नेतृत्वको दूरदर्शिताकै कारण भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा परिवर्तन
कार्तिक १८, २०८०, शनिबार | विहान ११:३९ बजे | 30
भक्तपुर, १८ कार्तिक– भक्तपुर नगरपालिकाभित्रका शिक्षा, स्वास्थ्य र सहकारीसम्बन्धी जानकारी लिन हामी धराने काठमाडौंका संयोजक शक्ति थापाको नेतृत्वमा धरानका ४० जना प्रतिनिधिमण्डलले अवलोकन भ्रमण गरेको छ ।
भ्रमणको अवसरमा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेतृत्वको दूरदर्शिताकै कारण भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा परिवर्तन गर्न सम्भव भएको बताउनुभयो । उहाँले ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीका लागि सस्तो, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्न भक्तपुर नगरपालिका सफल भएको र त्यसबाट मानविकी, व्यवस्थापन, इन्जिनियरिङ, नर्सिङ, कानुनलगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरहेको बताउनुभयो ।
त्यस्तै ख्वप अस्पताल र घरदैलो नर्सिङ कार्यक्रमबाट जनताको सेवा गरिरहेको उहाँले बताउनुभयो । त्यस्तै गरिवले पैसाकै कारण पढ्न बञ्चित नहोस् भनी ५ सय विद्यार्थीले रु.५ लाखसम्म न्यूनतम व्याजदरमा ऋणस्वरुप प्रदान गरेको कारण हरेक घर शैक्षिक थलोको रुपमा विकास भैरहेको बताउनुभयो ।
खेलकुद गतिविधिहरु गर्न प्रत्येक वडाका टोल टोलमा खेलकुद सामग्री राखेको उहाँले बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष उकेश कवांले भक्तपुरका ख्वप अस्पताल, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., ख्वप इन्जिनियरिङ कलेज लगायत अवलोकन गराउनुभएको थियो ।
कार्यक्रममा ख्वप अस्पतालका नि.मेडिकल सुपरिटेण्डेन्ट मझेज प्रताप मल्लले अस्पतालले दिएको सेवा सुविधा र भक्तपुरका जनताको अपेक्षाबारे स्पष्ट पार्नुभयो । संयोजक शाक्यलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाका प्रकाशन र भक्तपुर बचतका अध्यक्ष निर्मल प्रजापतिले सहकारी प्रकाशन मायाको चिनोस्वरुप प्रदान गर्नुभएको थियो ।