टीकासँंगै लगाउने मोहनि ः यस्तो छ यसको नालीबेली


कार्तिक ६, २०८०, सोमबार | विहान १०:३२ बजे | 35


टीकासँंगै लगाउने मोहनि ः यस्तो छ यसको नालीबेली

केके मानन्धर
नेवार समुदायले बडा दशैंलाई पृथक ढंगले मोहनि नखः (चाड)को रूपमा मनाउँछन् । यो चाडमा कालो टीकाको विशेष महत्त्व छ । तोरीको तेल राखिएको पालामा दियो बालेर माटोको सलि (माटोको प्याला) घोप्ट्याएर कालो टीका अर्थात मोहनि सिन्हः तयार गरिन्छ । असत्यमाथि सत्यले विजय प्राप्त गरेको प्रतीक स्वरूप मोहनि सिन्हः अनिवार्य लगाउँछन् । विशेषगरी ढुकुटीमा तन्त्र साधना गरेर मोहनि सिन्हः तयार गरिन्थ्यो भन्नेछ । आजकाल भने तन्त्र साधनाको सवाल विश्वासमा निर्भर रहने कुरो भयो । त्यसो भएर पनि आम जनताको प्रत्येक घरमा हुने गोप्य कोठा (ढुकुटी)मा मात्र मोहनि सिन्हः तयार गर्नुपर्छ भन्ने रहेन । 
टीकाको आध्यात्मिक मान्यताः
मानव शरिरमा ७ वटा चक्र हुन्छन् । मानव शरिरको सबसे उच्च भाग अर्थात टुप्पी उम्रिने ठाउँमा अवस्थित सहस्रार चक्रदेखि ज्ञान चक्र, विशुद्ध चक्र, अनाहत चक्र, मणिपुर चक्र, स्वाधिस्ठान चक्र र मूलाधार चक्र यिनका उदाहरण हुन् । त्यसमध्ये ज्ञान चक्रलाई छोपिने गरी टीका चलाउनुपर्ने मान्यता रहेको छ । दुई आँखाबीचको भाग अर्थात निधारमा ज्ञान चक्र रहेको आध्यात्मिक मान्यता छ । त्यसोभएर ज्ञान चक्र छोपिने गरी टीका लगाउँछन् । कुतत्व, नकारात्मक ऊर्जा तथा खराव शक्ति ती ७ वटा चक्रमार्फत शरिरभित्र प्रवेश गर्नसक्ने भएर ती सम्पूर्ण चक्र अवस्थित भागलाई छोप्नुपर्ने मान्यता रहेको छ । त्यसैले अनुहारको भागमा रहेको निधार छोप्नको लागि टीका लगाउने परम्परा सुरू भएको विश्वास गरिन्छ ।
नेवार समुदायमा शिशुलाई घरबाट बाहिर लाने बखत आमाको पाईतालाको धुलो निकालेर टीका लगाउने परम्परा छ । यसको अर्थ पनि नकारात्मक वायु, ऊर्जा, शक्तिले शिशुलाई प्रभावित नगरोस् भन्ने मान्यता हो । शरिरमा रहेका ७ वटा चक्र मध्ये अधिकांस लुगा र टोपीले छोपिए पनि ज्ञान चक्र रहेको भाग खुल्ला रहने (अनुहारमा भएकोले) भएर सो भागलाई छोप्न टीका लगाउने परम्पराको सुरूआत भएको हो । अझ त्यसमाथि बालबालिकालाई निधारमा कालो टीका लगाइदिनाले भूतप्रेत, पिशाचको प्रभाव नरहने विश्वास गरिन्छ । सम्भवतः ज्ञान चक्र छोपिने गरि लगाउने कालो टीका मोहनि सिन्हःकै निरन्तरता हो ।
ऐतिहासिक विषयः
