पूर्वराजदूत डा. गणेश योञ्जनको अध्यक्षतामा सङ्घर्ष समिति घोषणा
भदौ ११, २०८०, सोमबार | विहान १०:३६ बजे | 70
काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सङ्घीय नेपालको एक एकाइको रूपमा ताम्सालिङ प्रदेश (स्वायत्त राज्य) को स्थापना, लोकतन्त्र, गणतन्त्रको स्थापना, जातीय सहअस्तित्व, धर्मनिरपेक्षता, स्वतन्त्रता, समानता एवं तामाङलगायत विविध जातिहरूको समानुपातिक, समावेशिता र प्रतिनिधित्वको व्यवस्था संविधानमा सुनिश्चितताको लक्ष्यसहित घोषणा गरेका हुन् ।
पूर्वराजदूत डा. गणेश योञ्जनको अध्यक्षतामा सङ्घर्ष समिति घोषणा गरिएको हो । पुनः गठित समितिको सदस्य सचिवमा मोहन गोले तामाङ, प्रवक्ता जय गोले तामाङ र सदस्यहरूमा सबै सङ्गठन र स्वतन्त्र अभियन्ताहरू रहने अवधारणा पत्रमा उल्लेख छ । यसअघि जय गोले संयोजक थिए ।
संघर्ष समितिमा नेपाल तामाङ सङ्घ, तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल तामाङ सङ्घ (समाजवादी) लगायत २४ वटा संस्था आबद्ध छन् ।संघर्ष समितिले २५ बुँदे माग अघि सारेको छ । जागरण तथा दबाबमूलक अभियान, शान्तिपूर्ण अवज्ञा र विरोध कार्यक्रम लगायत सङ्घर्षका कार्यक्रम पनि घोषणा गरेको छ ।
अवधारणा पत्र समाजशास्त्री डा. मुक्तसिंह तामाङले वाचन गरेका थिए ।
पहिलो संविधानसभा र त्यसले बनाएको उच्चस्तरीय राज्य पुन संरचना आयोगले दिएको पहिचान जनित १० प्लस एक प्रदेशहरूको सिफारिसअनुसार आत्मनिर्णयको अधिकारसहितको ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गर ।
समितिले ताम्सालिङ भूगोलमा रहेका समस्त जनता एवं विविध समुदायहरूको स्वायत्तता, पहिचान, मानवअधिकार, पूर्ण लोकतन्त्र ( सामाजिक न्यायसहितको स्वतन्त्रता, समानता) र समृद्धि सुनिश्चित गर्न एवं सहअस्तित्वलाई ससम्मान व्यवस्थित गर्नको लागि कटिबद्ध रहेको पनि बताएका छन् ।
समितिले निम्न मागहरू राखेका छन् ।
* संविधानमा व्यवस्था भए बमोजिम ताम्सालिङ लगायत देशभित्रका समस्त अल्पसङ्ख्यामा रहेका आदिवासी जनजातिहरूका स्वायत्त, संरक्षित र विशेष क्षेत्र तुरुन्त लागु गर ।
* तामाङ लगायत सबै आदिवासी जनजाति विरोधी संवैधानिक प्रावधान एवं विभेदकारी ऐन, कानुनहरू तत्काल खारेज गर । कानुन निर्माण गर्दा आदिवासी जनजातिको समावेशिता सुनिश्चित गर ।
* तामाङलगायत सबै मातृभाषा र लिपिहरूलाई सरकारी कामकाजी भाषाको मान्यता देऊ ।
* नश्लीय चिन्तनबाट ग्रसित भई तामाङ लगायत सबै आदिवासी जनजातिविरुद्ध हुने दुष्प्रचार, घृणाजन्य अभिव्यक्ति र जातीय विद्वेष फैलाउने कार्य बन्द गर । कुनै प्रकारबाट त्यस्तो अभिव्यक्ति दिनेहरूलाई कडा कारबाही गर ।
* आदिवासी जनजाति अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणा पत्र र आइएलओ महासन्धी, नं. १६९ तुरुन्त कार्यान्वयन गर ।
* सङ्घ, प्रदेश र स्थानीय तहसम्म व्याप्त मुलुकको समृद्धिको बाधकको रूपमा रहेको भ्रष्टाचार, अनियमितता, अव्यवस्था, ढिलासुस्ती, घुसखोरी तथा सेवा प्रदायक निकायबाट गरिने विभेदको अन्त्य गर ।