खानेपानी मन्त्रीलाई सांसद सुवाल र मेयर प्रजापतिले भने, खानेपानीको जिम्मा स्थानीय तहलाई दिऔ
मंसिर २०, २०८०, बुधबार | दिउँसो १२:१७ बजे | 55
भक्तपुर । खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची आयोजनाको दिगो समाधानका विषयमा पृष्ठपोषण संकलनको लागि काठमाडौं उपत्यकाका सांसद तथा नगर प्रमुखहरुबीच आज मन्त्रालयको सभाकक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौं उपत्यकाको खानेपानी समस्या हल गर्न सरकार गम्भीर रहेको बताउँदै खानेपानीको समस्या समाधान संघ, प्रदेश र स्थानीय तहको साझा दायित्व भएको बताउनुभयो । उहाँले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचना बिना उपत्यकामा खानेपानी सरल रुपमा वितरण गर्न सम्भव नभएको बताउनुभयो ।
उपत्यकाका प्राकृतिक खानेपानी स्रोतको संरक्षणमा स्थानीय तहको क्रियाशीलता आवश्यक भएको बताउँदै मन्त्री यादवले सम्बन्धित निकायहरुले पानीको स्रोत संरक्षणको लागि आ–आफ्नो तर्फबाट पहल गर्न जरुरी रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले खानेपानी स्रोत संरक्षण र पुर्वाधार निर्माणमा संघ सरकारकै महत्वपूर्ण भूमिका रहेको बताउँदै खानेपानी वितरण र असुलको जिम्मेवारी स्थानीय तहलाई दिइनुपर्ने बताउनुभयो । उपत्यकाभित्र स—साना खानेपानी आयोजनाहरु सञ्चालनको लागि पनि सरकारले पहल गर्नुपर्ने बताउँदै शासक दलहरुले आफ्नो घोषणापत्र कार्यान्वयन पक्षतिर गम्भीर भएर अगाडि बढे मात्र जनताको समस्या सम्बोधन हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले उपत्यकाबासीहरुलाई खानेपानीको सुनिश्चितताको लागि मेलम्चीको विकल्पमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।
संविधानले मौलिक हकअन्तर्गत राखेको स्वच्छ पिउने पानीको अधिकारलाई सरकराले प्रत्याभूति गराउनुपर्ने बताउँदै उहाँले सरकारले खानेपानीको स्रोत संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।
शिक्षा, स्वास्थ्य र खानेपानीलाई निजीकरण गर्न नहुने बताउँदै उहाँले उपत्यकाका नदी, खोला र पोखरी संरक्षणमा ध्यान दिएको भए मेलम्ची आयोजनामा ठूलो लगानी आवश्यक नहुने बताउनुभयो ।
काठमाडौं क्षेत्र नं. १० का सांसद राजन केसीले खानेपानी वितरण प्रणाली कमजोर भएकै कारण खानेपानीको समस्या विकराल बन्दै गइरहेको बताउँदै खानेपानीका प्राकृतिक स्रोतहरुलाई पनि संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले खानेपानी अभावका कारण स्थानीयहरु समस्यामा परिरहेको बताउँदै सरकार जवाफदेही ढंगले उपत्यकाको खानेपानी समस्या समाधानमा अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा काठमाडौं उपत्यकाका संघीय सांसदहरुले उपत्यकाभित्रका खानेपानी तथा सरसफाइ सेवा प्रदायक पुनर्संरचनामाथि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
त्यस्तै ललितपुर महानपाका उपप्रमुख मन्जली शाक्य, चन्द्रागिरी नपाका प्रमुख घनश्याम गिरी, बुढानिलकण्ठ नपाका प्रमुख, कागेश्वरी मनोहरा नपाका प्रमुख उपेन्द्र कार्की, किर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य, हेलम्बु गा.पा. का अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोलगायतले मेलम्ची खानेपानी आयोजना परिणाममुखी बनाउनुपर्ने, खानेपानीका नयाँ स्रोतहरुको सम्भावना अध्ययन गर्नुपर्ने, खानेपानीको प्राकृतिक मुहान संरक्षण गर्नुपर्नेलगायतका धारणा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव रामआधार शाहले कार्यक्रमको उद्देश्यमाथि प्रष्ट पार्नुभएको थियो भने सहसचिव तिरेशप्रसाद खत्रीले काठमाडौं उपत्यका खानेपानी लि. र आयोजना कार्यान्वयन निर्देशनालयको पुनर्संरचनासम्बन्धी र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जङ्की अहमद् अन्सारीले मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।