राष्ट्रपतिको भक्तपुर सवारी ः धेरै थिए तर भक्तपुरका थिएनन्


कार्तिक ११, २०८०, शनिबार | दिउँसो १२:०१ बजे | 70


राष्ट्रपतिको भक्तपुर सवारी ः धेरै थिए तर भक्तपुरका थिएनन्

भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा शनिबार राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको नवदुर्गा मन्दिर सरिक भएका छन् । राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका तथा प्रसाद ग्रहण गरे । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेका हुन् । यसअघि राष्टपतीय व्यवस्थाभन्दा अघि राष्टप्रमुखका रुपमा राजा आउने चलन थियो । 
राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका बनमालाहरुले नवदुर्गाको पूजा एवं दर्शन गराएका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरेका थिए । राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो ग्रहण गरेका थिए ।
नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उनले दक्षिणासमेत प्रदान गरे । राष्ट्रपतिलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूलमाला तथा प्रसाद प्रदान गरेका थिए । 
राष्ट्रपति नवदुर्गा मन्दिर आउँदा भक्तपुरबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद किरण थापालगायतका प्रदेश सांसदहरु तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुहरु स्वागतमा बसेका थिए । साथै प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका विशिष्ट व्यक्तित्वहरु, समाजसेवी तथा मन्दिरसँंग सम्वन्धित विभिन्न व्यक्तिहरु पनि स्वागतका लागि बसेका थिए । तर भक्तपुर नगरपालिकाका प्रमुख, उपप्रमुख वडाअध्यक्षहरु त्था पार्टी प्रतिनिधिहरु कोही पनि थिएनन् ।
पूर्णिमासँंगै शनिबारदेखि यो वर्षको दसैं समाप्त भएको छ ।  आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दसैं समापन हुन्छ । 

Comments