भक्तपुर उद्योग वाणिज्य संघद्वारा प्रजिअ रिजालको बिदाई
असोज २, २०८०, मङ्गलबार | दिउँसो ०३:०७ बजे | 55
भक्तपुर ः भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई मंगलबार भक्तपुर उद्योग वाणिज्य संघले बिदाई गरेको छ ।
गृह मन्त्रालयमा सरुवा भएका रिजाललाई एक कार्यक्रमका बीच संघले बिदाई गरेको हो । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले प्रजिअ रिजाललाई खादा ओढाई सम्मान गरे । प्रजिअ रिजाललाई संघको तर्फबाट मायाको चिनोस्वरुप आँखीझ्याल र जुजु धौसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष मानन्धरले प्रजिअ रिजाल शालिन, भद्र स्वभावको रहेको भन्दै जिल्लास्थित सरकारी कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन खेलेको अहम भूमिकाको प्रशंसा गरे । उनले साढे सात महिनाको अवधिमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै प्रजिअ रिजालको कार्यको प्रशंसा गरे । आफ्नो कार्यकालमा जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीको हितमा लागेका कारण छोटो अवधिमा नै प्रजिअ रिजालसँग भक्तपुर उद्योग वाणिज्य संघको आत्मीयता बढेको उनको भनाइ छ । उनले पहिलो पटक प्रजिअ रिजालको कार्यकालमा जिल्लाका कार्यालय प्रमुखहरुको बैठक संघको सभाहलमा भएको स्मरण गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हुने हरेक कार्यक्रममा संघको तर्फबाट प्रतिनिधि सहभागी हुने अवसर दिएकोमा धन्यवाद व्यक्त गरे ।
प्रजिअ रिजालले प्रमुख जिल्ला अधिकारीहरुको सरुवा नियमित प्रक्रिया रहेको भन्दै आफ्नो कार्यकालमा भक्तपुरवासीले देखाएको न्यानो माया लामो समयसम्म स्मरण भइरहने बताए । भक्तपुर उद्योग वाणिज्य संघले आफ्नो कार्यकालमा भएका धेरैजसो काममा सहयोग गरेको उनको भनाइ छ ।
सो अवसरमा संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जा, उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, महासचिव दिनेश गोसाईं, कोषाध्यक्ष सचिन्द्र प्रधानाङ्गले भक्तपुर जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेजस्तै नयाँ कार्यक्षेत्रमा पनि कुशलतापूर्वक कार्यसम्पादनको शुभकामना व्यक्त गरे ।
गत माघ ११ गते रिजालले भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हालेका थिए । गृह मन्त्रालयले भक्तपुरको प्रजिअमा सहसचिव रोशनीकुमारी श्रेष्ठलाई सरुवा गरेको छ ।
फाेटाेमा हेर्नुहाेस्...