भाटभटेनी सुपरमार्केटलाई एक लाख रुपैयाँ जरिवाना


भदौ ३१, २०८०, आइतबार | दिउँसो ०१:४५ बजे | 55


भाटभटेनी सुपरमार्केटलाई एक लाख रुपैयाँ जरिवाना

म्याद नाघेको खाद्य पदार्थ बिक्री वितरणको लागि राखिएको भन्दै ललितपुरको कृष्णगल्लीस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल प्रा.लिलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ ।
बजार अनुगमनका क्रममा सो डिपार्टमेण्टल स्टोरमा म्याद नाघेका घ्यू तौल नपुगेका तरकारीहरु भेटिएको सो जरिवाना गरिएको हो।ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुुनुवारको नेतृत्वमा गएको टोलीले बजार अनुगमन गरेको थियो।भाट भटेनीमा अनुगमन गर्दा एक वर्ष अघि म्याद गु्रजरिएको ध्यु चार सिसी, तौल नपुगेको अण्डा र तरकारी भेटिएको थियो।उपभोक्ता हित संरक्षण ऐन २०७५ अनुरुप उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु बिक्री गरेकोले एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको अनुगमन टोलीका संयोजक अमरदीप सुनुवारले बताउनुभयो।
‘सो कार्य दफा १८ को खण्ड (ग) बमोजिम कसूरका रुपमा लिएका छौं।सात दिन भित्र एक लाख रुपैयाँ जरिवाना बुझाउन डिपाटमेन्टल स्टोरलाई पत्र बुझाएका छौं ।’ सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका संयोजक सुनुवारले भन्नुभयो।सो ऐनको उपदफा (ग) मा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवाको उत्पादनलाई वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने कार्यको सूचीमा राखिएको छ । सो कार्य कसूर गरेको मानिने सो ऐनको दफा ३८ को खण्ड (झ) मा टेकेर दफा ४० को खण्ड (ख) अनुसार एक लाख रुपैयाँ जरिवाना गरिएको संयोजक सुनुवारले बताउनुभयो।टोलीले भाटभेटनीलाई म्याद नाघेका सामग्रीहरु व्यवस्थित गरेर राख्न, सामान खरिद गरेको बील देखाउन निर्देशन दिएको छ।
त्यसैगरी मानभवनस्थित बिगमार्टमा बिक्रीका लागि राखिएको तरकारीको तौलमा अस्वभाविक फरक पाइएको र खाद्य सामग्रीहरु म्याद नाघेकोे भेटिएको छ । बोडी, फर्सी, अण्डा र भटमासको पाकेटको तौल नपुगेको र गुलाब जामुन एक पाकेट, तुल्सी नेमकीन ६ पाकेट म्याद गु्रजरिएको भेटिएकोले सो समानन नष्ट गरिएको अनुगमनका सदस्य सचिव सञ्जय थापाले बताउनुभयो। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख समेत रहेका समितिका सदस्य सचिव थापाका अनुसार सो बिग मार्टलाई तीन दिन भित्र १० हजार रुपैयाँ जरिवाना साना तथा घरेलु उद्योगको कार्यालयमा गएर तिर्न पत्र दिइएको छ ।
त्यस्तै जावलाखेलस्थित सेलवेज डिपार्टमेन्टर स्टोरमा म्याद नाघेका बियरको सिसी भेटिएकोले १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको पनि समितिले जनाएको छ।त्यस्तै आस्विनी फार्मेसी प्रा.लि र घैटें चिया क्याफेलाई आवश्यक कागजात पत्र जिल्ला प्रशासन कार्यालयमा देखाउन निर्देशन दिइएको छ ।
भाटभटेनी, बिर्ग मार्ट जस्ता ठूला पसलहरुमा हरेक वर्ष अनुगमन गर्दा म्याद नाघेका सामान, तौल नभएका सामानहरु भेटिने गरेको उल्लेख गर्दै  राष्ट्रिय उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष ध्रुव तण्डुकारले भन्नभयो ‘ जति पटक जरिवाना गरेपनि फेरी उस्तै कैफियत भेटिने गरेको छ।यसले गर्दा अनुगमनलाई अझ तीब्र र प्रभावकारी बनाउनुपर्ने खाँचो छ । व्यवसायिक सचेतनाको मात्रालाई बढाउनु्पर्ने देखिएको छ ।’
जिल्ला प्रशासन कार्यांलयले दशैं,तिहार जस्ता जाडपर्व नजिकिँदै गर्दा जनस्वास्थ्यलाई प्रतिकू्रल असर पर्ने सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने सम्भावना बढ्ने आंकलन गर्दै अनुगमनलाई तीब्रता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुनवारले बताउनुभयो।एक सातामा कम्तीमा ेएक पटक बजार अनुगमन हुने र यो क्रमले तिहारसम्म तीब्रता पाउने उहाँको भनाई रहेको छ । ‘ठूलाठूला मार्टहरुमा उपभोक्ताबाट बढी मूल्य असुल्ने गरेको गुनासो आएकोले बजार अनुगमन त्यतातिर केन्द्रीत गरेका हौं। हामी साना साना पसलहरुमा पनि अनुगमन गर्ने छौं।जनस्वास्थ्य प्रतिकूल हुने गरी सामग्री बिक्री गर्ने, तौल नपुगेको सामग्री बिक्री गर्ने कार्र्यलाई नियन्त्रण गर्नेछौं।’ सहायक प्रमुख जिल्ला अधिकारी सुनवारले भन्नुभयो।

फाेटाेमा हेर्नुहाेस्...

भाटभटेनी सुपरमार्केटलाई एक लाख रुपैयाँ जरिवाना

Comments