भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा सुरु
साउन २०, २०८०, शनिबार | विहान ०९:२३ बजे | 25
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा आज ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ ¤’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा सुरु भएको छ । ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउनुहुने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले आयोजित कार्यक्रमको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभयो । नगर प्रमुख प्रजापति र उपप्रमुख जोशीको नेतृत्वमा भनपा वडा नं. ९ को लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा – ग्वंग पुखु – क्वाठडौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा समापन हुनेछ ।
सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको छ । ¥यालीमा हजारौंको संख्यामा नगरबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।