भक्तपुरमा नेकपाका संस्थापक जोशीको स्मृतिमा भबन र प्रतिमा
असार १८, २०८०, सोमबार | विहान ०५:०१ बजे | 90
भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक पाँंचजनामध्येका एक नारायणविलाश जोशीको स्मृतिमा प्रतिष्ठान भबन र प्रतिमा बनेको छ । नेकपाका संस्थापकहरु पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जनगोबिन्द बैद्य, मोतीदेवी श्रेष्ठ र नारायणविलाश जोशीमध्येका एकजना नारायणबिलास जोशीको स्मृतिमा भबन र प्रतिमा तयार भएको हो ।
भबन र प्रतिमा अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि नगरपालिका मध्यपुर थिमि शंखधर चोक नजिकै रहेको छ । चोकबाट झण्डै दुई सय मिटर थिमि मध्यपुर थिमिको उकालाका दायाँंतिर भबन र प्रतिमा रहेको छ ।
संस्थापक सदस्य जोशीको निवास भक्तपुर नगरपालिका वडा नं ४ (तत्कालिन वडा नं १२) सोमला गल्लीमा हो । तर भक्तपुर नगरभित्र पर्ति जग्गाको अभाब तथा नवीकरणको सहजतालाई दृष्टिगत गरी मध्यपुर थिमि नगरपालिका क्षेत्रमा प्रतिष्ठान भबन र प्रतिमा बनाइएको जनाइएको छ । नारायणविलाश जोशी स्मृति प्रतिष्ठान भबन निर्माण समितिका अध्यक्ष डा राजेन्द्रमान श्रेष्ठका अनुसार झण्डै दुई करोड ४४ लागतमा भबन र प्रतिमा तयार भएको हो । नारायणविलाश जोशी स्मृति कोष, सांसद विकास कोष तथा भक्तपुरका विभिन्न नगरपालिकाहरुको आर्थिक सहयोगबाट भबन र प्रतिमा बनेको उनले जानकारी गराए ।
मध्यपुर थिमि नगरपालिकाले भोगाधिकार उपलव्ध गराएको करिव ६ आना पर्ति जग्गामा भबन प्रतिमा बनाइएको हो । भबन साढे तीन तल्ले सात कोठे छ । हाल यहाँं नारायणविलाश जेष्ठ नागरिक स्वास्थय सचेतना केन्द्र कक्षा सञ्चालित छ । प्रत्येक १५ दिनमा नियमित रुपमा बृद्धबृद्धाहरुका लागि आवश्यक जानकारी विषय विज्ञहरुबाट दिने गरी कार्यक्रम गरिंदै आएको छ । नारायणविलाश जोशी स्मृति प्रतिष्ठान भबन निर्माण समितिका सचिव महेन्द्रगोपाल कर्माचार्य हालका दिनमा धेरैतिरबाट धेरै कामका लागि भबन प्रयोग गरिने भनिए पनि नेपालको समसामयिक बाम लोकतान्त्रिक अवस्था सम्वन्धी समसामयिक अन्तरक्रिया, परिसंवाद, छलफल कार्यक्रम गर्नेलगायतमा भबन प्रयोग गर्ने योजना रहेको बताए । नेकपाका अन्य संस्थापकहरुको प्रतिमा निर्माण भए पनि नारायणविलाशको प्रतिमा निर्माण नभएको अवस्थालाई मध्यनजर गरी प्रतिमा र प्रतिष्ठान भबन निर्माण गरेको उनको भनाई छ ।
नेपालमा लेनिन दिवसकै दिन पारी वि.सं.२००६ सालमा कलकत्तामा चारजना कम्युनिस्ट अगुवाहरु पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोबिन्द वैद्य र नारायणविलास जोशीले नेपाल कम्युनिस्ट पार्टीको विधिवत स्थापना गरेका थिए । पछि महिला सदस्य आवश्यक भएको महशुश गरी मोतीदेवी श्रेष्ठ थपिएर पाँंच जना थियो । संस्थापक महासचिव भने पुष्पलाल थिए । राणा शासन ढालिनु एक वर्षअगाडि स्थापना भएको कम्युनिस्ट पार्टीले २००७ सालको राणातन्त्रको अन्त्य गरी भएको पुँजीवादी क्रान्तिमा निर्णायक भूमिका खेल्न नसके पनि त्यसपछिका दिनहरुमा नेपाली क्रान्तिका हरेक पाइलामा नेपाली कम्युनिस्टहरुलाई आन्दोलनमा उतार्ने काम त्यस पार्टीले गर्दै आएको थियो । स्थापनाको ९ वर्षपछाडि २०१५ सालमा भएको संसदीय चुनावमा नेपाली कम्युनिस्टहरुले संसदमा ४ वटा सिट जितेर नेपाली राजनीतिमा आफ्नो उल्लेखनीय उपस्थित जनाएको इतिहास छ ।