भक्तपुर नगरपालिकाको आइसोलेन केन्द्र असोज १० बाट सञ्चालन
असोज ९, २०७७, शुक्रबार | दिउँसो ०१:२२ बजे | 20
भक्तपुर । कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारको लागि भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवन आइसोलेसन (एकान्तबास) केन्द्र भोलि (असोज १०) गतेबाट सञ्चालन हुने भएको छ ।
[[img2]]
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सूर्यविनायकब्यारेक वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मे.सु डा. सुमित्रा गौतम, राष्ट्रिय अनुसन्धानका प्रमुख सुरेन्द्र कोइराला लगायतको टोलीले शुक्रबार आइसोलेसन केन्द्रको निरीक्षण गरे ।
[[img3]]
भक्तपुर नगरपालिकामा कोरोना संक्रमितहरुको संख्या बढेसँगै नगरपालिकाले ७५ शैय्याको आइसोलेसन केन्द्र सञ्चालनको तयारी गरेको होे । यस अघि संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्र र भक्तपुर अस्पताल पठाउँदै आएकोमा संक्रमण समुदायस्तरमा फैलिएसँगै जनतालाई सहज सेवा उपलब्ध गराउन नगरपालिकाले छुटै आइसोलेसनको आवश्यकता महशुश गरी तयारी थालेको हो । भक्तपुर नगरपालिकाले घरमा एकान्तबास सम्भव नभएका कोरोना संक्रमितहरुलाई लक्षित गरी आइसोलेसन केन्द्रको निर्माण गरेको हो । नगरपालिकाले नेपाल सरकारको मापदण्ड अनुरुप नै केन्द्र निर्माण गरेको छ ।
[[img4]]
आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु जस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती बस्ने बन्दोबस्तगरिएको छ भने भुइातल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्ने कक्ष रहेको छ । उक्त आइसोलेसन केन्द्रमा नगरपालिका स्वयम्ले आवश्यक जनशक्ति परिचालन तथा व्यवस्थापन पनि गरेको छ ।आइसोलेसनमा बस्ने संक्रमितहरुको लागि आवश्यक लुगाफाटा बाहेक सबै सुविधा नगरपालिकाले व्यवस्था गरिनेछ । प्रत्येक संक्रमितहरुको लागि अलगअलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइलचार्जको लागि छुटाछुटै एक्सटेन्सनवायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नको लागि किताब, पत्रपत्रिकासहितको ¥याक व्यवस्था गरिएको छ ।
आइसोलेसन केन्द्रमा हरेक दिन ३ जना नर्सले नियमित ड्युटीको व्यवस्थागर्नुका साथै प्रत्येक दिनबिहान १ र बेलुकी १ गरी दुई जना डाक्टरहरुले ड्युटी गर्नेछ । केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० जनाकर्मचारीहरु व्यवस्थागरिएको छ । संक्रमितहरुलाई सूचना प्रवाहको लागि माइकिङ र अलगअलग फोनको व्यवस्था आइसोलेसन केन्द्रमा छ । साथै संक्रमितहरुको लागिछुटै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपी सेटको बन्दोबस्त रहेको छ भने दैनिक चार छाक खानाखाजा खुवाइने व्यवस्था पनि गरिएको छ ।
भक्तपुरमा अहिले घरमा आइसोलेसनमा बसेकोमा परिवारै संक्रमित देखिएकोे हुँदाहोम आइसोलेसन व्यवहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुटै आइसोेलेसनको व्यवस्था गरेको हो । संक्रमितहरुको निम्ति आवश्यक भएमा अक्सिजनकोे व्यवस्था पनि गरिएको छ । तर रोगका लक्षण नदेखिएका अथवा सामान्य लक्षण देखिएकाहरुलाई आइसोलेसन केन्द्रमा राखिने व्यवस्था गरेको छ । आइसोलेनमा बस्दा बस्दै बिरामीलाई अप्ठेरो महसुस भएको खण्डमा डाक्टरको सल्लाह मानपाको डेडिकेटेड एम्बुलेन्समार्फत भक्तपुर अस्पतालमा उपचारको निम्ति पठाउने बन्दोबस्त गरिएको छ । त्यसको निम्ति आइसोलेसन केन्द्रमा अलग्ग एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।
नगरपालिकाले त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरुको निम्ति सुरक्षाको व्यवस्था गरेको छ । आइसोलेसन केन्द्रमा सातदिनको ड्युटी सकिने बित्तिकै उनीहरुलाई एक हप्ताको लागि अलग क्वारेनटाइनमा राखेर कोरोना परीक्षण पश्चात ड्युटीमा खटाउने व्यवस्था गरिएको छ । नगरबासी संक्रमितलाई लक्षितगरी निर्माण गरिएको उक्त आइसोलेसन स्थापनामा त्यहाँका स्थानीयहरुको साथ र सहयोग रहेको छ ।
[[img5]]
टोलीले भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, निर्माणाधीन ख्वप अस्पताल र श्वासप्रश्वास पुनःस्थापना केन्द्रको पनि स्थलगत निरीक्षण गरेको थियो ।