जातीय समाजबीचको एकतामा ताम्रकार समाजको जोड


भदौ ३०, २०८०, शनिबार | दिउँसो ०१:४४ बजे | 80


जातीय समाजबीचको एकतामा ताम्रकार समाजको जोड

ललितपुर। ताम्रकार समाजले ललितपुरको संस्कृति, सम्पदा संरक्षण गर्र्दै नेवाः समुदायको समग्र हकहितका लागि जातीय समाजहरुबीच एकताको खाँचोलाई औल्याएको छ ।
शनिबार जावलाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कूलदेवता परिसरमा सम्पन्न समाजको २५ औं सामूहिक भेला तथा १७ औं वार्षिक सभाका वक्ताहरुले सो खाँचो औल्याएका हुन् ।
समाजका अध्यक्ष विनोद ताम्रकारले दलीय आस्था,थरका हिसाबले फरक फरक भएपनि समग्र नेवाः समुदायको एकता र हकहितका लागि जातीय समाजहरुबीच आपसी सहकार्य र समन्वय गर्दै जानुपर्नेमा जोड दिनुभयो। ‘ ललितपुरका नेवाः समुदायभित्र रहेका विभिन्न जातीय समाज सहअस्तित्व र समानताको जाग्रत अधिकार नभएसम्म सामूहिक लक्ष्य प्राप्त गर्न सक्दैन । ’ अध्यक्ष ताम्रकारले भन्नुभयो ‘कुनै समाजको जनसंख्या धेरै होला, कसैको कम होला। संगठनको आकार, जातीय जनसंख्या बढी र कम भएपनि सामूहिक हितका लागि मिलेर काम गर्नुपर्ने क्षमता बढाउनुपर्दछ । यसैमा सबैको हित रहेको छ ।’

ललितपुरका २१ वटा जातीय समाजहरु अटाउने गरी स्थापना गरिएको यल नेवाः समाज जातीय समाजहरु एक ठाउ“मा बसेर नेवाः समुदायको हित र ललितपुरको समग्र विकासको लागि काम गर्न स्थापना गरिएको जनाउँदै अध्यक्ष ताम्रकारले भन्नुभयो ‘ताम्रकार समाज यही संस्थाको संस्थागत विकासमा प्रतिबद्ध रहेको छ । सामूहिक भावलाई अक्षुण्ण राख्नु नै सबैको दायित्व हो।’

सो अवसरमा यल नेवाः समाजका संयोजक कृष्णदास कमाचार्यले यल नेवाः समाज जातीय समाजहरुबीचको सामूहिक भावनाको ठोस अभिव्यक्त रहेको बताउँदै यसलाई हुर्काउन सबैको साथ र सहयोग मिल्ने अपेक्षा गर्नुभयो।संघ, प्रदेश र स्थानीय तहमा आफ्नो सरोकार देखाउन सबै मिलेर जानुपर्ने पनि उहा“ले बताउनुभयो।

सो समारोहको उद्घाटन गर्दै वाग्मती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले ललितपुरका सबै जातीय समाज एकताबद्ध भई सक्रिय हुनुपर्नेमा जोड दिँदै त्यस कार्यमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारसंग आफ्नो सरोकार देखाउँदा जु्टेर नभई मिलेर अघि बढ्न पनि उहाँले सल्लाह दिनुभयो।सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जातीय समाजको क्रियाशीलताका लागि महानगरपालिका सदैव सहयोगी रहने बताउनुभयो।

फाेटाेमा हेर्नुहाेस्...

जातीय समाजबीचको एकतामा ताम्रकार समाजको जोड

Comments