“शब्दसागरका मोती” कृतिका प्राप्तिहरू
असोज १६, २०८०, मङ्गलबार | विहान ०७:३८ बजे | 45
प्रा. डा. कृष्णप्रसाद दाहाल
त्रि.वि पाटन, संयुक्त क्याम्पस
९८४१७२४०६७
परिचय
डा. इन्दुल केसी समयको एउटा नाम हो । आनो असीको दशक पार गरिसकेका उनी उमेर हेर्दैनन् । मात्र काम हेर्छन् । कामका लागि हुटहुटी रहन्छन् र अरुलाई पनि हुट्हुटाइरहन्छन् । आनो पारिवारिक काममा जति सचेत छन् त्यति नै समाजसेवा र साहित्यमा पनि उत्तिकै जागरुक छन् । अहिलेसम्म आफ्नै परिश्रमका आधारमा बाँचेका छन् तर भाषा साहित्यमा खर्च गर्न किञ्चित लोभ गर्दैनन् । कहिले काहीँ खल्तीमा पैसा हुँदैन तर योजना चाहिँ थुप्रै बनाउँदै हिँड्छन् । यही विशेषताले गर्दा डा. इन्दुलका शुभेच्छुकहरु मित्रताको डोकोमा अटाई नअटाई छन् । कोरोना भन्दैनन्, डेंगु भन्दैनन्, ओछ्यान लगाएर नढलेसम्म कतै हिँड्न बाँकी राख्दैनन्। बस, इन्दुलले प्राप्त गरेको सातुसामल भन्नु यही नै हो ।
इन्दुललाई एउटा मात्रै आयामबाट पर्गेल्न सकिँदैन । उनलाई भिन्न–भिन्न आयामिक चस्माद्वारा पर्गेल्नुपर्ने हुन्छ । धेरैओटा प्राप्ति जोडिएर एउटा इन्दुल केसी बनेको हो । उनी कवि हुन् । कथाकार, पत्रकार र पूर्वप्रशासक पनि हुन् । समाजसेवी हुन् । योग गुरु हुन् । धार्मिक अभियन्ता हुन् । राजनीति गरेर हिँदैनन् तर प्रजातन्त्रका कट्टटर प्रहरेदार हुन् । राष्ट्रियता र देशभक्तिको भावना उनका नसा–नसामा प्रवाहित भइरहेको हुन्छ । राष्ट्रिय अस्मितालाई सधैँ शिरमा राखेर हिँडिरहने इन्दुलको कमाई भन्नु यही नै हो । यसैमा उनी सन्तुष्ट छन् । अरुले सम्मान देओस् नदेओस् तर योग्य मानिसको खोजी गरेर अनि उनीहरुलाई सम्मानको माला लगाउन उनी सधैँ आतुर भइरहन्छन् । यस आलेखमा डा. इन्दुल केसीको शब्दसागरका मोती कृतिका सम्बन्धमा चर्चापरिचर्चा गरिएको छ ।
शब्दसागरका मोती कृतिका प्राप्ति
शब्दसागरका मोती डा. इन्दुल केसीको समीक्षात्मक कृति हो । यसमा विविध विषयका पुस्तकहरुमाथि लेखिएका आलेखहरु समावेश गरिएका छन् । शताब्दी पूरुष सत्यमोहन जोशीले लेखेको महर्षि याज्ञवल्क्य नाटकदेखि लिएर कवि पदम दाहालको आँसुको दह कविता सङ्ग्रहसम्मका विषयलाई पहिचान बनाइसकेका डा. इन्दुलले यस पटक भने यहाँ आना भावना मात्रै पस्किएका छैनन् अन्य विभिन्न लेखक कवि कथाकार, दार्शनिक, नाटककारका कृतिभित्र भएका विषयवस्तुलाई पर्गेल्ने कार्य गरेका छन् ।
शब्दसागरका मोती स्वयम्मा विषयगत विविधताको मौजीमसला हो । डा. केसी यहाँ एउटा सचेत पाठक मात्रै नभएर सचेत लेखक भएर उभिएका छन् । मोतीराम भट्टले नेपाली साहित्यको इतिहासमा आफूलाई मात्रै नचिनाएर आफूभन्दा पूर्ववर्ती र समवर्ती साहित्यकारहरुलाई चिनाउने काम गरेजस्तै डा. इन्दुलले पनि अरुलाई चिनाएर साहित्यिक सन्तुष्टि लिने काम गरेका छन् । यो कृतिको मूल प्राप्ति भन्नु यही नै हो ।
