नयाँं प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलाई स्वागत
मंसिर १८, २०८०, सोमबार | दिउँसो १२:२९ बजे | 50
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोलुखुम्बुबाट भक्तपुरमा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइलाई सोमबार एक कार्यक्रमबीच पुष्पगुच्छा, खादा र भादगाउँले टोपीले स्वागत गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शर्माको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रप्रअ भट्टराईलाई सिंगो नपा र नगरबासीहरूको को तर्फबाट स्वागत गर्दै भक्तपुरको विकासको सन्दर्भमा भक्तपुर नपाले अरुको भन्दा फरक शैली अपनाएकै कारण भक्तपुर आज देशकै लागि नमुना नगर बन्न सम्भव भएको बताउनुभयो ।
भक्तपुरमा देश विदेशका विशिष्ट व्यक्तिहरूको अध्ययन भ्रमण र अनुभव आदानप्रदानको सिलसिला अत्यन्त स्वागतयोग्य भएको बताउँदै उहाँले देशकै सानो नगरपालिका भएर पनि भक्तपुर नपाले देशलाई सकारात्मक सन्देश दिने महत्वपूर्ण नगरपालिकाको रुपमा आफ्नो परिचय स्थापित गरिरहेको बताउनुभयो ।
भक्तपुरलाई सँधै उत्कृष्ट नै बनाउने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरूले काम गर्दै आएको बताउँदै उहाँले भक्तपुरलाई अझ उचाइमा पु¥याउन नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख रजनी जोशीले जनतालाई सरल र सहज ढंगले सेवा प्रवाह गर्ने नगरपालिकाको उद्देश्य भएको बताउँदै नगरपालिकाको उद्देश्यअनुरुप कार्यसम्पादनमा साथ र सहयोग प्राप्त हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले भक्तपुर गौरवपूर्ण इतिहास बोकेको ठाउँ भएकै कारण आफ्नो कार्यक्षेत्रको रुपमा पाउँदा ज्यादै हर्षित भएको बताउनुभयो ।
सुशासन, आर्थिक पारदर्शिता र नागरिक सेवामा भक्तपुर अगाडि बढेको नपा भएको बताउँदै उहाँले भक्तपुरको मान मर्यादालाई अझ उँचो रहने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले पनि बोल्नुभएको थियो ।