डोलेश्वर मन्दिरमा श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला सञ्चालन हुने


असार ३१, २०८०, आइतबार | विहान ०४:५४ बजे | 80


डोलेश्वर मन्दिरमा श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला सञ्चालन हुने

भक्तपुर । सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अवस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला सञ्चालन हुने भएको छ । 

उक्त कुराको जानकारी केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले शनिबार गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । 

श्रावण १ गते बिहान ७ बजे चन्द्रबिनायक मन्दिरदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी ३८ दिने मेलाको सुरुवात गरिने समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए । 

उनका अनुसार सोही दिन कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको औपचारिक रुपमा उद्घाटन गरिने छ भने सूर्यविनायक नगरपालिकाबाट निर्माण भएको मूल द्वारको उद्घाटन गरिनेछ ।

यस्तै, श्रावण २ गतेदेखि ८ गतेसम्म प. जनार्दन पौडेलबाट शिवपुराण कथा बाचन, श्रावण ९ गतेबाट १५ गतेसम्म प. उदयनारायण बाँस्कोटा शास्त्रीबाट पुरुषोत्तम माहात्ये, श्रावण ६ गतेबाट २२ गतेसम्म पं राघव अर्यालबाट श्रीमद्भागवत् महापुराण, श्रावण २३ गतेबाट २७ गतेसम्म प. बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, श्रावण २८ गतेबाट भाद्र ५ गतेसम्म विभिन्न 
गुरुहरुबाट धार्मिक प्रवचन एवं कलाकारहरुबाट भजन कीर्तन र भाद्र ६ गते वार्षिकोत्सव तथा श्रावणी मेला समापन गरिने छ । 

मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सजताका लागि लाइन व्यवस्थापन, यातायातका साधन, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए । उनका अनुसार यो वर्षको मेलामा ५ लाखबढी भक्तजनहरुले मन्दिरमा पूजाआजा गर्नुका साथै दर्शन गर्ने छन् । उनले मेलामा १ करोड २५ लाख रकम संकलन हुने जानकारी दिए । 

सूर्यबिनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न वडा कार्यालयले समितिसँग समन्वय गरी अघि बढिरहेको बताए । 

समितिका महासचिव हरिशरण बस्नेतले पछिल्लो समय यस मन्दिरमा भारतीय दर्शनार्थीहरुको उल्लेख्य भीड लाग्ने गरेको जानकारी दिए ।

Comments