प्रधानमन्त्रीको नवदुर्गा दर्शनमा जे देखिए.....
असार २३, २०८३, मङ्गलबार | राति ०९:२१ बजे | 140
भक्तपुर
प्रधानमन्त्री बालेन्द्र शाह बालेन मंगलबार भक्तपुरको नवदुर्गा द्योछेंमा नवदुर्गाको दर्शनमा आएका छन् । भक्तपुर नगरपालिका वडा नं ९ नवदुर्गास्थित नवदुर्गा द्योछेंको जात्रा हेर्न तथा नवदुर्गाको दर्शनका लागि उनी यहाँं आएका हुन् ।
उनी जुता फुकालेर नवदुर्गा द्योछे पुगेका थिए । उनले माजो भने फुकालेनन् । प्रधानमन्त्रीलाई नवदुर्गा द्योछेंमा सल्लाहकार नारायणमान बनमाला लगायतले स्वागत गरेका थिए । साथै प्रधानमन्त्रीलाई बालकृष्ण बनमालालगायतले पनि सहजीकरण गरिदिएका थिए ।
प्रधानमन्त्रीले नवदुर्गा दर्शनको क्रममा नवदुर्गालाई नमस्कार गर्दै ढोगेका थिए । साथै उनले नवदुर्गा देवगणबाट प्रसाद पनि लिएका थिए । देवगणहरुले उनलाई चटामारी पनि दिएका थिए । साथै पासुका पनि दिएका थिए ।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित नवदुर्गा द्योछें (देवता) घरमा मंगलबार विशेष पूजा थियो । नवदुर्गा देवगणको विशेष पूजाको दिन प्रधानमन्त्री मन्दिर पुगेका हुन् । मन्दिरमा विहानैदेखि विशेष पूजा थियो । पूजा दिनभर चलेको थियो ।
नवदुर्गा दर्शनका क्रममा प्रधानमन्त्रीले नवदुर्गाको दर्शन गरेका थिए । साथै द्योछेंको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी लिएका थिए । नवदुर्गा देवगण जात्रा, परम्परागत नाच, तान्त्रिक संस्कार तथा स्थानीय समुदायले पुस्तौंदेखि जोगाउँदै आएको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका विषयमा समेत छलफल भएको जनाइएको छ ।
स्थानीय गुठियारहरूले नवदुर्गा परम्परा संरक्षणका लागि आवश्यक पूर्वाधार, द्योछेंको संरक्षण तथा जात्रा सञ्चालनका क्रममा देखिएका चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनीहरूले राज्यबाट थप संरक्षण, बजेट तथा प्राविधिक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले नेपालको मौलिक संस्कृति र परम्परा राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएकाले यस्ता सम्पदाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएको सहभागी देवगणहरुले बताए । उनले नवदुर्गा परम्परा केवल भक्तपुरको मात्र नभई सम्पूर्ण नेपालको सांस्कृतिक गौरव भएकाले यसको संरक्षण र प्रवद्र्धनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि बताए ।
दर्शनका क्रममा प्रधानमन्त्रीले द्योछें परिसरको अवलोकन गर्नुका साथै नवदुर्गा देवगणसँग सम्बन्धित विभिन्न सामग्री र परम्परागत विधिबारे जानकारी लिएका थिए । स्थानीय समुदायले पनि प्रधानमन्त्रीको उपस्थितिले नवदुर्गा परम्पराको राष्ट्रिय स्तरमा थप प्रचार–प्रसार र संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री मन्दिरभित्र प्रवेश गरी केही मिनेट मात्रै बसेका थिए ।
नवदुर्गा देवगण जात्रा नेपालकै सबैभन्दा लामो परम्परागत नाच तथा जात्रामध्ये एक मानिन्छ । यो जात्रा काठमाडौ उपत्यकासहित उपत्यकाका विभिन्न ठाउँंमा गरी वर्षमा नौ महिना प्रदर्शन गरिन्छ । प्रदर्शनमा जाने देवताहरु भलभल अष्टमीको दिन (यो वर्ष मंगलबार) मृत्यु हुने र दाहसंस्कार गर्ने परमपरा छ । यस क्रममा उनीहरुले लगाउने मुकुण्डो नजिकैको ब्रम्हायणीमा लगेर जलाइन्छ । यो काम राति भएको थियो । आगामी दसैंमा पुन नयाँ मुकुण्डो बनाएपछि देवता पुनः जन्म भएको मानिन्छ । त्यसपछि जात्रा पुनः सुचारु हुने चलन छ ।
फाेटाेमा हेर्नुहाेस्...