उहिले तीन शहरमा युद्ध चलिरहने भएकोले लाय्कू (दरबार)बाट उर्दी जारी भएसँगै आम जनता युद्धमा होमिनुपर्ने प्रावधान थियो (युद्धको लागि उद्योगी, व्यवसायी, किसानहरू दोस्रो प्राथमिकता पर्ने र श्रेष्ठ, जोशी, प्रधान, मास्के लगायतको क्षेत्री समुदाय अनिवार्य जानुपर्नु थियो) । त्यसो भएर पनि प्रत्येक जनताको घरमा गोप्य कोठा (ढुकुटी) हुन्थ्यो । सो कोठामा अनिवार्य रूपमा खड्ग, ढाल र अन्य हातहतियार हुन्थ्यो (अहिले त्यो अनिवार्य रहेन) । हातहतियारलाई पूजा गर्ने, वार्षिक रूपमा तयारी अवस्थाको रूजु गर्ने, तन्त्र साधना गर्ने र युद्धमा सामरिक दृष्टिले आफ्नो पल्लाभारी गरिरहन सोही बमोजिमको गोप्य तयारी रहन्थ्यो । त्यो तयारी ढुकुटीमा रहेको हुन्थ्यो । त्यहिभएर ढुकुटीमा जोकोहीलाई प्रवेश निषेध गरेको हुन्छ । एक त गोप्य कोठा, त्यसमाथि तन्त्र साधना गरेर हातहतियार भण्डारण गरिएको ठाउँ भएकोले यसको विशेषता नितान्त पृथक देखिन्छ । अझ विजयको प्रतीक स्वरूप लगाइदिने मोहनि सिन्हः (कालो टीका) मोहनि चाडमा अनिवार्य लगाउनुपर्ने भएकोले कुनै न कुनै कोणले यिनिहरूको सम्बन्ध रहेको हुनुपर्छ ।
मोहनि सिन्हः लगाउने तरिकाः
मोहनि चाडमा विशेष प्राथमिकता दिएर निधारमा मोहनि सिन्हःसँगै महिलाले शिरमा र पुरूषले दाहिने कानको चेपमा जमरा सिउरनुपर्ने मान्यता छ । हर्षउल्लासका साथ मोहनि सिन्हः अनिवार्य लगाएर मनाउने चाड भएरै मोहनि नखः हुनपुगेको कतिपयले तर्क गरेका छन् । भलै यो विषयमा थप अनुसन्धान आवश्यक छ ।
रातो टीकालाई समृद्धिको प्रतीक मानिन्छ । नेवार समुदायमध्ये कतिपयले निधारमा लगाउने भ्वइसिन्हः भन्दा ठीक माथिल्तिर मोहनि सिन्हः लगाउँछन् । कतिपयको सवालमा रातो टीकामाथि मोहनि सिन्हः लगाएको देखिन्छ । परिवारको जेष्ठ सदस्यबाट टीका थाप्ने यी दुईथरी चलन आआफ्नै मान्यतामा निर्भर छ । विशेषगरी चार वर्णमा विभाजित नेवार समुदायभित्र ब्राम्हण र क्षेत्री समूहले रातो टीका र बाँकी वैश्य र शुद्र समूहले भ्वइसिन्हः लगाउने प्रचलन देखिन्छ । बडा दशैंमा मान्यजनबाट कनिष्ठलाई टीका लगाइदिँदा दक्षिणा भने दिनुपर्दैन । 
चामललाई दहि र अबिरमा मोलेर तयार गरिने रातो टीका बडा दशैंमा निधारभर लगाउने परम्परा छ । दशैंको दसौंदिन अर्थात विजया दसमीदेखि ठूलावडाको घरघरमै पुगेर टीका थाप्ने र दक्षिणा लिने चलन खसआर्य तथा सीमित जनजातिहरूको रहेपनि आदिवासी नेवारहरूको थिएन । तर अहिलेभने मान्यजनबाट टीकासँगै दक्षिणा थाप्ने नयाँ चलनले व्यापकता पाएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

टीकासँंगै लगाउने मोहनि ः यस्तो छ यसको नालीबेली

Comments