राष्ट्रिय युवा संघ नेपाल आम नेपाली युवाको संगठन बन्नुपर्ने
असार १९, २०८०, मङ्गलबार | विहान ०४:३५ बजे | 50
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष अमित लामाले राष्ट्रिय युवा संघ नेपाल आम नेपाली युवाको संगठन बन्नु पर्ने बताउनुभएको छ ।
सोमबार राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै लामाले राष्ट्रिय युवा संघ नेपाललाई युवाको आकर्षणको संगठन बनाउनु पर्ने बताउनुभयो । त्यसैको लागि मिसन नेक्स्ट इलेक्सन, टार्गेट न्यु जेनेरेसन अभियान सुरु गरिएको उहाँले प्रष्ट पार्नुभयो । अभियानमा १६ देखि २५ वर्ष उमेर समूहका युवालाई समेट्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
संगठनलाई व्यवस्थित रूपले अघि बढाउन माथिदेखि तलसम्मको नेतृत्व एक भएर लाग्नु पर्ने लामाले बताउनुभयो । संगठनको काममा केही असन्तुष्टि भए संगठनको आन्तरिक बैठकमा राख्न उहाँले सुझाव दिनुभयो । ‘आन्तरिक बैठकमा असहमति राख्न पाइन्छ, त्यसमा छलफल हुन्छ, एउटा निष्कर्ष पुगिन्छ, तर बैठकबाट निस्किएपछि असहमति र असन्तुष्टि व्यक्त गर्ने अधिकार कुनै पनि नेतालाई छैन’, उहाँले भन्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल लगायतका जनवर्गिय संगठन बलिया भए मात्र नेकपा एमाले बलियो हुने र एमाले नेतृत्वमा बहुमतको सरकार बन्ने उहाँले प्रष्ट पार्नुभयो । एमाले नेतृत्वको सरकारले मात्र देशमा समृद्धि ल्याउन सक्ने उहाँले बताउनुभयो । ‘यसको लागि सबैभन्दा पहिला हाम्रो आन्तरिक एकता मजबुत हुन जरुरी छ, त्यसो गरियो भने मात्र हाम्रो अभियान सफल हुन्छ’, उहाँले भन्नुभयो ।
अहिलेको देशको प्रमुख समस्या रोजगारीको भएको उहाँले बताउनुभयो । युवालाई रोजगारीमा जोड्न नसक्ने हो भने युवाको विदेश पलायन रोक्न नसकिने लामाले स्पष्ट पार्नुभयो ।
युवालाई रोजगारीमा जोड्न नेपालमा रोजगार र स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । ‘रोजगारीमा युवालाई जोड्न त्यसका लागि सबै खाले संरचना बनाउन आवश्यक छ’, लामाले भन्नुभयो ।
देशमा नै रोजगारीको अवसर सिर्जना गरी विदेशमा रहेका युवालाई नेपाल फर्काउन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँहरूलाई स्वदेश फर्काउने तथा लगानी र रोजगारीमा जोड्ने काममा लाग्नु पर्ने उहाँको भनाइ छ ।
उहाँहरूले विदेशमा कमाएको पैसा र सिकेको सिप आफ्नै भूमिका खर्च गर्ने वातावरण बनाउनु पर्नेमा लामाले जोड दिनुभयो । त्यस पछि मात्र नेकपा एमालेले लिएको सुखी नेपाली समृद्ध नेपालको आकांक्षा पूरा हुन्छ, त्यसको अभियान राष्ट्रिय युवा संघ नेपालले सुरु गर्नुपर्छ’, लामाले भन्नुभयो ।