२६ वर्षपछि ठडिएको त्यो गणेशमान


असोज २, २०८०, मङ्गलबार | दिउँसो ०३:४३ बजे | 60


२६ वर्षपछि ठडिएको त्यो गणेशमान

भक्तपुर । राष्टपति रामचन्द्र पोडेलले भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह स्मृति वाटीका तथा प्रतिमा स्थापना समिति परिसरमा निर्माण गरिएको गणेशमान सिंहको एक हजार दुई सय किलोग्रामको १२ फिट अग्लो ढलोटको प्रतिमा मंगलबार एक कार्यक्रमवीच अनावरण गरेका छन् । गणेशमान सिंह स्मृति वाटीका कटुञ्जे भक्तपुरको आयोजनामा भएको कार्यक्रममा राष्टपति पौडेलले प्रतिमाको अनावरण गरेका हुन् । 
साढे दुई दशकभन्दा बढीको अथक प्रयासपछि गणेशमान सिंह स्मृति वाटिकाको औपचारिक रूपमा उदघाटन भएको हो । २०४६ सालका जनआन्दोलन कमाण्डर लौहपुरुष गणेशमान सिंहको प्रतिमा र प्रतिमा निर्माणमा करिव सवा करोड खर्च लागेको कार्यक्रममा जनाइयो । यो रकम संघ सरकार, संसद विकास कोष, वागमति प्रदेश सरकार र स्थानीय नगरपालिकाका अतिरिक्त जनताको पनि योगदान रहेको कार्यक्रममा बताइयो ।  
स्वर्गीय गणेशमान सिंहको २६ औ स्मृतिमा गणेशमान सिंहको प्रतिमा अनावरण गरिएको हो । यसका लागि गणेशमान सिंह स्मृति बाटिका प्रतिमा अनावरण संरक्षण समिति २०५४ सालमै बनेको थियो । माओबादी द्वन्द र अन्य विभिन्न कारणले अहिलेसम्म (२६ वर्षपछि) प्रतिमा बनेको हो । 
गणेशमान सिंह स्मृति बाटीकालाई नेपाल सरकारबाट प्राप्त कुल १७४  रोपनी १५ आना जग्गाभित्र यो प्रतिम बनेको हो । प्रतिमा बने पनि बाटीकाको व्यवस्थित विकासका लागि चाहिने गुरुयोजनाको काम भइरहेको कार्यक्रममा बताइयो । त्यस अनुसार गुरुयोजना र त्यसका आधारमा विस्तृत परियोजना प्रतिवेदन, नेपाल सरकार, बागमति प्रदेश सरकार सूर्यविनायक नगरपालिकाको सहकार्यमा डीपीआर तयार पार्ने र त्यसलाई कार्यान्वयनमा लैजाने काम पनि सुरु भइसकेको कार्यक्रममा बताइयो ।  वाटिका निर्माण परियोजनाको सम्पूर्ण कार्य पूरा गर्नका लागि करिब ३३ करोड रुपियाँ खर्च हुने अनुमान समितिले गरेको छ । 
सिंहको प्रतिमा अनावरणपश्चात बाटिका क्षेत्रलाई प्रजातन्त्रिक आन्दोलनका शहीदहरुको जीवनीमा आधारित सामाग्री संग्रह गर्ने, संग्रहालय, पुस्तकालय, योगपार्क, चिल्डे«न पार्क, भ्यू टावर, पिकनिक स्थल निर्माणलाई जोड दिने बाटिकाका योजना छन् । प्रतिमास्थल र वाटिकाको झन्डै २३ वर्षअघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्याससँगै गरेका थिए । 
यो ठाउँं हालको सूर्यविनायक नगरपालिकाको वडा नं–५ र ६ मा पर्ने ऐतिहासिक र धार्मिक महत्व बोकेको सुवर्णेश्वर डाँडामा नजिकै रहेको छ । वाटिका अरनिको राजमार्गको कोटेश्वर सूर्यविनायक खण्डमा पर्ने चुनदेवी वा पाण्डुबजारबाट करिब डेढ किलोमिटर दक्षिणमा पर्छ । यो वाटिकाबाट उपत्यकाका कान्तिपुर, कीर्तिपुर, ललितपुर, मध्यपुर, भक्तपुर र शङ्करापुरसम्मको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । 
वाटिकामा लालिगुराँसलगायत विभिन्न प्रजातिका फूल, काफल, कटुस, ऐँसेलु, चुत्रो जस्ता जङ्गली फल र विभिन्न प्रजातिका बोटबिरुवा, करिब ९९ प्रकारका चराचुरुङ्गीको अध्ययन गर्न सकिने भएको जनाइएको छ । यसले खोज तथा अनुसन्धान गर्नेहरूका लागि महत्वपूर्ण स्थल हुनसक्ने बताइएको छ । 
बाटिकालाई गणेशमान सिंहका संघर्ष र त्यागका कथाका अतिरिक्त प्रजातन्त्रका शहीदहरुका जीवन र संघर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने, गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ र अनुभबीहरुबाट प्रवचन गराउने, छलफल चलाउने र त्यसका निष्कर्षलाई प्रकाशित गराएर भविष्यका पुस्तालाई प्रजातन्त्रप्रति जागरुक तुल्याउने बाटिकाको लक्ष्य रहेको जनाइएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

२६ वर्षपछि ठडिएको त्यो गणेशमान

Comments