सडक आन्दोलनमा जाने चेतावनी
साउन १४, २०८०, आइतबार | दिउँसो ०३:५१ बजे | 65
काठमाडौं । तामाङ घेदुङ संघले अधिवक्ता शीतल पाण्डेलाई तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ। तर, प्रहरी प्रशासनले पाण्डेलाई पक्राउ गर्न ढिलाई गरेको भन्दै संघले तत्काल पक्राउ नगरे सडक आन्दोलनमा जाने चेतावनी दिएको हो।
आज पत्रकार सम्मेलन गर्दै संघले मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि सरकारले पक्राउ नगरेको आरोप लगाउँदै अविलम्ब पक्राउ नगरे आन्दोलन गर्ने संघका अध्यक्ष मोहन गोलेले बताए । अधिवक्ता पाण्डेले तामाङ, मगर समुदायलाई अपराधी करार गर्ने किसिमको अभिव्यक्ति दिएको संघले आरोप लगाएको छ । उनलाई हालसम्म पक्राउ नगरिएको प्रति संघले आपत्ति जनाउँदै कारबाहीको माग गरेको छ ।अधिवक्ता पाण्डेले प्राइम टिभीमा दिएको अन्तरवार्ताको अभिव्यक्ति तामाङ समुदायमा परम्परादेखि चलिआएको संस्कार, परम्परागत अभ्यास तथा रीतिरिवाजमा दाजुबहिनीबीच पवित्र सम्बन्ध हुनेमा निज अधिवक्ता भगवती पाण्डे र प्राइम टेलिभिजनका कार्यक्रम प्रस्तोता दिक्पाल कार्कीले विवाहवारी चल्ने भनी दिएको अभिव्यक्ति आफैमा गैरजिम्मेवारपूर्ण तथा शान्तिपुर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुर्याउने किसिमको रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘तामाङ, मगर लगायत आदिवासी समुदायलाई एक जनावर पशुसँग तुलना गरी समस्त समुदायलाई अपराधीकरण गर्ने हेतुले दिएको भ्रामक अभिव्यक्ति हाम्रो स्वतन्त्रता, सम्मानपुर्वक बाँच्न पाउने संवैधानिक हकको प्रतिकूल रहनुका साथै यसले हाम्रो आत्मस्वाभिमानमा गम्भीर ठेस पुगेको हुँदा हामी, कडा शब्दमा यसको घोर भर्त्सना र निन्दा गर्दछौ’, महासचिव काजिमान थिङ तामाङले जारी विज्ञप्तिमा भनिएको छ ।
पाण्डेलाई सामाजिक सञ्जालमार्फत आत्माआलोचना गर्ने पर्याप्त समय दिँदा पनि अटेर गरेको संघको भनाइ छ ।