लेखक डा. इन्दुल केसी आफू विभिन्न आयाममा बाँडिएजस्तै यस कृतिभित्र सोही अनुसारको कार्य गरेका छन् । शब्दसागरका मोती एकै खालको मोतीले उनिएको छैन । यहाँ साहित्यिक, सांस्कृतिक, धार्मिक, दार्शनिक, वैदिक, ऐतिहासिक, सांगीतिक, योग ध्यान अनेकौँ विषयवस्तुमा लेखक डुबुल्की मार्न पुगेका छन् । वैदिक साहित्यदेखि लिएर अर्वाचीन साहित्यसम्मका विषयवस्तुहरुले यो कृतिको आयाम तयार भएको छ ।
साहित्यिक विधागत दृष्टिबाट हेर्दा यहाँ कविता, नाटक, कथा, निबन्ध, संस्मरण उपन्यास आदिका सम्बन्धमा प्रकाश पारिएको छ । योगाचार्य उद्धवप्रसाद भट्टराईको दिव्य साधना सूत्र जस्तो गहन कृतिका सम्बन्धमा पनि चर्चा गर्न लेखक अघि सरेका छन् । लेखकले हिन्दु दर्शनका साथै बौद्ध दर्शनका कुरालाई खोतल्ने काम गरेका छन् । मूलतः यो कृतिले मानव जीवनका जीवनोपयोगी विषयलाई अङ्गीकार गरेको छ । यसबाट के देखिन्छ भने पाठकीय समावेशीताको मर्मलाई सम्मान गरेको छ । विषयमा समावेशीता र क्षेत्रगत समावेशीतालाई पनि लेखकले सम्मान गरेका छन् । सँस्कृतिमा पनि ख्याति आर्जन गरेका, राजनीतिमा शिखरत्व जमाएका र योगसाधनामा जीवन समर्पण गरेका व्यक्तिहरुबाट लेखिएका कृतिहरुका सम्बन्धमा लेखकले साह्रै खोजीनितीपूर्वक अध्ययन र लेखन गरेका छन् । कृतिको प्राप्ति बढाउने कार्य यसले पनि गरेको छ । उत्तरी ध्रुवको भ्रमण गर्ने पहिलो व्यक्ति वासुदेव ढकालले लेखेको उत्तरी ध्रुव प्रदेश नियात्रा कृतिको पनि अध्ययन र विश्लेषण गरिएको छ । यो कृति नेपाली र नेवारी दुवै भाषाका लेखद्वारा आप्लावित बनेको छ । लेखकको भाषिक क्षमताको पनि प्रशंसा गर्नुपर्ने हुन्छ ।
अन्त्यमा डा. इन्दुल केसीले शब्दसागरका मोती कृतिको लेखन र प्रकाशन गरेर हामीलाई ठुलो गुन लगाएका छन् । आनो क्षेत्रमा नाम कहलाउन सफल भएका विभिन्न लेखकका कृतिहरुको गुदी पगालेर समीक्षा गर्नु चानचुने कुरा होइन । यस्तो गहन काम गर्न सफल भएको डा. इन्दुल केसीलाई जति धन्यवाद दिए पनि कमै हुन्छ । यो कृति अब पाठकको हातहातमा आइपुगेको छ, तसर्थ सचेत पाठकहरुले यसको उचित मुल्याङ्कन हुने आशा गर्दै म आनो आलेख तलका कविताम्मक हरफद्वारा अन्त्य गर्दछु ः
पल्टिन्छन्, अनि लटपटिज्छन्
अनि कुराकानीका क्रममा मीठा–मीठा
शाब्दिक व्यञ्जन तयार गर्छन्
पाठकका माझमा
एकपछि अर्को परिकार पस्कँदै जान्छन् ।
अनि आफूलाई
इन्दुलका नामले
प्रकाशित गरिरहन्छन् ।।
२०७९ फागुन
फाेटाेमा हेर्नुहाेस्...