सर्लाहीबाट काठमाडौँ आएर गायनमा सक्रिय गिरीले आफ्नो सफलता आमासँग साट्न पाएनन्


साउन २२, २०८०, सोमबार | विहान ११:२२ बजे | 65


सर्लाहीबाट काठमाडौँ आएर गायनमा सक्रिय गिरीले आफ्नो सफलता आमासँग साट्न पाएनन्

काठमाडौँ । कर्णराज गिरी रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा सहभागी भएपछि गायन क्षेत्रमा सक्रिय हुन थालेका छन् । कुनै समय ट्याक्सी चालक बनेर गायनलाई सपनामा मात्रै बाँचेका गिरी पछिल्लो समय मेला–महोत्सवमा समेत पुग्छन् ।

सङ्गीत सिर्जना, शब्द रचना र गायनमा सक्रिय गिरी यस क्षेत्रमा उदाउँदै गरेको नाम हो । भ्वाइस अफ नेपालको मञ्चबाट उनले साङ्गीतिक यात्रा सुरु गरेका थिए । ‘एक दशकको सङ्घर्ष पश्चात गायनका विभिन्न विधामा काम गर्न सफल भएको छु’, उनले भने, ‘परिवारमा साइला दाइ बाहेक अन्यको सङ्गीतसँग नाता जोडिएको थिएन् । आफ्नै सङ्घर्षले यहाँसम्म आउन सफल भएको छु ।’

बाल्यकालमा रेडियो नेपाल सुन्दै ‘जति चोट दिन्छाै देउ मायालु’, ‘हजार आँखा हेर्ने’, ‘पर्खी बसे’ लगायत गीत गुनगुनाउने र अभ्यास गर्ने गरेको गिरीले अनुभव सुनाए ।

सर्लाहीबाट काठमाडौँ आएर सङ्गीतको प्रशिक्षणपछि गायनमा सक्रिय भएका गिरीले आफ्नो सफलता आमासँग साट्न पाएनन् । ‘भ्वाइसको उत्कृष्ट नौमा हुँदा नै आमाको देहान्त भयो । उहाँले बाख्रा बेचेर पठाउनु भएको केही रकम लिएर काठमाडौँमा सङ्गीतको विद्यार्थी बनेको थिएँ’, गायक गिरीले भने, ‘पेटका लागि गर्नुपरेको सङ्घर्ष र भोग्नुपरेको सास्तीबाट मुक्त भए पनि साङ्गीतिक क्षेत्रमा भने सङ्घर्ष छँदैछ ।’
उनका सुन माकुरी, ह्याङ्ग बनायौँ, भाइरल भयो रे, तिम्रो आँखा गाजलु, गोरू झालेमालेलगायत गीत चर्चित छन् । पछिल्लो समय सार्वजनिक भएको ‘लुकी लुकी’ युट्युबमा दश लाख बढी पटक हेरिसकिएको छ ।


Comments