरस्कार
फाल्गुन २६, २०८०, शनिबार | विहान ११:३९ बजे | 50
भक्तपुर । तेस्रो भक्तपुर कप फुटबल प्रतियोगिता २०८० पाण्डुबजार फुटबल क्लव (एफसी) पाण्डुबजार भक्तपुरको पोल्टामा परेको छ । भक्तपुर युवा टिम भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढी भक्तपुरको आयोजनामा
शनिबार भएको फाइनल खेलमा सामाजिक युथ क्लव कोटेश्वर काठमाडौंलाई पराजित गरी पाण्डुबजार विजयी हुन सफल भएको हो । पाण्डुबजारले ३—२ गोलले जित हासिल गरेका हो ।
खेल सुरु भएको पहिलो ६ मिनेटमै पराजित सामाजिककोतर्फबाट जर्सी नं १० का डीवी चौधरीले गोलको सुरुवात थालेका थिए । तर पनि सामाजिकले नतिजा आफनो हात पार्न सकेन । त्यसपछि खेल सुरु भएको २१ औ मिनेटमा विजयी पाण्डुबजारकोतर्फबाट जर्सी नं ७ का विवेक कवांले गोल गरी खेल बराबरीमा पुगेको थियो । त्यसपछि रोमाञ्चक रुपमा अघि वढेको खेलमा फेरि पाण्डुबजारकै उही बिबेकले पहिलो हाफकै २८ औं मिनेटमा थप एक गोल गरी विजय यात्रा तय गरेका थिए । त्यसपछि खेलको ३४ औं मिनेटमा विजयी पाण्डुबजारकै जर्सी नं ४ का सतिश सुवालले पुन एक गोल गरी विजयी सुनिश्चित जस्तै बनाएका थिए । तर जितको थालनी गरेको पराजित सामुदायिकबाट जर्सी नं ९ का रोशन राईले एक गोल फर्काउन सफल भएका थियो । त्यसपछिबाट दुैवै टिमकोतर्फबाट कुनै गोल हुन सकेन र ३—२ गोलबाट पाण्डुबजारले कप चुमे ।
प्रतियोगितामा प्रथम हुन सफल पाण्डुबजार टिमले नगद रु एक लाख २५ हजारससहित टफी प्राप्त गरे । दोश्रो हुन बाध्य सामाजिकले ६५ हजार रुपैयाँ नगद पुरस्कार र टफी प्राप्त गरे । उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा भएको थियो ।
प्रतियोगितामा कुल १६ वटा टिमहरुको सहभागिता रहेको थियो । त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए । भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोलीहरु प्रतिस्पर्धामा सहभागी रहेका थिए । अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको बताए ।
प्रतियोगिताको उत्कृष्ट गोल किपरका रुपमा सामाजिक युवा क्लवका शुशिल कार्की, बेष्ट डेफेण्डरको रुपमा पाण्डुबजारका सुर्दशन श्रेष्ठ, बेष्ट मिड फिडरको रुपमा सामाजिक युथ क्लवका सन याका, बेष्ट स्टाइकर पाण्डुबजारकै विवेक कवां, बेष्ट कोच पाण्डुबजारका रुपेन अवाल भएका थिए ।
प्रतियोगितामा उत्कृष्ट दर्शकलाई पनि पुरस्कृत गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट दर्शकका रुपमा किरण सितिखु, मञ्जु घिसिंग, मनिता मोक्तान र सुनिल देउलालाई पुरस्कृत गरिएको थियो । प्रतियोगिता फागुन १६ गते शुक्रबारदेखि सुरु भएको थियो ।
पुरस्कार वितरण समारोहमा विशेष अतिथि वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, आयोजक टिमका अध्यक्ष केशव त्वानाबासु, सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांसहितले बधाई दिएका थिए । साथै आयोजक टिमका संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवं टिमका सल्लाहकार उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसीसहितका अतिथीहरुले विजयीहरुलाई पुरस्कार वितरण गरेका थिए । सो अवसरमा प्रतियोगिता सञ्चालन गर्न आर्थिक भौतिक सहयोग गर्ने संघसंस्था र महानुभावहरुलाई आयोजकहरुको तर्फबाट प्रशंसापत्र वितरण भएको गरिएको थियो ।
यसअघि प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए ।
प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट खेलाडीको रुपमा सामाजिक युथ क्लवका ओसन राई घोषित भएका थिए भने फाइनल खेलसँगै प्रतियोगिताको उद्यीमान खेलाडीको रुपमा सामाजिक युथ क्लवका रोशन राई, उत्कृष्ठ खेलाडीको रुपमा विजेता पाण्डुबजारका इब्राहिन फोफोना घोषित भएका थिए ।
फाेटाेमा हेर्नुहाेस्...