चाइल्ड नेपालले गरेको कार्यक्रममा ससाना बालबालिकाहरुले ठूल्ठूला मिडियाका सम्पादकहरुलाई सोधे ः हाम्रो समाचार खोइ ?


मंसिर ४, २०८०, सोमबार | दिउँसो १२:४६ बजे | 70


चाइल्ड नेपालले गरेको कार्यक्रममा ससाना बालबालिकाहरुले ठूल्ठूला मिडियाका सम्पादकहरुलाई सोधे ः हाम्रो समाचार खोइ ?

काठमाडौं । चाइल्ड नेपाल नामक बालबालिकाहरुको क्षेत्रमा काम गर्ने संस्थाले आइतबार राजधानीमा गरेको कार्यक्रममा ससाना बालबालिकाहरुले बालबालिकाका समाचार खोइ भनी प्रश्न तेर्साएका छन् । बालबालिकासम्वन्धीका समाचारहरुलाई मुलधारका मिडियाहरुले उचित ठाउँं नदिएको गुनासो उनीहरुले गरे । बालबालिकाका सवालका समाचारहरुलाई प्राथमिकता दिन उनीहरुले अनुरोध गरे । 
अन्तर्राष्टिय वाल अधिकार दिवस २०८० को अवसरमा बालबालिकाको नेतृत्वमा सम्पादक र बालबालिकाहरुवीचको अन्तरक्रियामा सहभागी बालबालिकाहरुले मिडियाको भूमिका व्यापक हुने भएकाले बालबालिकाका समाचारलाई महत्वका साथ स्थान दिन अनुरोध गरे । बालबालिकाहरुबाट सञ्चालित कार्यक्रममा उनीहरुले सहभागी सम्पादकहरुलाई आआफना प्रश्नहरु राखेका थिए । सधैं प्रश्न सोध्ने काममा रहने सम्पादक पत्रकारहरुलाई बालबालिकाले प्रश्न गर्ने र सम्पादक पत्रकारहरुले उतर दिने कार्यक्रमले कार्यक्रमलाई थप रोचक बनाएको थियो । 
कार्यक्रममा बालबालिकाहरुले पत्रपत्रिकामा बालबालिकामाथिको बलात्कार समाचार छापिने तर त्यसलाई फलओप नगरिदिंदा अपराधीले उन्मुक्ति पाउन सहज भइरहेको गुनासो गरे । उनीहरुले बालबालिकाले मातृभाषामा पढन पाउने अधिकार संविधानले सुनिश्चित गरे पनि त्यो कार्यान्वयनमा नआएको भन्दै यसलाई कार्यान्वयन गराउन तपाईहरुले केकस्तो भूमिका खेलिरहनुभएको छ भनी प्रश्न राखेका थिए । साथै उनीहरुले अपांगता भएका बालबालिका, तेश्रो लिंगी बालबालिकाहरुको पक्षमा समाचार सम्प्रेषण गरिदिन अनुरोध गरेका थिए । साथसाथै उनीहरुले बालबालिकाहरुले बुझने गरी पत्रकारको भाषामा अझ बढी सामान्यीकरण गरिदिन अनुरोध गरे । 
कार्यक्रममा रिपव्लिका दैनिकका सम्पादक कोषराज कोइराला, दी हिमालयन टाइम्स दैनिकका सम्पादक राजन पोखरेल, गोरखापत्रका कार्यकारी सम्पादक जुनारबाबु बस्नेत, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्हेवागवा, समूहका पूर्व अध्यक्ष एवं पत्रकार बविता बस्नेत, सामुदायिक रेडियो प्रशारक संघ (सीआईएन) का सम्पादक दीपक आचार्यलगायतले बालबालिकाहरुको जिज्ञासाहरुकोबारेमा आआफनोतर्फबाट उतर दिएका थिए । 
कार्यक्रमको उदघाटन आयोजक चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले गरेका थिए । सवै बालबालिकाका लागि सवै अधिकार मूल नाराका साथ यो वर्ष संसारभर अन्तर्राष्टिय वाल अधिकार दिवस मनाइँंदै छ । 

Comments