काठमाडौं । युवाहरुको एक समूहले कोरोना भाइरस कोभिड १९ ले समाजमा पारेका मनोबैज्ञानिक तथा सामाजिक प्रभाबबारे सुक्ष्म अध्ययनअनुसन्धान गरी विश्लेषण गर्नुपर्नेमा जोड दिएका छन् । मुलुकमा निम्तिने अनेक समस्याको समाधानका लागि निश्वार्थ रुपमा सक्रिय हुने सोचका साथ गठित कम्पास (युवाहरुको समूह) ले कोभिडका कारण समाजमा पारेका मनोसामाजिक प्रभाबको न्युनीकरण गर्नुपर्नेमा जोड दिए । यसैका लागि कम्पासले यस विषयमा विज्ञहरुसँंग छलफल गर्ने भएको छ । असोज २४ गते शनिबार साँंझ पाँंच बजे बेभिनार गर्न लागेको हो । ‘साइको सोसियल इम्प्याक्ट अफ कोभिड १९ एण्ड कोपिंग विट इट’ विषयमा सरोकारवालाहरुसँंग बेविनार अन्तक्र्रिया गर्न लागेको हो । यसका लागि कोभिड संक्रमित भई निको भइसकेको दुई जना विशिष्ट व्यक्तित्वहरु र एकजना मनोसामाजिक चिकित्सकसँंग अन्तक्र्रिया गर्न लागेको हो ।
कार्यक्रम तालिका अनुसार पहिलो चरणमा बक्ताको रुपमा कोभिड संक्रमण भई निको भइसकेका डा भोला रिजाल र सहप्राध्यापक डा रञ्जनकुमार दाहालले कोभिड संक्रमण हुँंदा आफनो घरपरिवार, छरछिमेक, नातागोता, आफन्त, समग्र समाजले आफूहरुप्रति गरेको व्यवहार, हेराइको दृष्टिकोण आदिकोबारेमा आआफनो अनुभब सुनाउनेछन् । त्यसपछि उनीहरुको कुरा सुनेर त्रिभुबन विश्वविद्यालय शिक्षण अस्पतालका क्लिनिकल मनोचिकित्सक डा सुरज शाक्यले विषयवस्तुमाथि पावर प्वाइन्टबाट प्रस्तुति दिनेछन् । कार्यक्रमको अन्तिम चरणमा सहभागीहरुसँंग छलफल अन्तरक्रिया पनि गरिने जनाइएको छ । कार्यक्रमको मोडेरटोरको रुपमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक कमलराज गोसाई रहनेछन् ।
कार्यक्रमको मुख्य उद्देश्य नै कोरोनाका कारण समाजमा व्याप्त गलत मनोसामाजिक दृष्टिकोणलाई परिवर्तन गर्नु रहेको कार्यक्रम संयोजक कम्पासका कमलराज गोसाईले बताए । ‘यसबाट हामीले कोरोनासँंग लडनसक्ने मनोबैज्ञानिक शक्तिको विकास हुने अपेक्षा गरेका छौं’, गोर्साइले भने ।
कार्यक्रममा देशभरका डाक्टर, इन्जिनियर, व्यवस्थापक, नीतिनिर्माता, शिक्षक, कर्मचारी, विद्यार्थी सवै तह तप्काका बुद्धिजीवीहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
भक्तपुरका युवाहरुको अगुवाइमा स्थापना गरिएको कम्पासमा सवै क्षेत्रका बुद्धिजीवीहरु संगठित भएको जनाइएको छ । हालको लागि पदविभाजन नगरिएको कम्पासमा देशैभरिका बुद्धिजीवीहरु रहेको बताइएको छ । कम्पासले भावी दिनमा पनि समसामाजिक विषयमा छलफल, अन्तरक्रिया गरी समस्या समाधान गर्नमा मद्धत गर्ने लक्ष्य लिएको छ ।