सांसद प्रेम सुवालसहितको टोली कञ्चनपुरको कमैयाहरूको बस्तीमा


भदौ ५, २०८०, मङ्गलबार | दिउँसो ०१:५५ बजे | 55


सांसद प्रेम सुवालसहितको टोली कञ्चनपुरको कमैयाहरूको बस्तीमा

कञ्चनपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले वेदकोटस्थित मुक्त कमैया बस्तीका सर्वसाधारणसँग भेटघाट गर्नुभएको छ ।
२०५७ सालमा मुक्त गरेको भनिएका सर्वसाधारणको वर्तमान अवस्थाबारे बुझ्ने क्रममा सचिव सुवालले किसानलाई पहिले जमिनदारले दुःख दिएको तर अहिले सिंहदरबारमा पुगेका शासक दलका नेताहरूले दुःख दिइरहेको भनाइ राख्नुभयो ।
स्थानीयसँग भलाकुसारी गर्दै सचिव सुवालले २००८ देखि २०१५ सम्म पूर्वी तराईका विभिन्न जिल्लामा किसान आन्दोलन भएको चर्चा गर्नुभयो । उहाँले आन्दोलन भएका ठाउँमा किसानले मोहियानी हक पाएको उल्लेख गर्दै नत्र काठमाडौँ उपत्यकामा समेत मालिकलाई रिझाउनेले मात्र जग्गा जोत्न पाएको इतिहास स्मरण गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले २०५७ सालको कमैया मुक्तिले किसानलाई मोहियानी हकबाट वञ्चित गरेको भन्दै किसान र मजदुर नै राजनीतिकरूपमा सचेत हुनुपर्ने भनाइ राख्नुभयो ।
नेमकिपा, वेदकोट नगर समितिका अध्यक्ष सुरेन्द्रराज भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाही, नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावल, स्थानीय सीताराम रानालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्थानीयले शिक्षा र स्वास्थ्य उपचारको बन्दोबस्त निःशुल्क हुनुपर्ने, कृषि मलको बन्दोबस्त हुनुपर्नेजस्ता विषयमा जिज्ञासा राख्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

सांसद प्रेम सुवालसहितको टोली कञ्चनपुरको कमैयाहरूको बस्तीमा

Comments