दुर्गा प्रसाईंले आह्वान गरेको कार्यक्रम स्वयं उनकै नियन्त्रणमा नहुने आँकलन
मंसिर ७, २०८०, बिहीबार | विहान ०५:०६ बजे | 35
काठमाडौं । सुरक्षा निकायले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको कार्यक्रम स्वयं उनकै नियन्त्रणमा नहुने आँकलन गरेका छन्। सुरक्षा निकायसँग प्राप्त गुप्तचरी सूचनाअनुसार प्रसाईंको कार्यक्रममा विभिन्न अभीष्ट बोकेका छुट्टाछुट्टै स्वार्थ समूहको घुसपैठ पाइएको छ। जसले गर्दा बिहीबार (आज)को कार्यक्रम सुरक्षाका दृष्टिकोणबाट निकै संवेदनशील हुने सुरक्षा निकायहरूको विश्लेषण छ।
‘यसमा धेरै किसिमका स्वार्थ बोकेका, विभिन्न आन्दोलन र धर्नामा लागेका, विभिन्न राजनीतिक अजेन्डा बोकेका व्यक्तिको घुसपैठ छ। हुल्लडबाजदेखि भिजिलान्तेहरू पनि त्यहाँ छन्। उनीहरूका आ–आफ्नै मक्सद छन्,’ सुरक्षा निकायका एक उच्च अधिकारीले भने, ‘त्यसैले कार्यक्रममा स्वयं प्रसाईंजीको नियन्त्रण हुने देखिन्न।’ कसैको नियन्त्रणमा नहुने भिड निकै संवेदनशील हुने ती अधिकारीले बताए। ‘बुधबार नै पत्रकार सम्मेलनमा माइक खोसाखोस भएको थियो । यस्तोमा भीडमा माइक हानाहान, हुलहुज्जत नहोला भन्न सकिने अवस्था छैन,’ ती अधिकारीले भने।
सुरक्षा निकायले प्रसाईंको कार्यक्रमको तुलनामा राष्ट्रिय युवा संघलगायत एमालेका जनवर्गीय संगठनको कार्यक्रममा अलि कम जोखिम रहेको विश्लेषण गरेका छन्। ती सुरक्षा अधिकारी भन्छन्, ‘त्यो कार्यक्रम कम्तीमा एउटा देखिने संरचना हो । केही जोखिम भइहाले पार्टीको नेतासँग समन्वय गरेर स्थिति नियन्त्रणमा ल्याउन सकिन्छ ।’ त्यहाँ पनि घुसपैठ हुन सक्ने खतरा भने उत्तिकै रहेको ती अधिकारी बताउँछन्।