महिला नेत्री मुक्तमाया बास्तोलाको निधन
असोज ४, २०८०, बिहीबार | विहान ०९:३६ बजे | 55
काठमाडौं, ४ असोज ः पञ्चायत कालदेखि नेपाली राजनीतिमा सक्रिय योगदान पु¥याउँदै आएकी महिला नेत्री मुक्तमाया बास्तोलाको बुधबार काठमाडौंमा निधन भएको छ । बि.स १९९३ सालमा खनार ४, सुनसरीमा जन्मिएकी बास्तोलाले २०३५ सालदेखि २०४६ सालसम्म खनार गाउँ पञ्चायतको महिला संगठनको निर्विरोध निर्वाचित महिला सभापतिका रुपमा आफ्नो महत्वपूर्ण भूमिका निभाईन् । नेपालमा बहुदलिय प्रजातन्त्र आएपछिका दिनहरुमा पनि उनले नेपाली महिलाको हक अधिकारको आन्दोलनमा आफूलाई निरन्तर सक्रिय तुल्याइन् । खनार ४ मा रहेको शारदा माविको स्थापना गर्न भूमि प्रदान गरेर विद्यालयको सञ्चालक समितिमार्फत शिक्षा क्षेत्रमा पनि उनले महत्वपूर्ण योगदान पु¥याएकी छन् । विवाह पछि इटहरी नगरपालिका १२ मा रही राजनीति एवं सामाजिक कार्यमा उनी सक्रिय रहिन् । महिला नेत्री बास्तोलाको निधनमा आफ्नो फेसबुकमार्फत कोशी प्रदेश सभाका सांसद रोहित कार्कीले श्रद्धाञ्जली ब्यक्त गर्दै उनी खनार बासीको ढुकढुकी रहेकी र महिला संगठनको सभापतिका रुपमा उनले राजनीतिमा ठूलो योगदान पु¥याएकी प्रतिक्रिया दिए । उनी राष्ट्रिय खेलाडी स्व.शम्भु बास्तोलाकी आमा हुन् ।