नेकपाका संस्थापक सदस्य नारायणविलाश राजावादी भएका हुन् ?
असार १७, २०८०, आइतबार | दिउँसो ०३:२२ बजे | 290
भक्तपुर । नेकपाका संस्थापक चारजनामध्येका एकजना सदस्य भक्तपुरका नारायणविलाश जोशी कम्युनिष्ट आन्दोलनबाट विचलित भएको खुलेको छ । आइतबार मध्यपुर थिमिमा आयोजित एउटा कार्यक्रममा अहिलेका कम्युनिष्ट नेताहरुले नेकपाको स्थापनापछि उनी तत्कालिन समयमा राजाले दिएको भूमिसुधार अधिकारी भएको बताएका हुन् । त्यो बेला राजतन्त्रको समयमा भूमिसुधार अधिकारी भनेको निकै नै उच्च अधिकार सम्पन्न पद थियो, उनीसँंगै सामिप्यमा बसेर काम गरेको नेकपा एमाले केन्द्रिय अनुशाशन समितिका संयोजक अमृतकुमार बोहराले भने, उनी राजाले दिएको भूमिसुधारको अधिकारी भएर सिन्धुपाल्चोकमा काम गर्न पुगेका थिए । त्यसबेला विचलित नहुन आग्रह गरेको भन्दै बोहराले भने, मैले त्यसो नगरौं भन्दा म जहाँं बसे पनि किसानको पक्षमा काम गर्ने हो भनेर जवाफ दिनुहुन्थ्यो ।
कार्यक्रमका अन्य शीर्ष कम्युनिष्ट नेताहरुले पनि त्यो बेला राजनीतिक दवाव र घरायसी कारणले नारायणविलाश कम्युनिष्ट आन्दोलनबाट टाढिएको जानकारी गराए । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेताहरुले कार्यक्रममा बोलेका थिए । नेकपाका संस्थापक सदस्य नारायणविलाशको स्मृतिमा आयोजित कार्यक्रममा अन्य कम्युनिष्ट शीर्ष नेताहरुलाई बोलाइएको बताए पनि त्यहाँं उपस्थित थिएनन् ।
नेपालमा लेनिन दिवसकै दिन पारी वि.सं.२००६ सालमा कलकत्तामा चारजना कम्युनिस्ट अगुवाहरु पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोबिन्द वैद्य र नारायणविलास जोशीले नेपाल कम्युनिस्ट पार्टीको विधिवत स्थापना गरेका थिए । पछि महिला सदस्य आवश्यक भएको महशुश गरी मोतीदेवी श्रेष्ठ थपिएर पाँंच जना थियो । संस्थापक महासचिव भने पुष्पलाल थिए ।