औधोगिक क्षेत्र भित्रको धुँवा
असोज ५, २०७७, सोमबार | विहान ०१:१२ बजे | 70
रामकृष्ण प्रजापति
मेरो बस्तीभित्रको औधोगिक क्षेत्र
सबेरै स्वच्छ आकाशमा
सेतो चन्द्रमामा कालो ढब्बा लगाउन
धुवाँ उड्छ बस्तीलाई गन्धा गर्न ।
मेरो बस्तीभित्रको औद्योगिक क्षेत्र
सयौं मजदुरहरुको सपना जस्तै
कारखानाको धेरै भट्टिहरुबाट
धुवाँहरु अनकन्टार यात्रामा हराउन ।
मेरो बस्तीभित्रको औद्योगिक क्षेत्र
मजदुरले भट्टिमा आगो झोस्दै
सादा गाढा क्यान्सर रुपी धुँवा
मेरो बस्ती बस्तीहरुमा छर्न ।
मेरो बस्तीभित्रको औद्योगिक क्षेत्र
मेरा प्यारा मजदुरहरु पेट पाल्न
मालिकको यातना सहेर
धुँवा निकाल्छ छाक टार्न ।
मेरो बस्तीभित्रको औद्योगिक क्षेत्र
मालिकलाई गगनचुम्बी पु¥याउन
आफ्नै सपनाहरु पकाएर
अन्नहरु पस्किएर आफू सुस्ताउन ।
मेरो बस्तीभित्रको औद्योगिक क्षेत्र
संसारका मजदुर एक हौं भन्दै
आफू र बस्तीलाई बलिदान चढाई
भावीपुस्तालाई उज्यालो छर्न ।
मेरो बस्तीभित्रको औद्योगिक क्षेत्र
सरको फोन आउँछ
कालो धुँवाको मुस्लो हेर्छ
धुँवा ननिकाल्न अनुरोध गर्न ।
मेरो बस्तीभित्रको औद्योगिक क्षेत्र
मेरो बस्तीमा आवाज उठ्छ
औधोगिक क्षेत्रलाई बस्ती बाहिर लान
हस्तकला उद्योगमा परिणत गर्न ।