आज कुछी भ्वय ः के हो कुछी भ्वयको अर्थ ?
कार्तिक ५, २०८०, आइतबार | विहान ०४:०७ बजे | 40
भक्तपुर । आज दसैंको आठौ दिन अर्थात महाअष्टमी । देशभरका नेवार समुदाय प्रत्येक वर्षजस्तै कुछी भ्वय (भोज) खाँंदैछन् । नेपाल भाषामा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज । यस अर्थमा कुछी भ्वयको अर्थ दुईमाने भोज हो । भोज खाँंदा नापेर दुई माना चिउराका साथ भोजका अन्य परिकार राखेर यो भोज खाने गरिन्छ । यो भोज खाँंदा थाल वा प्लेटमा नभई केराको पातमा राखेर खाने गरिन्छ ।
नेवार समुदाय प्रत्येक वर्ष दसैको महाअष्टमीको दिन कुछी भ्वय खाएर महाअष्टमी मनाउने गर्दछन् । केराको पातमाथि विभिन्न परिकार राखी कुछी भ्वय खाने गर्दछन् ।
केराको पातमा चिउरा, भटमाससहितका १२ थरीको परिकार राखी कुछी भ्वय खाने गरिन्छ । कुछी भ्वय खानको लागि तरकारीका परिकार मात्रै १२ थरीको चाहिन्छ । साथै छोयला पनि १२ टुक्रा गरिन्छ । केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौँला, भटमासलगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ ।
दुई माना चिउरा राखेर खाने भएकाले यस भोजको नाम कुछी भ्वय रहन गएको भनाइ भक्तपुरका केही स्थानीयको छ । तर संस्कृतविद् ओम धौँभडेलले कुलका सबै एक ठाउँमा भेला भएर खाने भोज भएकोले यसको नाम कुलछी भ्वय रहेको तर पछि अपभ्रंश भएर कुछी भ्वय हुन गएको बताउँछन् ।
नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय खानुपर्ने मान्यता रहेको छ । जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको उनले बताए ।
केराको पात शुद्ध हुनुका साथै वैज्ञानिक रुपमा स्वास्थ्यको लागि उपयुक्त भएकोले केरोको पात भ्वयमा प्रयोग हुने गरेको उनले बताए । त्यसैले आज भक्तपुरका चोकचोकमा केराको पातको व्यापार पनि हुँदैछ ।
महाअष्टमीको दिन बिहान नेवार समुदायले घरघरमा दसैँको मासु भित्याएका छन् । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रूपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्याउने प्रचलनअनुसार दसैँको मासु भित्याइएको हो । मासु भित्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई मन्छाएर मात्र घर भित्याउने प्रचलन रहेको छ ।
यो भोज खाँंदा सपरिवार लहरै जेष्ठता अनुसार बसेर खाइन्छ । अरु जुनैबेलाको भोजमा आवश्यकता अनुसार चिउरा लिएर खाने गरे पनि यो भोजमा भने अनिच्छाए पनि दुईमाना नै नापेर चिउरा राखेर भोज खानुपर्ने चलन छ । यही कारण यसलाई कुछी भ्वय भनिएको बताइन्छ ।