प्रधानमन्त्री रोजगार कार्यक्रम ः टोलको विकाससगै रोजगारी पायौं
असार ५, २०८०, मङ्गलबार | विहान ०७:०३ बजे | 55
रामप्रसाद बोहजू
भक्तपुर । साँघुरो कोठामा विगत ३५ वर्ष देखि डेरामा बस्दै आएकी भक्तपुर नगरपालिका वडा नं. ९ का स्थायी बासिन्दा सत्यलक्ष्मी प्रजापतिको दैनिकी अभावमा बितिरहेको छ । विगत पाँच वर्ष अगाडि अचानक श्रीमान्को देहावसान पश्चात् जीवन झनै दयनीय बनेको थियो । हाल दुई छोरी, एक छोरा र बृद्ध सासुआमाको सहारा बनेकी प्रजापति कामको खोजीमा कैयौं ठाउँमा भौतारिरहे तर पनि उनले काम पाउन सकेकी थिइनन् ।
विगतमा स्थानीय एक सामुदायिक कलेजमा कार्यालय सहयोगीको रुपमा पाँच वर्ष सेवा गरिसकेकी प्रजापतिले सो कलेजमा सेवामा रहँदै गर्दा शारिरीक अस्वस्थताका कारण कामबाट हात धुनु परेको थियो । सहयोगीको रुपमा काम गरुन्जेल बाल बच्चा लालनपालन गर्न सहज भएको तर हाल उक्त कलेजले आफु निको भएर काममा फर्किन चाहेको कुरा राख्दा काममा नराखेको गुनासो गर्नुभयो । ‘दुई महिना जति बिरामी भएकी थिएँ पछि रोजीरोटी खाने रोजगार नै खोसियो ।’
सो कलेजमा सेवा गरेको क्षण सम्झँदै उनले भनिन् ‘भूकम्पको समयमा आफुले राहत समेत नलिई कलेजको सुरक्षार्थ पहरा बसेकी थिएँ आज आफुलाई पर्दा यत्ति पनि सहयोग गरेन’ यत्तिकैमा उनको आँखा रसायो र भनिन् ‘हुनेलाई दैवले पनि हेर्छ नहुनेलाई कसैले पनि नहेर्ने रहेछ ।’
‘यस प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त ज्याला रकम श्रीमान् हुँदा देखिको विभिन्न सहकारी संघ–संस्थाबाट लिइराखेको सानो ऋण आंशिक रुपमा भुक्तानी गर्न सफल भएको छ ।’ उनले भनिन् ।
बाँकी रकम आफू पनि ग्याष्ट्रिक रोगको सिकार भएकोले नियमित औषधी सेवन, घरखर्च र छोरा छोरीको लालनपालनमै खर्च हुने र यस किसिमको सामाजिक तथा आर्थिक पक्ष सबल बनाउने कार्यक्रमलाई निरन्तरता दिइरहनुपर्ने आवश्यकता औंल्याए ।
सत्यलक्ष्मी प्रजापतिको गहिरो कुरा सुनिरहेका अर्का कामदार कृष्ण लक्ष्मी गोसाईले आफ्नो पाखुरामा भएको बल टोलकै विकासमा खर्च गर्न पाउँदा ज्यादै खुशी लागेको कुरा थपिन् । अझ उनले अगाडि थपिन् हाम्रै मेहनतले हामी आफैले पिउने पानी ट्याङ्की क्षेत्रमा सोचे भन्दा राम्रो र सफा भएको छ, । हामीले यो नाली खोल्न परिश्रम नगरेको भए वर्षामा पानी जमेर सडक दूर्गन्धित हुने थियो होला । टोलको विकाससँगै हामीले रोजगार पनि पायौं ।’
‘तर वडा समितिले हामीलाई आवश्यक सामान उपलब्ध नगराउँदा चाहेको जस्तै काम गर्न सकेनौं ।’ पिक उपलब्ध नगराएको गुनासो पोख्ने क्रममा उनले भनिन् । आवश्यक सामग्रीहरु उपलब्ध भएमा र हामीलाई सीपमूलक तालिम भए अझ प्रभावकारी ढंगले काम गर्न सक्नेमा हामी विश्वस्त छौं । त्यहाँ काम गर्दै गरेका कामदारहरु सबैले हो मा हो थपे ।
‘देशकै नमुना नगरपालिका भक्तपुर नगरपालिका विकासको राम्रो सम्भावना र आफ्नो छुट्टै मोडल रहेको पालिका हो । यहाँका जनप्रतिनिधि, सचेत नागरिक, उत्प्रेरित नगरबासी जागरुक कामदार दरिलो अनि दिगो विकासको स्रोतको रुपमा रहेका छन् ।’ रोजगार कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गरिरहेका स्थानीय वडाबासी जयराम कोजू भन्नुहुन्छ ।
नगरपालिकामा कैयौं साँस्कृतिक सम्पदाहरु छन् जुन विश्व सम्पदा अन्तर्गत पर्दछन् । भक्तपुर जिवित संग्रहालयको रुपमा पनि परिचित छ । यसलाई अझ जीवन्तता दिन रोजगार कार्यक्रमका श्रमिकहरुका कारण थप मद्दत पुगेको महसुस गरेको व्यवहोरा स्थानीय जनप्रतिनिधि रामसुन्दर बासीले सुनाए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत भक्तपुर नगरपालिकामा विभिन्न योजना सम्पन्न भएका छन् । भने केही योजनाहरु सम्पन्न हुने क्रममा छन् । यी योजनाले नगरकै करिब ५१ जना बेरोजगारहरुलाई यस वर्ष काम दिएको छ । अधिकांश योजनाहरु सरसफाई तथा सम्पदा संरक्षणमै केन्द्रित छन् । यसबाट जिवित संग्रहालयलाई थप जीवन्तता दिन सहयोग पुगेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकाहरुले कम्तिमा १०० दिनको रोजगारी पाउने व्यवस्था रहेको छ । नगरमै बेरोजगार रहेकालाई विकास निर्माणको काममा लगाउने भएकोले यो कार्यक्रम भक्तपुरमा बिस्तारै लोकप्रिय बन्दै गएको छ स्थानीय वडाबासी लक्ष्मीसुन्दर लवजूका अनुसार उनले गएको फाल्गुन महिनामा वडा कार्यालयमै उपलब्ध फारम भरेका थिए । बेरोजगार प्राथमिकीकरण तथा कामको लागि छनौट श्रावणमा हुने गरेकोे छ । विगतमा काम गरिसकेका एक महिला कामदार समिता श्रेष्ठका अनुसार ज्याला मजदुरी गर्दा समान कामका लागि महिला पुरुषको बीच समान ज्याला व्यवस्थाले आफुलाई थप उत्साहित गरेको बताउनु भयो ।
फाेटाेमा हेर्नुहाेस्...